काठमाडौं । देशभर कृषकहरूले भोगिरहेको मल अभावमा सरकारी देखाएको उदासिनता विरूद्ध नेकपा (माओबादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग, नेपाल (YCL) ले आइतबार कृषि सामाग्री केन्द्र कुलेश्वरमा ज्ञापनपत्र बुझाएको छ।
“श्रम तथा उत्पादनमा वाईसिएल” अभियान अन्तर्गत वाईसिएलले कृषकको समस्या उजागर गर्दै तयार पारेको सो ज्ञापनपत्रमा देशभर फैलिरहेको रासायनिक मलको अभाव, उत्पादनमा गिरावट र किसानको जीवनस्तरमा आएको समस्यबारे विस्तृत व्याख्या गरिएको छ।
ज्ञापनपत्रमा उल्लेख छ, “देशका अधिकांश क्षेत्रहरूमा किसानहरू समयमा मल नपाएर चिन्तित छन्, जसको प्रत्यक्ष असर खाद्य उत्पादनमा परेको छ। कतिपय स्थानमा किसानहरूले धान रोप्न नै सकेका छैनन् भने कतिपय ठाउँमा मलको चरम अभावका कारण बाली सुक्न थालेको छ।”
वाईसिएल अध्यक्ष पुष्प ओलीद्वारा हस्ताक्षरित सो ज्ञापनपत्रमा सरकारले बेलैमा कदम नचाले देशव्यापी आन्दोलन छेडिने स्पष्ट चेतावनी दिइएको छ। पत्रमा भनिएको छ, “सरकारको ढिलासुस्ती र निजी कम्पनीहरूको लापरबाहीका कारण खाद्य संकट गहिरिँदै गएको छ। यदि तुरुन्तै समस्या समाधान नगरे खाद्यान्नको आत्मनिर्भरता गुम्ने खतरा बढ्नेछ।”
वाईसिएलले मल आपूर्ति तथा वितरण प्रक्रियामा भइरहेको भ्रष्टाचार, पहुँचवादी र दलाली प्रवृत्तिको अन्त्यको माग पनि गरेको छ। सरकारले समयमै समाधान नगरे आन्दोलन तीव्र पारिनेछ र अभियानलाई जनस्तरमा फैलाउने वाईसिएल नेपालका उपाध्यक्ष प्रेम श्रेष्ठले जानकारी गराए ।
ज्ञापनपत्रमार्फत वाईसिएलले सरकार र सम्बन्धित निकायहरूलाई कृषकको पीडा सुन्न र समाधान गर्न अन्तिम चेतावनी दिएको छ। बाक्लोरुपमा उपस्थित वाइसिएल कार्यकर्ताहरुले सरकार र कृषिमन्त्री विरूद्ध चर्को नाराबाजी समेत गरेका थिए ।












