बारपाकवासी भन्छन्, ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’

उज्यालो प्रतिनिधि १२ बैशाख २०८२, शुक्रबार समाचार
गोरखा, गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ वीरताको गाथा कोरिएको ऐतिहासिक एवं पर्यटकीय गाउँ हो । जगदेखि छानोसम्म ढुङ्गा र काठबाट बनेका एकै स्वरुपमा जोडिएर रहेका एक हजार ३०० भन्दा बढी घर बारपाकको अर्को छुट्टै मौलिकता र चिनारी थियो ।
विक्रम संवत् २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पले पर्यटकीय सुन्दर गाउँ बारपाक क्षणभरमा तहसनहस बन्यो । गाउँका कुनै घर बाँकी रहेनन् । भूकम्पबाट बारपाक गाउँमा मात्रै ७२ जनाले ज्यान गुमाए । भूकम्प गएको आज १० वर्ष पूरा भएको छ । पुनःनिर्माण सकिएसँगै बारपाकवासीले भूकम्पको पीडा पनि भुल्दै गएका छन् । पुराना शैलीमा घर नबने पनि बारपाक गाउँमा आधुनिक शैलीका घर बनिसकेका छन् । अर्थात् भूकम्पपछिको पुनः निर्माण लगभग सकिएको छ । भूकम्पपछि बारपाकमा अहिले एक हजार ४५० भन्दा बढी घर पुनः निर्माण भइसकेका छन् ।
“परम्परागत शैलीका घर त बनाइएनन् तर आधुनिक शैलीका घर लगभग बनिसकेका छन्”, स्थानीयवासी सुशीला घलेले भने, “भूकम्पको एकै झड्काबाट ठूलो क्षति ब्यहोरेका बारपाकीले फेरि पुरानै शैलीको ढुङ्गैढुङ्गा र काठले बनेका परम्परागत मौलिकता बोकेका घर बनाउने आँट भने गर्न सकेनन् ।”
भूकम्पपछिको पुनःनिर्माणले बारपाकको स्वरुप र पहिचान बदलिदिएको छ । एउटा ठूलो सुन्दर गाउँ अहिले शहर जस्तै बनेको छ । “हामीलाई बारपाकको चिनारी दिने घर बनाएर बस्न मन नभएको होइन,” उनले भने, “तर सुरक्षित हुँदैन भन्ने अनूभूति बारपाकीले गरेपछि आधुनिक शैलीका घर बनाउनुको कुनै विकल्प रहेन ।”
बारपाकमा निजी आवास पुनः निर्माण लगभग सकिएको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाकका वडाध्यक्ष घनबहादुर घले बताए । “भूकम्पपछि यहाँका मौलिक चिनारी भने बचाउन सकिएन,” उनले भने, “बारपाक त बारपाक नै हो तर पुरानो मौलिक बारपाक होइन, अहिले नयाँ र आधुनिक बारपाक बन्यो ।”
पुराना मौलिकता बोकेका घर नबने पनि बारपाकको सुन्दरता भने हराएको छैन । मौलिक पहिचान बोकेको लाहुरेको गाउँ बारपाकलाई गोरखा भूकम्पपछि ‘इपिसेन्टर बारपाक’भनेर पनि चिनिने गरेको छ । यसले बारपाकलाई फरक चिनारी दिएको छ । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गरेका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ । बुद्ध हिमालको काखमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीय जोड दिन्छन् ।
बारपाक केन्द्रविन्दु भएर गएको गोरखा भूकम्पबाट गोरखामा मात्र ४७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखासहित १४ जिल्ला अतिप्रभावित बने भने देशभरका ३१ जिल्लामा गोरखा भूकम्पले क्षति पु¥याएको थियो ।
पर्यटकीय गन्तव्य बन्दै
भूकम्पको इपिसेन्टर बारपाक अहिले पुनः निर्माण मात्र भएको छैन । बारपाक घुम्न आउने पर्यटकलाई लक्षित गरेर बारपाक गाउँभित्रै आकर्षक आन्तरिक पर्यटकीय गन्तव्य थपिँदै गएका छन् । गाउँपालिकाको पहलमा आन्तरिक तथा बाह्य पर्यटकलाई बारपाकतर्फ लोभ्याउन नयाँनयाँ घुम्न लायक गन्तव्यको विकास गर्न थालिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
अब बारपाक घुम्न आउने पर्यटकले बारपाकभित्रै कलात्मक ‘बुद्ध पार्क’ पनि घुम्न पाउनेछन् । बारपाकस्थित ताक्लेनान डाँडामा करिब ४५ लाखको लागतमा निर्माण गरिएको ‘बुद्ध पार्क’ अहिले बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै गएको छ । उक्त उद्यानमा बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्काइएको छ । बारपाकको सिङ्गगो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको ‘बुद्ध पार्क’ मा करिब पाँच फिट अग्लो बुद्धको मूर्ति आकर्षक ढङ्गले राखिएको छ ।
त्यस्तै उद्यानमा बौद्ध धर्म, संस्कृति झल्कने खालका मानीलगायतका सामग्री पनि रहेका छन् । भूकम्पपछि सिङ्गो गाउँलाई एकै ठाउँबाट दृश्यावलोकनका लागि गाउँपालिकाले निर्माण गरेको ‘भ्यू टावर’ बारपाकको अर्को आकर्षक गन्तव्य हो । त्यस्तै भुकम्पमा ज्यान गुमाएको सम्झनामा निर्माण भइरहेको भूकम्प स्मृति उद्यानको काम लगभग अन्तिम चरणमा रहेको अध्यक्ष भट्टले जानकारी दिए ।
“सङ्घीय आयोजना कार्यान्वयन इकाइ पोखरामार्फत निर्माण भइरहेको स्मृति उद्यानको थोरै मात्र काम बाँकी छ,” उनले भने, “स्मृति उद्यानले बारपाकमा पर्यटकको आकर्षण अझै बढ्ने विश्वास छ ।” उद्यान निर्माण गर्न रु १५ करोड ५१ लाख ७५ हजारमा सम्झौता भएको छ ।
अध्यक्ष भट्टले बारपाक गाउँ अहिले पहाडको शहरका रुपमा स्थापित हुँदै गएको बताए । “इपिसन्टेर हेर्न र घुम्नका लागि देश भित्रका मात्र होइन बाहिरबाट पनि थुप्रै पर्यटक बारपाक आउन थालेका छन्,” उनले भने, “भूकम्पले थलिएको बारपाक अब तङ्ग्रिसकेको छ ।”
गैह्रागाउँका दलित परिवार अझै अस्थायी टहरामा
जिल्लाभित्र भूकम्पले क्षति पु¥याएका अधिकांश  निजी आवास, सरकारी तथा गैह्रसरकारी कार्यालय एवं पुरातात्विक भवन पुनःनिर्माणको काम सम्पन्न भइसकेको भए पनि इपिसेन्टर बारपाकको दलित बस्तीका केही भूकम्पपीडित भने अझै अस्थायी टहरामा छन् ।
घर बनाउन जग्गा नपाउँदा भूकम्पको १० वर्षसम्म पनि दलित समुदाय अस्थायी टहरामा बस्न बाध्य भएको बारपाक सुलिकोट गाउँपालिका–१, की वडासदस्य लक्ष्मी विकले बताए । “साबिकको बस्ती जोखिमयुक्त छ, त्यहाँ घर बनाएर बस्न मिल्ने अवस्था छैन”, उनले भने । गैह्रागाउँमा १५ दलित परिवारले घर बनाउन नपाएको विकको भनाइ छ । उनीहरु अहिले सरकारी जग्गामा अस्थायी टहरामा बस्दै आएका छन् ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार