एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीच जारी दोस्रो सेमिफाइनलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । डेनमार्कले सुरुवाती अग्रता लिएपनि इंग्ल्यान्डले पहिलो हाफमा नै खेल बराबर गरेको हो ।
खेलको १२ औं मिनेटमा स्टर्लिङकै प्रहार सिधै गोलरक्षक स्माइकलको हातमा पुग्यो । त्यसअघि ह्यारी केनले दायाँ विंगबाट दिएको क्रसमा स्टर्लिङ केहि ढिला पुग्दा इंग्ल्यान्डले अघि बढ्ने अवसर गुमाएको थियो । १६ औं मिनेटमा डेनमार्कका पिएर एमिल होएबिएरको प्रहारलाई गोलरक्षक जोर्डन पिकफर्डले सहजै बचाए ।
२५ औं मिनेटमा इंग्ल्यान्डको डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै मिकेल डाम्सगार्डले गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो । त्यसको ५ मिनेटपछि डाम्सगार्डकै गोलमा डेनमार्कले अग्रता लियो । उनले झन्डै २५ यार्ड टाढाबाट प्राप्त फ्रिकिकलाई सुन्दर गोलमा परिणत गर्दै टोलीलाई अघि बढाएका थिए ।
३७ औं मिनेटमा गोलरक्षक स्माइकलले उत्कृष्ट बचाउ गर्दै डेनमार्कको अग्रता जीवित राखे । केनको क्रसमा स्टर्लिङको ६ यार्ड बक्स नजिकको प्रहारलाई उनले विफल पारेका थिए । तर त्यस लगत्तै आक्रमणमा इंग्ल्यान्ड बराबरी गोल फर्काउन सफल भयो । केनले अफसाइड ट्रयाप बिट गर्दै पेनाल्टी क्षेत्रभित्र बुकायो साकालाई खेलाएपछि उनको क्रसमा गोल भएको थियो । साकाको क्रस स्टर्लिङलाई लक्षित रहेपनि कप्तान सिमोन केयरले त्यसअघि नै ट्याकल गर्ने क्रममा बल आफ्नै पोस्टमा छिरेको थियो ।
यस खेलको विजेताले फाइनलमा इटालीको सामना गर्नेछ । इटालीले मंगलबार भएको सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको थियो ।






