भानुभक्तको खण्डहर घर पुन : निर्माण हुँदै

उज्यालो प्रतिनिधि २९ असार २०८०, शुक्रबार समाचार

तनहुँ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । भानु नगरपािलका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो ।

भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०/८१ भित्रै घर पुनःनिर्माणको काम सुरु हुने समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।

घर पुनःनिर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने रानाभाटको भनाइ छ । उनले भने, ‘कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गा माटोको भए पनि घर निर्माणका लागि काम सुरु हुन्छ, नगरपालिका, प्रदेश र संघ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौँ ।’

पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम सुरु हुनसकेको छैन । अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ । उनले भने, ‘विकास मञ्चको भर पर्दा अपजसमात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौं ।’

भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । रानाभाटले भने, ‘आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ ।’

पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम सुरु गर्न नसकिएको जनाएको छ । भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’  चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गरेका थिए । जंगलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा रु एक लाख २७ हजारको क्षति भएको थियो ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताए । भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ ।

भानुभक्त जन्मस्थल विकास समितिले गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको रु तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षकरूपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ ।

भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद् भएको बताए ।

भानु जन्मस्थललाई सप्तधाममा विकास गरिने

भानुभक्त जन्म्स्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । तर पर्याप्त बजेट नहुँदा त्यसले मूर्तरुप पाउन सकिरहेको छैन ।

आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक रानाभाटको भनाइ छ । चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउँछन् ।  ‘पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन’, रानाभाटले भने, ‘चुँदीरम्घाको विकासका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरेका छौँ ।’

भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजनाअनुसार रु तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापीठमा कच्चीबाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्रे, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउँछन् ।

दुई सय दशौँ भानु जयन्तीका अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदै छ । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थिति रहने आयोजकले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार