काठमाडौँ । हिमाली सङ्गीतको धर्तीमा एक नयाँ रंग थप्दै मन्सिङ तामाङ र बिशान पाख्रिनको ‘सुनको जन्तर’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । यो भिडियोले हिमाली लोक संस्कृति र आधुनिक सङ्गीतको मिलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ । मान्सिङ तामाङको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोले प्रकाशनको केही घण्टाभित्रै साङ्गीतिक प्रेमीहरूबाट उत्साहजनक प्रतिक्रिया पाइसकेको छ ।‘सुनको जन्तर’ गीतको शब्द र संगीत सिर्जनाको जिम्मा रोशन फ्युबा तामाङले निर्वाह गरेका हुन् । उनले यस गीतमा हिमाली जीवनका सरल अनुभूति, प्रकृतिप्रतिको माया, र सांस्कृतिक गौरवलाई सुमधुर ढंगले बयान गरेका छन् । गीतको स्वरूपमा लोक तथा आधुनिक बाजाको मिश्रणले यसलाई विशिष्ट बनाएको छ ।
भिडियोको निर्देशन र सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् भने उमेश शाहको क्यामेराको लेन्सले हिमाली प्राकृतिक सौन्दर्यलाई मनमोहक ढंगले क्याप्चर गरेको छ । यसमा प्रतीक ङेश्युर र रन्जिता तामाङले नाटकीय अभिनयको साथै नृत्य प्रस्तुत गरेका छन् । कोरियोग्राफीमा प्रतीक ङेश्युरको सिर्जनात्मकता देखिने यस भिडियोले नेपाली लोकनृत्य र आधुनिक स्टेपको समन्वयलाई उजागर गरेको छ । साथै, जोगलाल लामाको सङ्गीत संयोजन र वाङ्च्यु फ्युबाको मिक्सिङले गीतलाई प्रवाहमय बनाएका छन् ।भिडियोको मुख्य आकर्षण रसुवा जिल्लाको आमाछोदिङ्मो, पार्बती कुण्ड, र सेरो फेरो जस्ता हिमाली भू-दृश्य हुन् । यी स्थलहरूमा गरिएको छायाङ्कनले हिमालको शुद्ध हावापानी, हरियाली ढुङ्गाघर, र चिसो नदीको धारलाई जीवन्त बनाएको छ । विशेष गरी पार्बती कुण्डको पानीमा परी झल्किएका प्रतिबिम्ब र सेरो फेरोको विस्तृत मैदानले दर्शकलाई हिमाली जीवनको नजिकबाट परिचय दिन्छ ।
‘सुनको जन्तर’ को म्युजिक भिडियो युट्युबमा अहिले नै उपलब्ध छ । यसले नेपाली सङ्गीत प्रेमीहरूसँगै विदेशमा रहेका नेपालीहरूलाई पनि सांस्कृतिक सुगन्ध पुग्ने अपेक्षा गरिएको छ । भिडियो हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :






