प्रहरीको लापरवाही, थापाको अन्तिम श्वास ट्याक्सीको डिक्कीमा

उज्यालो प्रतिनिधि ५ श्रावण २०८२, आईतवार मुख्य नेटवर्क

काठमाडौं । काठमाडौंको जडिबुटीस्थित मनोहरा पुलमा सवारी दुर्घटनामा परेका बर्दिवास नगरपालिका–४ का ३६ वर्षीय अरुण कुमार थापाको निधनपछि प्रहरीले देखाएको गैरजिम्मेवारी र अमानवीय व्यवहारमाथि चर्को आलोचना भएको छ।

दुर्घटनापछि गम्भीर घाइते भएका थापालाई उद्धार गर्नुपर्ने बेला प्रहरी आफैंले एम्बुलेन्स नबोलाई एक ट्याक्सी रोकेर डिक्कीमा हालेर अस्पताल पठाएको दृश्यले सर्वसाधारणलाई झस्काएको छ। परिवारका अनुसार करिब ८:१५ मा दुर्घटना भएको थाहा भए पनि प्रहरी ढिलासुस्तीका कारण राति ९:२१ बजे मात्र उनलाई भक्तपुर इन्टरनेसनल अस्पताल पुर्‍याइएको थियो।

डिक्कीमा हाल्दा स्वास फेर्नसमेत गाह्रो भएको र अत्यधिक रगत बगिसकेको अस्पताल स्रोतको भनाइ छ। “समयमै र सही तरिकाले ल्याइएको भए अरुण बच्न सक्थे”, चिकित्सकहरू बताउँछन्।

यो घटनापछि मृतक परिवारले राष्ट्रिय मानव अधिकार आयोग, पुलचोक ललितपुरमा प्रहरीको अमानवीय व्यवहारविरुद्ध उजुरी दर्ता गराएका छन्। उजुरीमा प्रहरीको क्रूरता, लापरवाही र मानवता विहीन व्यवहारले अरुणको मृत्यु भएको उल्लेख गरिएको छ।

उक्त घटनाबारे उज्यालो नेटवर्कले क्षेत्रीय प्रहरी अधिकारी, डिएसपी हरि खतिवडासँग बुझ्दा उनले दिएको जवाफले प्रहरी संगठनको नैतिक धरातल नै हल्लाएको छ। “सामाजिक सञ्जालबाट मात्र थाहा पाएको हुँ, कहाँको क्षेत्र पर्छ भन्ने थाहा छैन”, भन्ने गैरजिम्मेवार अभिव्यक्तिले राजधानीजस्तो संवेदनशील ठाउँमा प्रहरीको तयारी र उत्तरदायित्वबोधप्रति गम्भीर प्रश्न उठाएको छ।

“प्रहरी नेपालकै हो, तर कहाँको भन्ने यकिन नभएकाले बोल्न सक्दिन”, डिएसपी खतिवडाको यो टिप्पणीले उनको व्यक्तिगत कमजोरी मात्र होइन, सम्पूर्ण प्रहरी संगठनभित्रको संवेदनशून्यता उजागर गरेको छ।

अरुण थापा भक्तपुरमा फेन्सी पसल सञ्चालन गर्दै आएका मेहनती व्यापारी थिए। उनी श्रीमती र एक छोराका अभिभावक थिए। परिवार अहिले शोकमा डुबेको छ। मृतकका भाई अनिल थापा भन्छन्, “काठमाडौँजस्तो सहरमा यस्तो व्यवहार देख्नुपर्ला भनेर सोचेकै थिएनौं। प्रहरीसँग कुरा गर्दा उनीहरू निर्लिप्त देखिन्थे। हामी अब न्यायका लागि सबै निकायमा जानेछौं।”

यो घटना केवल सडक दुर्घटना होइन, राज्य संयन्त्रको लापरवाही, अमानवीयता र जनताप्रतिको उपेक्षाको प्रतिबिम्ब हो। डिक्कीभित्रको त्यो एक घण्टा अरुणका लागि जीवनको अन्तिम यात्रा बन्यो — जहाँ प्रहरीको लापरवाही र राज्यको मौनताले एउटा जीवन मात्रै होइन, एक परिवारको सपना पनि बिथोलिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार