काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अन्तरविरोधको मुख्य कडी अर्का अध्यक्ष ओली नै भएको दोहोर्याएका छन् । आइतबार स्थायी कमिटी बैठक उद्घाटन गर्दै उनले विवादको फायर ओलीले नै खोलेको बताए । ‘मैले आज त्यति नबोलौं, प्रस्ताव मात्रै वितरण गरौं भन्ने सोचेको थिएँ,’ दाहालले बैठकमा भने, ‘अब थोरै बोल्न बाध्य भएको छु, बाँकी तपाईंहरूले नै प्रस्तावहरूको अध्ययन गर्नुहोस्, त्यसपछि बल्ल छलफल गरौंला ।’ अध्यक्ष दाहालले गत साउनमै समस्या समाधानका लागि कार्यदल बनाउन ओलीको अरुचि रहेको र बलजफ्ती कार्यदलमार्फत समस्याको समाधान खोज्न तयार भएको बताए ।
‘कार्यदल बनिसकेपछि पनि उहाँले कार्यदलका सिफारिसहरूलाई स्वीकार गर्नुभएन,’ दाहालले बैठकमा भने, ‘कार्यदलले सहमतिबिना मन्त्रिमण्डल पुनर्गठन र कतिपय नियुक्ति नगर्ने भनेर कार्यदलले प्रस्ताव गरेर स्थायी समितिले स्विकारेको कुरासमेत मान्नुभएन, हत्केलाले चेपेर एकल निर्णय गर्नुभयो ।’ अध्यक्ष दाहालले अघिल्लोपटक स्थायी कमिटी बैठकमा पनि ओली पटक्कै आउन नमानेपछि आफू र महासचिव विष्णु पौडेलले लतार्दै बैठकमा सहभागी गराउनुपरेको जानकारी बैठकलाई गराए ।
अध्यक्ष दाहालले स्थायी कमिटी सदस्यहरूलाई दिएको जानकारीअनुसार गत भदौ २९ गते सहमतिको निर्णयसहित अन्तरपार्टी निर्देशन जारी गर्न ओली तयार थिएनन् । ‘स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नगर्ने कामको सुरुवात ओलीजीले नै गर्नुभयो,’ दाहालले बैठकमा भने, ‘त्यो बीचमा उहाँले राजदूत नियुक्त गर्नुभयो, मन्त्रिमण्डल विस्तार गर्नुभयो, कर्णालीमा समस्या आयो, रअका प्रमुख सामन्त गोयलसँग भेट्नुभयो,’ दाहालले भने, ‘यी विषयमा छलफल गर्न सचिवालय बैठक डाकौं भन्दा बैठक नै नबस्ने अडान लिनुभयो । बरु त्यही बैठक नै फुटको सुरुवाती बैठक हुनेछ भनेर चेतावनी दिनुभयो । बरु प्रवक्ताले दुई दुईपटक बैठकको माग गर्दै लेखेका पत्रहरूको नजरअन्दाज गर्नुभयो ।’
दाहालले ओलीकै सहमतिमा सचिवालयको अनौपचारिक बैठक बसेको र त्यही बैठकले औपचारिक बैठकका लागि सहमति दिन आग्रह गर्दै पत्र लेख्दा सहमतिको सट्टा तोक लगाएर आफूहरूको अपमान गरेको बताए । ‘केपीजीले उक्त पत्रमा प्रतिउत्तरको फायर ओपन गर्नुभएको हो, उक्त घटना नै यो अन्तरविरोधको कडी हो,’ दाहालले भने, ‘सचिवालय बैठककै छलफलमा भाग लिएपछि यहाँ आउन्न भन्न मिल्दैन । निष्कर्ष निकाल्न योगदान गर्नुपर्छ ।’
दाहालले पार्टीको अहिलेको अन्तरविरोध अध्यक्ष र प्रधानमन्त्री प्राप्तिका लागि नभएको भन्दै गणतन्त्र रक्षा र पार्टी एकतालाई बलियो बनाउन पद त्याग ठूलो कुरा नभएको उल्लेख गरे । स्थायी कमिटी सदस्यहरूलाई सबै प्रस्ताव वितरण गरेपछि आउँदो २८ गतेसम्मका लागि बैठक स्थगित भएको छ । यसबीचमा सहमतिका लागि औपचारिक/अनौपचारिक संवाद गर्ने नेताहरूले जनाएका छन् ।






