काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गरेका छन्।
सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेका हुन्।
कोशीमा ९३ जना सांसदमध्ये ७७ जना आजको बैठकमा उपस्थित भएका थिए। मुख्यमन्त्री थापाका पक्षमा ४७ मत प्राप्त भएको र विपक्षमा ३० मत प्राप्त भएको हो। मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले घोषणा गरे।
प्रदेशसभाको अध्यक्षता गरिरहेका मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ । उनले मतदानको समय सकिएर मत सच्याउने समयमा सभामुखको आसन छाडेर तल आई मत दिएका थिए ।
मन्सुरीले मत दिएर पुनः सभामुखको आसनमा आएपछि एमालेले नाराबाजी गरेको हो । एमाले सांसदहरुले रोष्ट्रममा भेला भई नाराबाजी गरेका छन् ।
गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दल नेता थापाले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो।
उपसभामुख सिर्जना दनुवार आज बिहानै काठमाडौं गएकी थिइन्। उनले बैठक चलाउने जिम्मा कांग्रेस सांसद मन्सुरीलाई दिएकी थिइन्। ज्येष्ठ सदस्यका हैसियतले मन्सुरीले प्रदेश सभा चलाए र मतदानमा समेत सहभागी भएका छन्।
यसअघि तत्कालीन सभामुख बाबुराम गौतमको समर्थनमा थापा पहिलो पटक असार २१ मा मुख्यमन्त्री भएका थिए। असार २२ मा एमाले सर्वोच्च गएपछि अदालतले थापाको नियुक्ति बदर गरेपछि साउन १६ मा थापा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।