राससद्वारा ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन

उज्यालो प्रतिनिधि २६ भाद्र २०७९, आईतवार समाचार

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन गरेको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले ‘छापादेखि डिजिटलसम्मः प्रविधिबाट प्रभावित पत्रकारिता’, राससका नायब महाप्रबन्धक राजु शाक्यले ‘श्रव्यदृश्य पत्रकारिता र रासस’, राससका प्रमुख भिडियो ग्राफर विष्णु कल्पितले ‘श्रव्यदृश्य पत्रकारिता र टेलिभिजन स्क्रिप्ट स्ट्रक्चर’ विषयमा प्रशिक्षण गर्नुहुने छ ।

यसैगरी विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले ‘श्रव्यदृश्य पत्रकारिता र डिजिटल प्लेटफर्म’, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले ‘श्रव्यदृश्य पत्रकारितामा भाषा–शैलीको महत्व तथा स्क्रिप्ट लेखन अवधारणा’ र पत्रकार तथा प्रशिक्षक महाप्रसाद लामिछानेले ‘श्रव्यदृश्य पत्रकारिताका सन्दर्भमा उपकरणको प्रयोगमा ध्यान दिनुपर्ने विषय’ मा प्रशिक्षण दिनुहुने छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले तालिमको शुभारम्भ गर्दै राससले भिडियो सेवा सुरु गर्दैगर्दा विषयवस्तु, प्रस्तुति, समयबद्धता, गुणस्तरीयता, सम्प्रेषण, प्रविधिको प्रयोग, अडियन्स र सेवाग्राहीको सुझावलाई विशेष ध्यान दिनुपर्छ भने । उनले भने, “भिडियो सेवासँगै राससले आफूलाई परिमार्जन गरी अझै विश्वसनीय र प्रविधिको तीव्र विकासलाई आत्मसात गर्नुपर्छ ।”

राससका कार्यकारी अध्यक्ष झाले राससको भिडियो सेवालाई अग्रणी सेवाका रूपमा विकासित गरिने जानकारी दिनुभयो । उनले भने, “ अनलाइनको लागि भिडियो सेवा लक्षित छ । सूचना प्रविधिलाई राससले आत्मसात गर्ने छ, श्रव्यदृश्य सेवालाई द्रूत र विश्वसनीयरूपमा अगाडि बढाउने छ ।” विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले राससको भिडियो सेवालाई आम सेवाग्राहीको चाहनाअनुरुप अगाडि बढाउन आग्रह गरे।

राससका महाप्रबन्धक सिद्धराज राईले तालिममा श्रव्यदृश्यको प्रभावकारिता, यसका चुनौती, भाषाशैली, प्रविधिको प्रयोगलगायतका विषयमा छलफल गरिने जानकारी दिए । कार्यक्रममा प्रशिक्षक लामिछानेले राससको श्रव्यदृश्यको प्रभावकारिताबारे चर्चा गरे ।

सञ्चालनमा रहेका टेलिभिजन च्यानलसहित अनलाइन सञ्चारमाध्यमको समेत अनुरोधबमोजिम सञ्चालन गरिएको श्रव्यदृश्य सामग्री रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन गरी वितरण गरिँदै आइएको छ । राससले श्रव्यदृश्य सञ्चालनको निम्ति ‘श्रव्यदृश्य सेवा सञ्चालन निर्देशिका–२०७९’ तयार गरेको छ ।

निर्देशिकाअनुसार राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको छायाङ्कन गरी खासगरी टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई लक्षित गरी गुणस्तरीय श्रव्यदृश्य (भिजुअल) सामग्री उपलब्ध गराउँदै आएको छ ।

राससले गत साउन १ गतेदेखि औपचारिकरूपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको थियो । राससको समाचार सेवा सामग्रीमा विविधिकरण ल्याउने उद्देश्यले परीक्षण प्रसारणका रूपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको हो । विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ ।

नेपालको पहिलो समाचार समिति निजी क्षेत्रबाट विसं २०१६ पुस १ गते स्थापित ‘नेपाल संवाद समिति’(नेसस) हो । यसका संस्थापकमा पत्रकार गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धर हुनुहुन्थ्योे ।

दोस्रो समाचार समिति पनि निजी क्षेत्रबाटै विसं २०१७ वैशाख ३० गते स्थापित ‘सगरमाथा संवाद समिति’ (ससंस)हो । निजी क्षेत्रका यी दुई समाचार समितिलाई गाभेर सरकारी सञ्चारमाध्यमका रूपमा विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासंस) स्थापना भएको हो । राष्ट्रिय संवाद समितिलाई विसं २०२८ देखि राष्ट्रिय समाचार समिति (रासस)भन्न थालिएको हो ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार