कैलाली । ऐतिहासिक महत्व बोकेको महाशिवरात्रिको अवसरमा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा आज दर्शनार्थीहरूको घुइँचो लागेको छ ।
बेहडाबाबा मन्दिरमा पूजाआजा गर्नका लागि गए राति १२ बजेदेखि नै भक्तालुहरू आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न जिल्लाका मानिस यहाँ दर्शनका लागि आएका छन् । यो मन्दिरको बेग्लै महत्व रहेको छ ।
त्यस्तै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी यहाँ आउने गरेका छन् । उनीहरूमा यहाँ आएर मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास रहिआएको छ । बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवं इच्छाएको कुरा पुग्ने हुँदा यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार पाँचदेखि आठ लाख भक्तालुले पूजा गर्ने अनुमान गरिएको छ । मन्दिर परिसर नजिकै मेलाको पनि आयोजना गरिएको छ । मेलामा यहाँका नेपालीमात्रै नभएर भारतका व्यवसायीसमेत केही दिनअघिबाटै यहाँ आएर विभिन्न पसल सञ्चालन गरेका छन् ।
महाशिवरात्रिकै अवसर पारेर बेहडाबाबा मन्दिरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड बत्ती प्रज्ज्वलन गरिँदै छ । मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा बिहान ११ देखि १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दई करोड बत्ती प्रज्ज्वलन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए।
हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा गरिन लागिएको उनले बताए । कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको आयोजकको भनाइ छ ।
पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टिमले रु १४ लाख नौ हजार नौ सय ५० सङ्कलन भएको छ । पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत रु ११ लाख र तीन क्विन्टल फूलको रु दुई लाख गरी जम्मा रु १३ लाख खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।
पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभण्डारासमेत चलाइएको छ भने उपस्थित सम्पूर्ण भक्तजनलाई निःशुल्क खाना र पानीको व्यवस्था गरिएको छ । त्यस्तै धाममा भक्तजनलाई जान आउनदेखि दर्शन तथा पूजापाठ गर्नसम्मका लागि सम्पूर्ण तयारी गरिएको छ । आवतजावतका लागि बसको व्यवस्था र कडा सुरक्षाकोे व्यवस्था गरिएको छ ।
मङ्गलनाथ महोत्तरीका अर्का जलाधिनाथ
महोत्तरी– आमरूपमा ‘जलाधिनाथ’ भनिँदा महोत्तरीको जलेश्वर–१ स्थित श्री जलेश्वरनाथ भन्ने बुझिन्छ । तर महोत्तरीकै सुदूरपश्चिम दक्षिणी भेगको सोनमा–६ मगरथानास्थित श्री मङ्गलनाथ महादेवको शिवलिङ्ग पनि जलमै विराजमान छ । आज महाशिवरात्रि पर्वका अवसरमा श्री मङ्गलनाथ शिवलिङ्गको दर्शन र पूजाआराधना गर्नेको भीड छ ।
जलेश्वरनाथ भगवान् शङ्करले आफैँ स्थापना गर्नुभएको शिवपुराण र मिथिला माहात्म्यमा वर्णित छ । यसैगरी मङ्गलनाथ पनि अनादिकालमै स्थापित शिवलिङ्ग मानिन्छ । मङ्गलनाथ शिवलिङ्ग तपस्वी योगीजनले पाँच सय वर्षअघि पत्ता लगाएदेखि पूजाआराधना गरिँदै आइएको मगरथानावासी बताउँछन् ।
जमिनको सतहबाट करिव २० फिट गहिराइमा पानीले ढाकिएर रहेको मङ्गलनाथ शिवलिङ्गको आराधनाले समस्त कष्ट निवारण भई सुखसन्तोष प्राप्त हुने जनविश्वास छ । जिल्ला सदरमुकाम जलेश्वरबाट करिब ३५ किलोमिटर पश्चिम भारतीय सीमावर्ती मगरथाना गाउँअवस्थित मङ्गलनाथ शिवलिङ्ग जलेश्वरनाथकै झैँ स्थापित परम्पराका हुनुपर्ने मगरथानाका बासिन्दा अशेश्वरप्रसाद यादव बताए ।
“जलेश्वरनाथ र मङ्गलनाथ समान प्रकृतिका शिवलिङ्ग छन्, दुवै जलमा विराजमान १” यादव भने, “यो समानताले दुवै शिवलिङ्ग एकै कालमा स्थापित हुन् भन्ने अड्कल गर्न सकिन्छ ।” जलेश्वरधाम क्षेत्र जनकपुरधामसँग निकट रहेका हुँदा खोजीनीतिमा परेका र मङ्गलनाथ दूरदराजमा हुँदा खोज, अन्वेषण र अध्ययनको कम चासोमा परेका यादवको भनाइ छ ।
मङ्गलनाथ शिवलिङ्ग कहिल्यै नसुक्ने पानीमा ढाकिएको पाँच फिट मोटाइ र दुई फिट उचाइको देखिन्छ । मङ्गलनाथ शिवलिङ्ग परिसरमा केही लेखिएको जस्तो देखिने शिला छन् । यिनको पुरातात्विक अध्ययन हुनसके यसबारे थप तथ्य आउनसक्ने मगरथानाकै बासिन्दा शिक्षण पेसाका धर्वेन्द्रकुमार यादव बताए । यसबारे स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो नदिएका मगरथानावासीको गुनासो छ ।
जलाशयमा भेटिएपछि तपस्वीजनले पूजाआराधना गर्दै आएका शिवलिङ्ग परिसरमा पछि मन्दिर निर्माण भएको स्थानीय पाका व्यक्ति बताउँछन् । मन्दिर परिसरमै हाल गणेश र पार्वतीको मन्दिर स्थानीय भक्तले निर्माण गरेका छन् । मन्दिर पसिरमै विशाल पिपलको रुख र पुरानो इनार देखिन्छ । यसैगरी मन्दिरदेखि पूर्व शिवसागर तलाउ छ । यस तलाउमा स्नान गरी यहीँकै जल महादेव मङ्गलनाथलाई चढाइए भक्ति सफल हुने मन्दिरका पुजारी राजदेव गिरी बताए ।
यहाँ प्रत्येक वर्षको महाशिवरात्रि र साउन महिनाका सोमबारका दिन धार्मिक मेला लाग्दै आएको छ । यस ठाउँको थप अध्ययन र पुरातात्विक अन्वेषणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर यादवको भनाइ छ ।
Facebook Comments Box






