काभ्रे । तेमाल गाउँपालिकाको १३ औं गाउँ अधिवेशन सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य एवम् पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज)को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि दोङले तेमाल आफ्नो जन्मभुमि भएकाले यहाँका आवश्यकता र सम्भावनाको विषयमा आफुलाई राम्रो जानकारी भएकोले समृद्धि तेमाल निर्माण लागि स्थानीय सरकारसंग आफु हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए ।
साथै उनले यस वर्ष तेमालको निक्कै महत्त्वपूर्ण गुरु योजनाहरु संघीय सरकार समक्ष पेस गरेको र त्यसको विषयमा छलफल भइरहेको र चाँडै नै ती कार्यक्रमहरुको विषयमा निष्कर्षमा पुग्ने बताए ।


‘सुनकोसी तेस्रो जलविद्युतको काम प्रारम्भको विषयमा छलफल भइरहेको छ, त्यो संगसंगै यहाँ केही निजी लगानीमा ठुलै योजनाहरु भित्र्याउने तयारी भइरहेको छ । सडक कालोपत्रेको लागि बजेट परिसकेको छ, मात्रै ठेगदारको बेइमानीले केही समय लाग्ने भयो । अर्बौको तेमाल बृहत खानेपानी लगभग सम्पन्न भइसक्यो, विद्युतिकरणको काम पनि सम्पन्न भइसक्यो, बाँकी योजनाहरु सम्पन्न हुदा दुनियाँ भरका मानिसहरू तेमाल हेर्न आउनेछ’ उनले सम्बोधनको क्रममा बताए ।
उक्त गाउँ अधिवेशन मार्फत २०८०/०८१ को ५१ करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर (डिएम) ले सार्वजनिक गरेको बजेटमा प्रमुख प्राथमिकता सडक संजालले पाएको छ ।


संघीय सरकार सशर्त अनुदान २१ करोड ७१ लाख, प्रदेश सरकार सशर्त अनुदान २ करोड २१ लाख ८६ हजार, संघीय सरकार समानिकरण अनुदान ९ करोड ४ लाख, प्रदेश सरकार समानिकरण अनुदान ८६ लाख ६४ हजार रहेको छ ।
त्यस्तै संघीय सरकार राजस्व बाँडफाँडबाट प्राप्त रकम ८ करोड ११ लाख ७६ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २ करोड १८ लाख ६४ हजार ६५२, संघीय सरकार समपुरक अनुदान ८० लाख, प्रदेश सरकार समपुरक अनुदान २ करोड ५० लाख, संघीय सरकार विशेष अनुदान ५० लाख, प्रदेश सरकार विशेष अनुदान १ करोड र आन्तरिक आय २ करोड अनुमान गरिएको छ ।
गाउँपालिकाले चालु खर्च तर्फ ७ करोड १३ लाख ४ हजार ६५२ विनियोजन गरेको छ । शिक्षा तर्फ ८० लाख, स्वास्थ्य तर्फ १ करोड, विपद व्यवस्थापन तर्फ १८ लाख , प्रकोप कोष १३ लाख, लैंगिक समानता तथा समावेशीकरण तर्फ २५ लाख, न्यायीक समिति १० लाख, राजस्व फिर्ता रकम ४० लाख प्राविधिक शाखा ५ लाख, वडा नं. ५ को कार्यालय निर्माणको लागि १५ लाख, वडा नं. २ को कार्यालय निर्माणको लागि ८ लाख, पालिकाको जेसिवी खरिद ५० लाख विनियोजन गरिएको छ ।


तेमाल गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखे पनि मुख्य प्राथमिकता भने सडकलाई राखिएको छ । तेमाल धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निक्कै सम्भावना भए पनि सडक बाह्रै महिना गाडी गुड्न अलि सकस भएको कारण पर्यटकहरु कम आएको स्थानीय सरकारको बुझाइरहेको छ ।
त्यसैले यसपटक अगिल्लो आर्थिक वर्षको रणनैतिक सडकहरूलाई यसवर्ष पनि निरन्तरता दिएका छन् । वडा देखि कार्यालय जोड्ने सडकलाई प्रत्येक वडाको लागि ५० लाखको दरले बजेट विनियोजन गरेका छन् । संघ र प्रदेश सरकारले पनि भकुण्डे-मेच्छे सडकखण्डा, बोहोरेदोभान-रोसाइबाट सडकलाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेको कारण तेमाल गाउँपालिकाले ९ वटा वडालाई नै सदरमुकाम जोड्ने सडकहरूलाई विशेष प्राथमिकता राखेका छन् ।


पत्रकारहरु संग कुरा गर्दै उपाध्यक्ष थोकरले तामाङहरु उद्गम थलो तेमालको धार्मिक स्थल तोङसोमकुण्ड, गेलुङ पहरा, गुरु ह्रेम्पोछे, ह्यारीनाग, दोर्जेगाङ लगायत सिंगो तेमाल ह्रेन्जेन दोर्जे राजाले शासन गरेको भूमिको प्रचारप्रसार तथा यी स्थलको संरक्षण तथा प्रबर्द्धनका लागि विशेष गुरु योजनाको साथ कार्यक्रम गर्न बजेटद्वारा सम्बोधन गरेको जानकारी गराएका छन् ।








