काभ्रे (खानीखोला) । जनप्रिय काममार्फत् लोकप्रियता कमाइरहेका काभ्रेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले फेरि अर्को जनप्रिय काम गरेका छन् ।
डाक्टरले दिएको समय सकिँदा पनि बच्चा जन्माउन नसकेर थला परेकी आफ्नो गाउँपालिकाका एक गर्भवतीलाई अध्यक्ष थिङले उद्धार गरेका छन् । कामको सिलसिलामा सदरमुकाम आउने क्रममा बिरामीलाई उपचारका लागि हेटौँडामा लैजान लागेको देखेसँगै खानीखोला गाउँपालिका वडा नं. ०६ माझीटारकी सजिना गोलेलाई अध्यक्ष थिङ आफैँले आफ्नो गाडी भएको ठाउँसम्म ल्याएका थिए । जुन भिडिओले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।
अध्यक्ष थिङले बिरामी राखिएको स्ट्रेचर आफ्नै काँधमा बोकेर करिब डेढ घण्टा टाढा आफ्नो गाडी भएको स्थानसम्म ल्याएका थिए । गर्भवती महिलाको तीन दिनदेखि बच्चा समेत नचलेको समस्या देखिएको परिवारले जनाएको छ ।
अध्यक्ष थिङकै नेतृत्वमा गर्भवती गोलेलाई अहिले थप उपचारका लागि आफ्नै सवारीसाधन प्रयोग गरी हेटौडाको अस्पतालतर्फ लगिँदै छ । स्थानियवासीले जनप्रतिनिधिबाट यस्तो मानवीय सहयोगलाई प्रशंसा गर्दै “साँचिकै नेतृत्वको जिम्मेवारी पूरा भएको” टिप्पणी गरेका छन् ।
उज्यालो नेटवर्कसँग यस सम्बन्धमा कुराकानी गर्दै अध्यक्ष थिङले संघीय सरकारले खानीखोलाको समस्या समाधानमा ध्यान नदिँदा यस्तो समस्या भइरहेको बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रम आफ्नो गाउँपालिकामा लागू नगरेकोमा पनि अध्यक्ष थिङले असन्तुष्टि पोखेका छन् ।






