एजेन्सी । दिनको दुईवटा अण्डा खाँदा त्यसले मुटुसम्ब्धी रोग लाग्ने खतरा बढाउने अमेरिकाको एउटा अध्ययनले देखिएको छ । अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्। यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले देखाएको छ। उक्त अध्ययनका अनुसार दिनमा जम्मा दुईवटा मात्रै अण्डा खाँदा पनि त्यसले मुटुलाई हानि पुर्याउन र उमेर नपुग्दै मृत्यु हुन सक्छ।
अण्डाको पहेँलो भागमा धेरै मात्रामा कलेस्ट्रल हुने कारणले खतरा देखिएको हो। एउटा ठूलो अण्डामा झन्डै १८५ मिलिग्राम कलेस्ट्रल हुन्छ। यो मात्रा विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो। उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको छ वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित छ।
अनुसन्धानकर्ताहरूले प्रतिदिन ३०० मिलिग्राम कलेस्ट्रल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन्। उनीहरूले हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा छ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा आठ प्रतिशत बढ्ने बताएका छन्।
दिनको दुईवटा अण्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमश २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ। सो अध्ययन उमेर, शारीरिक क्षमता, सुर्तीसेवन वा उच्च रक्तचापसँग सम्बन्ध नहेरी गरिएको हो। हाम्रो अध्ययनले देखाएको भनेको यदि दुईजना मानिसले उस्तै आहारमा छन् र उनीहरूबीचको फरक भनेको उनीहरूले खाने अण्डा हो भने अण्डा खाने मानिसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने हो । शोधकी एक लेखिका तथा नर्थवेस्टर्न युनिभर्सिटीकी उपप्राध्यापक नोरिना एलेनले भनिन्।
पुराना अध्ययनहरूले अण्डा खानु र मुटुरोगको सम्बन्ध नरहेको देखाएकोमा नयाँ अध्ययन विरोधाभासपूर्ण देखिएको छ। तर एलेनका अनुसार पहिलाका अध्ययनहरूको नमूना सानो, समयावधि छोटो र विविधता कम रहेका थिए। यद्यपि अनुसन्धानकर्ताहरूले आफ्नो विश्लेषणमा केही त्रुटिहरू हुनसक्ने बताएका छन्।






