सुर्खेत । कर्णाली प्रदेशको आज (आइतबार) हुने भनिएको मन्त्रिपरिषद विस्तार तत्कालका लागि टरेको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोजेपछि मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारी भएपनि अन्तिम समयमा आएर विस्तार टरेको हो ।
मन्त्रिपरिषद विस्तार गर्न खोजिएको तर केही आन्तरिक गृहकार्य अझै नपुगेकाले मन्त्रिपरिषद विस्तार रोकिएको मुख्यमन्त्री शाहीले जानकारी दिएका छन् । प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले भने सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मन्त्रालय संचालनमा सहयोग गर्ने सबैमा धन्यवाद समेत दिएका थिए ।
कर्णालीमा बढ्दो आन्तरिक विवादकाबीच उनले लेखेको उक्त स्टाटस भने अहिले सामाजिक सञ्जालबाट हटाइएको छ । मुख्यमन्त्री शाही निकट स्रोतका अनुसार मन्त्रिमण्डल केही समयका लागि मात्र टरेको हो । यद्यपी, पूरै तयारी भइसकेको र पार्टी केन्द्रको निर्देशन कुरेर बसिरहेको स्रोतको दाबी छ ।
ओली पक्षले आफु विरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोजेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार बलियो बनाउन माधव नेपाल पक्षलाई साथमा लिएर कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् ।
नेकपा संसदीय दलको प्रमुख सचेतकबाट ओली पक्षीय नेता गुलावजंग शाहीलाई हटाएर प्रचण्डपक्षीय सीता नेपालीलाई नियुक्त गरेपछि विवादले नयाँ रुप लिएको थियो ।
नेकपा संसदिय दलको बैठकले नेता यमलाल कडेँलको नेतृत्वमा दर्ता भएको अविश्वासको प्रस्तावलाई भने बहुमतले अस्वीकृत गरिसकेको छ ।
कर्णालीका ओलीपक्षीय केही नेताहरु यमलाल कँडेलले पक्षमा नउभिने भनेसँगै नयाँ मोड आएको छ । यद्यपी उनीहरुको आधिकारिक धारणा भने आइसकेको छैन् । ‘कर्णालीमा उत्पन्न विवाद समाधानतर्फ जानपर्ने बेलामा देखिएको खिचातानीका बीच अहिले कँडेललाई साथ नदिनेगरि धारणा आएको बुझिएको छ । ‘हामी ओली पक्षका हौं, तर कँडेललाई साथ दिँदैनौं भनेर केही साथिहरुको कुरा आइसकेपछि त्यसबारेपनि छलफल अघि बढेको छ ।’ नाम उल्लेख नगर्ने सर्तमा स्रोतले उज्याले नेटवर्कलाई जानकारी दियो ।
मुख्यमन्त्री शाहीले आफूविरुद्ध लाग्ने कर्णाली प्रदेशका नेकपा सहईन्चार्ज यमलाल कंडेल पक्षीय मन्त्री हटाएर नेपाल पक्षका ३ जना मन्त्रीलाई मन्त्री मण्डलमा ल्याउने तयारी गरेका थिए ।






