सिरहाको मिर्चैया नगरपालिका–८ भगवतपुरमा गएराति भएको दर्दनाक सवारी घटनामा स्थानीय ५० वर्षीय गुनाई ठाकुरको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन्। प्राप्त जानकारीअनुसार, प्रारम्भिक रूपमा एक ई–भिकार कारको ठक्करबाट गुनाई ठाकुर गम्भीर घाइते भएका थिए। ठक्करपछि ई–भिकार कार अनियन्त्रित भई नालामा फसेको थियो। स्थानीय बासिन्दाहरू घाइते ठाकुरको उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल पठाउने प्रयासमा जुटिरहेका बेला घटनाले थप भयावह रूप लिएको बताइएको छ।
स्थानीयका अनुसार, कार चालक पुनः अर्को पिकअप गाडी लिएर घटनास्थलमा फर्किएका थिए र उद्धारमा खटिएका सर्वसाधारणमाथि नै गाडी हुइँक्याएर ठक्कर दिएका थिए। उक्त घटनामा गम्भीर घाइते भएका गुनाई ठाकुरलाई उपचारका लागि विराटनगर लैजाने क्रममा कोशी ब्यारेज नजिकै बाटोमै निधन भएको जनाइएको छ।
घटनामा रामपुकार ठाकुर, १० वर्षीय रोशन यादव र ७ वर्षीय शुभम ठाकुर घाइते भएका छन्। शुभम ठाकुर मृतक गुनाई ठाकुरका नाति हुन्। रोशन यादवसहित अन्य घाइतेहरूको मिर्चैयास्थित अस्पतालमा उपचार भइरहेको छ भने रामपुकार ठाकुरलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
उद्धारमा खटिएका स्थानीयमाथि नै सवारी साधन प्रयोग गरी आक्रमण गरिएको आरोप लागेका व्यक्ति घटनापछि फरार रहेका छन्। घटनाले भगवतपुर क्षेत्र शोकमा डुबेको छ भने स्थानीय बासिन्दाले दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।






