काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताए।
राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको तस्बिर प्रदर्शनी अवलोकनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले पार्टीलाई लोकतान्त्रिकीकरणको बाटोमा ठिक रूपमा अघि बढाएपछि एमाले पार्टी देशकै सशक्त र लोकप्रिय बन्न सफल भएको बताए।
पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै लैजाने क्रममा बहुपदीयता, ७० वर्ष उमेर हद र नेतृत्वको दुई कार्यकाल सम्बन्धी प्रावधान विधान महाधिवेशनबाट राखिएको स्पष्ट गर्दै उहाँले सो सम्बन्धमा निर्णय गर्ने ठाउँ विधान महाधिवेशन नै भएकाले अहिले त्यसमा टिकाटिप्पणी वा छलफल गर्ने उपयुक्त समय नभएको पनि बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “हाम्रो पार्टीभित्र लोकतान्त्रिकीकरणको अगुवाइ गर्दै सिङ्गो पार्टीलाई सचेत गराउने कामको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो। विगतमा उहाँकै विचारबाट निर्देशित भइ पार्टीभित्र लोकतान्त्रिकीकरणको अभ्यास चलिरहेको छ।”
सोही मान्यतालाई अघि बढाउने क्रममा नेतृत्व दुई कार्यकाल र ७० वर्ष उमेर हदका विषय उठाइएको उनले बताए। पार्टीको नवौँ र दशौँ महाधिवेशन तथा यसअघिका विधान महाधिवेशनमा पनि छलफल भएको विषय भएको उल्लेख गर्दै उहाँले यसबीचमा एमालेबाटै विभाजित भएर समाजवादीमा गएका साथीहरू फर्कन उमेर हदको सीमाले केही अप्ठ्यारो भएको बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “महाधिवेशनमा पारित विषयलाई हामी सबैले बोक्नुपर्छ। आउने महाधिवेशनले जे निर्णय गर्छ, त्यसपछि मात्र स्थापित र निर्णित विषयलाई लिएर अगाडि जान सकिन्छ। महाधिवेशनले गरेको ‘लेजिटिमेसी’को विषय आगामी महाधिवेशन नआउँदासम्म उठाउन सान्दर्भिक हुँदैन, यो हामी सबैले बुझेकै विषय हो।”
कांग्रेस–एमालेबीचको सहकार्य
नेपालको राजनीतिका महत्वपूर्ण मोडमा प्रजातान्त्रिक पक्षधर नेपाली कांग्रेस र श्रमजीवी वर्गको विचार बोक्ने एमालेबीच सहकार्य हुँदै आएको प्रसंग उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले २००७ सालमा प्रजातन्त्र ल्याउन, २०१७ सालको प्रजातन्त्र विरोधी अभियानको प्रतिकार गर्न, २०३६ को जनमत सङ्ग्रह गराउन, २०४६ को जनआन्दोलनलाई निर्णयमा पु¥याउन, २०६२/६३ को प्रतिगमनविरुद्धको आन्दोलनलाई निष्कर्षमा पु¥याउन र संविधानसभाबाट संविधान जारी गर्न एमाले र कांग्रेसबीच सहकार्य भएको बताए।
उनले भने, मुलुकमा ऐतिहासिक राजनीतिक परिवर्तन गर्न र राष्ट्रिय सङ्कट परेका बेला देशलाई जोगाउन दुई ठूला राजनीतिक पार्टीबीच समझदारी हुने गरेको भए पनि एमाले र कांग्रेस प्रतिस्पर्धी शक्ति हुन् भन्ने पक्ष बुझ्न आवश्यक छ। अहिले बढ्दो राजनीतिक अस्थिरता अन्त्य गर्न र मुलुकको अर्थतन्त्र सुधार गर्न प्रमुख शक्तिबीच सहकार्य भइरहेको स्पष्ट गर्नुभयो।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “विसं २०४७ सम्म र नयाँ संविधान जारी नभएसम्मको अवस्था बुझ्न आवश्यक छ। २०७२ साल पछिको अवस्था हेर्दा थाहा हुन्छ। यसबीचमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, प्रतिव्यक्ति आम्दानी, गरिबीको रेखामुनि रहेका जनसंख्यामा सुधार आएको छ। अपेक्षित अनुसार भएन भने पनि पछिल्ला दिनमा देशमा उल्लेखनीय काम भएका छन्। जिम्मेवार सबै पक्षको समन्वय र सहकार्यले मुलुकको विकास र समृद्धिलाई अझ गति दिन आवश्यक छ।”
संसद्को गतिरोध
उपाध्यक्ष पोखरेलले भने, “संसद्मा भइरहेको गतिरोध अन्त्य गर्ने विषयमा कुनै आग्रह–पूर्वाग्रह वा उत्तेजनामा नआउनुपर्ने हो। अहिले कतिवटा मन्त्रालयका कर्मचारीलाई अनुसन्धानका लागि बयानका लागि बोलाइएको होला? कम्तीमा १४/१५ मन्त्रालयका कर्मचारीमाथि अनुसन्धान भइरहेको छ। कुनै कर्मचारी बोलाइयो र बयान लिइयो भन्दै मन्त्रीले राजीनामा दिने भए त्यो नजिर कस्तो हुन्छ? यो उचित होइन। मन्त्रीका बारेमा प्रमाण भेटिए मात्र कुरा हुन्छ। हामीले राजनीतिका लागि राजनीति गर्न हुँदैन। राम्रो नजिर कायम गर्ने कुरालाई पनि ध्यान दिनुपर्छ।”
वाम एकताको प्रश्न
यसैगरी वामपन्थी एकता र तालमेलको सन्दर्भमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “वामपन्थी तालमेलभन्दा ‘कामपन्थी’ तालमेल हुनुपर्छ। नाम वामपन्थी भए पनि कर्म अर्कै भए काम चल्दैन। हामीले भन्नुपर्छ वामपन्थी एकता कामका आधारमा मिल्ने मान्छेसँग मात्र हुनुपर्छ। अहिले वामपन्थी र बाम मोर्चा भनेर मात्र कुरा हुने काम भएको छ।”






