काठमाडौं। अफगानिस्तानमा एक शैक्षिक संस्थाबाहिर भएको आत्मघातीहमलामा कम्तिमा १८ जना मारिएका छन् । यो बिस्फोट उच्च शिक्षा सम्बन्धी थुप्रै कोर्सहरु पढाउने एक निजी संस्थाबाहिर भएको हो । शिया मुसलमान बाहुल्य इलाका दस्त–ए–बार्चीस्थित यस भवनमा आम रुपमा धेरै मानिसहरुको भिड हुने गरेको थियो ।
घाइतेहरुलाई अहिले अस्पताल लगिएको छ । मर्नेहरुको संख्या बढ्ने अनुमान छ । इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । यसअघि तालिवानले आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता तारिक एरियनले घटनाबारे भनेका छन्, ‘एक आत्मघाती हमलाकारी भवनभित्र छिर्ने कोसिसमा थिए । सुरक्षाकर्मीहरुले पहिचान गरेपछि उसले ढोकामै बिस्फोट गराइदियो ।’
हमलाको शिकार हुनेमध्ये धेरैजसो शैक्षिक संस्थामा भर्ना हुनका लागि भवनबाहिर प्रतिक्षा गरिरहेका विद्यार्थीहरु रहेको स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीलाई बताएका छन् । यी प्रत्यक्षदर्शीका अनुसार हमला भएको यस उनी घटनास्थलबाट झन्डै सय मिटरको दूरीमा थिए । पछिल्ला हप्ता अफगानिस्तानमा हिंसा बढ्दो छ । यसअघि हिंसाका केही घटनामा तालिवान पनि जोडिएको थियो ।
कतारको राजधानी दोहामा सरकार र तालिवानबीच चलिरहेको शान्तिवार्तामा हिंसाको असर पर्नसक्ने विश्लेषकहरुले बताएका छन् ।
अफगानिस्तानमा अतिवादी संगठनहरुले शिया समुदायलाई निशाना बनाउँदै आएका छन् । शिक्षण संस्थालाई निशाना बनाएर हमला गरिएको शनिबार पहिलो घटना होइन । अगस्ट २०१८ मा एक हमलाका दौरान ८४ जना मारिएका थिए । जसमध्ये अधिकांश विद्यार्थी थिए । यस घटनाको जिम्मेवारी पनि इस्लामिक स्टेटले नै लिएको थियो । त्यस्तै, यसै वर्ष मेईमा प्रसुती गृहमा गरिएको एक हमलामा २४ महिला र शिशुहरु मारिएका थिए । यसै साता एक धार्मिक स्कुलमा भएको हमलामा ११ बच्चा र उनीहरुलाई पढाउने धर्मगुरुको मृत्यु भएको थियो । एजेन्सी






