भोजपुर। षडानन्द नगरपालिका–१० स्थित तीनतलेमा ‘साम्तोलिङ’ नामक बौद्ध गुम्बा निर्माण गरिएको छ। बौद्ध धर्म र संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गुम्बा निर्माण गरिएको हो।
षडानन्द नगरपालिका–१० का वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोग र स्थानीयको श्रमदानसहित करिब रु १ करोड २० लाखको लागतमा गुम्बा निर्माण गरिएको हो। करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको गुम्बामा भान्सा, शौचालय, धारा लगायतका संरचनाहरू समेत निर्माण गरिएको छ।
वडाले रु ५ लाख बजेट विनियोजन गरी गुम्बाभित्र बौद्ध धर्मसँग सम्बन्धित चित्र र आकृतिहरू बनाएको वडाध्यक्ष शेर्पाले बताए। २०७२ सालको भूकम्पले जीर्ण बनाएको पुरानो गुम्बाको विकल्पमा वडाको पहलमा नयाँ गुम्बा निर्माण गर्न सफल भएको उनले उल्लेख गरे।
“हामीले बौद्ध धर्म र संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धनका लागि गुम्बा निर्माण गरेका छौँ,” वडाध्यक्ष शेर्पाले भने, “यो क्षेत्रमा धेरै बौद्ध धर्मलम्बीको बसोबास छ, पुरानो गुम्बा जीर्ण हुँदा समस्या थियो, अहिले सबैको प्रयासबाट नयाँ गुम्बा निर्माण गर्न सफल भएका छौँ।”
गुम्बा निर्माणका लागि आफूले दुई रोपनी र स्थानीय निम्छीरी शेर्पाले आठ रोपनी जग्गा निःशुल्क दान गरेको जानकारी पनि उनले दिए। नयाँ गुम्बा बनेपछि स्थानीयवासी उत्साहित भएको जनाउँदै फुर्लाक्पा शेर्पाले भने, “जीर्ण गुम्बामा पूजा गर्न जोखिम थियो, अहिले आवश्यक संरचनासहितको गुम्बा बनेपछि सबैलाई सहज भएको छ।”
गुम्बामा प्रत्येक महिनामा सामूहिक पूजाआजा गर्ने परम्परा रहेको र दर्शनका लागि विभिन्न स्थानबाट मानिस आउन थालेको पनि उनले जानकारी दिए। मुन्दुम पदमार्ग नजिकै भएकाले गुम्बा निर्माणले धार्मिक पर्यटनमा समेत टेवा पुग्ने वडाध्यक्ष शेर्पाले बताए।






