डम्मर शाही, कालिकोट। जिल्लाको शुभकालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । “स्थानिय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिस्चित हाम्रो प्रतिबद्धता ” भन्ने मुल नाराका साथ राष्ट्रिय खोप कार्यक्रम तालिका अनुसार गाउँपालिका भरीका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता गरिएसँगै पूर्णखोप गाउँपालिका घोषणा गरिएको हो । जिल्लाका ९ वटा स्थानिय तहमध्ये पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानिय तह घोषणा गर्ने शुभकालिका दोश्रो गाउँपालिका बनेको छ । प्रथम गाउँपालिकाको रुपमा महावै गाउँपालिका यस अघि गत जेष्ठ १७ गते घोषणा भैसकेको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार गाउँ पालिकाका ८ वटै वडामा १६ देखि ५९ महिना उमेर समूहका कुल ६ सय ६१ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पूर्णखोप पाइसकएको सुनिस्चितता भै सके पछि गाउँपालिका घोषणा गरिएको हो ।
गाउँपालिकाका सबै बालबालिकाले खोप पाएको सूनिश्चितता भएकोले जिल्ला पूर्ण खोप समन्वय समितको निर्णय अनुसार अनुगमन गरी जिल्ला समन्वय समिति उप प्रमुख एवम् खोप समिति सह-संयोजक मिना रावत बिश्वकर्माले पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको गाउँपालिका घोषणा गर्नुभएको हो । जिल्ला समन्वय समितिका उप-प्रमुख विश्वकर्माले पूर्णखोप सुनिश्चिततालाई दिगोपना दिनुपर्ने र खोप कार्यक्रमलाई जनस्तरमा जागरणका रूपमा लैजानुपर्ने बताउनुभएको छ । घोषणा कार्यक्रमको अवसरमा अभियानमा सक्रियतापूर्वक सहभागी हुने स्वास्थ्यकर्मी र वडाकार्यालयलाई प्रशंसापत्रले सम्मान गरिएको छ । एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ । कार्यक्रमको अवसरमा पालिकाका स्वास्थ्य शाखाले खोपसम्बन्धी कार्य प्रगति प्रतिवेदन र भइरहेका कामबारे प्रस्तुतीकरण दिएका थिए ।
स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीको संलग्नतामा तयारी र योजनासहित घरधुरी सर्वेक्षण गरी सर्वेक्षणको क्रममा खोप पूरा नगरेका बालबालिका भेटिए तत्काल खोप लगाउने व्यवस्थासमेत मिलाई सबै बालबालिकाले उपलब्ध सबै खोप पाएको सुनिश्चत गरेपछि वडा घोषणा गरिन्छ । सबै वडा घोषणा भएपछि पालिका घोषणा गरिएको जनस्वास्थ्य अधिकृत महतले जानकारी दिनु भएको छ । उक्त कार्यक्रमको संचालन स्वास्थ्य चौकी सुकाटियाका प्रमुख एबम जनस्वास्थ्य निरिक्षक खगेन्द्र प्रसाद चौलागाईले गर्नु भएको थियो l






