न्यूयोर्क । कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको अमेरिकामा अहिले ७ लाखभन्दा धेरै मानिस संक्रमित बनिसकेका छन् । ३४ हजारभन्दा बढी मानिसले कोरोना संक्रमणको कारण मृत्यू भइसकेको छ ।
त्यहाँका विज्ञहरुले यही अवस्था जारी रहेमा योभन्दा खराब अवस्था सिर्जना हुने चेतावनी दिएको न्यूयोर्क टाइम्सले लेखेको छ । किनकी, अमेरिकामा अहिले ठूला शहरबाट भाइरस बिस्तारै साना शहर र ग्रामिण इलाकासम्म पुगेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भने स्थिति सामान्य हुने र खराब समय गइसकेको तर्क गरेका छन् । तर कोरोना भाइरसले अमेरिकालाई र संसारलाई कहाँसम्म पुर्याउँछ भन्नेबारे कोही पनि स्पष्ट छैन ।
ट्रम्पको अभिव्यक्तिपछि दुई दर्जनभन्दा बढी विज्ञहरुले ठूलो मात्रामा परीक्षण, निगरानी, पर्याप्त सावधानी र स्वास्थ्यकर्मीका लागि पर्याप्त साधन उपलब्ध गराउन सरकार चुक्नु हुँदैन ।
सार्वजनिक स्वास्थ्य, मेडिसिन, एपिडेमियोलोजी र इतिहासका विज्ञहरुले अन्तर्वार्तामा अमेरिकाको भविष्यको बारेमा बताएका छन् । वेन्डरबिल्ट युनिभर्सिटी मेडिकल स्कूलमा प्रिभेन्टिभ मेडिसिन विशेषज्ञ डा. विलियम शैफनर भन्छन्, ‘मलाई आशा छ कि यो भाइरस गर्मीमा केही कम हुनेछ र भ्याक्सिन एउटा फौजजस्तै गरेर आउनेछ । तर म आफ्नो यो आशावादी व्यवहार रोक्न प्रयास गरिरहेको छु । किनकी कयौं विज्ञहरु भनिरहेका छन् कि यो संकट अन्त्य हुनेछ र अर्थतन्त्र पुनः ट्र्याकमा आउनेछ । तर हामीसँग यो पीडाबाट बच्ने कुनै उपाय छैन । यो भाइरस कहिले खत्तम हुन्छ भन्ने कुरा औषधिसँगै हाम्रो व्यवहारमा पनि भर पर्छ । यदि हामीले आफैंलाई र नजिककाहरुलाई यसबाट जोगाउन सक्यौं भने हामी धेरै नै मानिसहरु ज्यूँदो बच्नेछौं । तर हामीले यो भाइरसलाई सामान्यरुपमा लियौं भने यसले हामीलाई खोज्नेछ ।
अनुमान गरेभन्दा बढी भइरहेको छ मृत्यू
कोरोना भाइरसलाई अमेरिकामा सबैभन्दा धेरै मृत्यूको कारणको रुपमा लिन थालिएको छ । एक अनुमानअनुसार ७ अप्रिलपछि हरेक दिन १८०० अमेरिकनको मृत्यू हुनसक्छ । तर सरकारी तथ्यांक अझै स्पष्ट छैन । जबकि अमेरिकामा मुटु रोगका कारण एक दिनमा १७७४ र क्यान्सरबाट १६४१ जनाको मृत्यू हुन्छ ।
युनिभर्सिटी अफ वासिंगटन इन्स्टिच्यूत फर हेल्थ म्याट्रिक्स एण्ड इभ्यालुएसनको अनुमान अनुसार गर्मिको मध्यसम्म एक लाखदेखि २ लाख ४० हजार अमेरिकन्को मृत्यू हुनसक्छ । तर अब यो आँकडा ६० हजार छ । अहिलेसम्मको सफलताको कारण शटडाउन हो । तर, यसलाई लामो समयका लागि जारी राख्न सकिँदैन ।
इन्स्टिच्यूटको अनुमान चार अगस्ट सम्मका लागि हो । उसको मोडेलका अनुसार बिना भ्याक्सिन यो महामारी नियन्त्रण गर्न गाह्रो छ । यदि भ्याक्सिन बनेन भने भाइरस वर्षभरि घुमिरहनेछ र मृतकको संख्या बढ्न सकंछ । ह्वाइट हाउसको शटडाउन दोस्रोपटक खोल्ने योजनाबाट मृतकको संख्या अझ बढ्नसक्छ । फैलिइसकेपछि शटडाउन गर्नुको धेरै औचित्य हुँदैन ।
इम्पिरियल कलेज लण्डनको शोधकर्ताहरुका अनुसार अमेरिकामा सेप्टेम्बरसम्म २२ लाख जति मानिसको मृत्यू हुनसक्छ । दोस्रो विश्वयुद्धमा ४ लाख २० हजार अमेरिकी मारिएका थिए ।
चीनमा अहिलेसम्म ८३ हजार संक्रमण देखिएको छ जहाँ ४६३२ जनाको मृत्यू भएको छ । ट्रम्प सरकारले यो तथ्यांकमाथि प्रश्न उठाएको थियो तर, ट्रम्प आफैंले आफ्नो देशको मृतकको सही तथ्यांक उतार्न सकेका थिएनन् । मृतकको संख्या धेरै हुन्छ भनेर सामान्य बिरामीको कोरोना परीक्षण नै गर्न थालिएको छ । यदि तपाई परीक्षण नै गर्नुहुँदैन भने भाइरस कति खतरनाक भनेर थाहा पनि पाउन सक्नुहुन्न ।
-न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टको सहयोगमा






