बनियानी। झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक÷एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ।
एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सप्लान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सप्लान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको छ भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।
उनका अनुसार रु ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो। जसमा नगरपालिकाले ७५ प्रतिशत र लाभग्राही संस्थाले २५ प्रतिशत लागत सहभागिता गरेका छन्। “यो मेसिनले एक घण्टामा सातदेखि आठ कठ्ठा क्षेत्रफलमा धान रोप्न सक्छ”, उनले बताए। “यसले धान उत्पादनमा लागत कम भएर किसानलाई फाइदा पुग्ने विश्वास छ।”
नगरले वितरण गरेको १२ हजार थान ‘सिड ट्रे’मा एक पटक बिउ राख्दा करिब १२० देखि १५० बिघा क्षेत्रफलमा धान रोप्न सकिन्छ।
प्रोत्साहन रकम
नगरपालिकाले धान, मकै, फापर, कोदो, तोरी, तरकारी लगायतका कृषिउपज उत्पादनका आधारमा प्रोत्साहन रकम समेत उपलब्ध गराएको छ। नगरको चालु आर्थिक वर्ष २०८१/८२ को कृषि कार्यक्रमअनुसार किसानलाई प्रोत्साहन रकम दिइएको छ, नगरपालिकाका सहायक कृषि प्रसार अधिकृत हेमराज पन्तले जानकारी दिनुभयो।
तेलहन बाली प्रबर्द्धन कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ३५ कठ्ठामा तोरी खेती गर्ने २४३ कृषक/संस्थालाई प्रतिकठ्ठा रु पाँच सयको दरले २० लाख रुपैयाँ उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताउनुभयो। आलु खेती प्रबर्द्धन कार्यक्रमअन्तर्गत १४४ कृषक/संस्थालाई रु १५ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको छ। छ सय ६२ कठ्ठामा आलु खेती गरेबापत प्रतिकठ्ठा रु दुई हजारको दरले प्रोत्साहन रकम दिइएको हो।
रैथाने बाली प्रबर्द्धन कार्यक्रमअन्तर्गत ५५ कृषक/संस्थालाई तीन सय १५ कठ्ठामा कोदो खेती गरेबापत प्रतिकठ्ठा रु सात सय र ५९ कृषक/संस्थालाई चार सय ८८ कठ्ठामा फापर खेती गरेबापत प्रतिकठ्ठा रु पाँच सयको दरले गरी रु पाँच लाख नगद प्रोत्साहन रकम दिइएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख तरकारी खेती प्रबर्द्धन कार्यक्रमअन्तर्गत न्यूनतम पाँच कठ्ठामा तरकारी खेती गर्ने ५१ जना किसानलाई आवश्यक पर्ने कृषि यन्त्र–औजार, बीउ–बिजन, मल तथा विषादी ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ। मागको आधारमा प्रति कृषक रु १८ हजार ७५० बराबरको सामग्री उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताए।
बगर खेती कार्यक्रममा १२ कृषकलाई रु पाँच लाख उपलब्ध गराइएको छ। यसबाट २० बिघाभन्दा बढी बगरमा खरबुजा खेती गर्न उत्साहित भएर किसानले आम्दानी गर्न सफल भएका छन्।






