जर्मनीको वुप्पर्टल इलाकामा यस्तो रेल सेवा सञ्चालनमा छ, जुन झुण्डिएर चल्छ । सन १९०१ मा सुरु भएको यो रेल सेवाबाट दैनिक करिब ८० हजार नागरिकले यात्रा गर्छन् । रोचक कुरा त के भने सार्वजनिक यातायातका लागि यस्तो रेल सेवाको अहिलेसम्म विश्वका अन्य कुनै पनि देशले नक्कल गरेका छैनन् ।
यस रेल सेवाले एक शताब्दी पार गरिसके पनि गम्भीर दुर्घटना एक पटकभन्दा भएको छैन । सन १९९९ मा भएको सो दुर्घटनामा रेल वुप्पर नदीमा खसेको थियो । जसमा ५ यात्रुले ज्यान गुमाए । यस ह्याङ्गीङ ट्रेनको लम्बाई १३.३ किलोमिटर छ । यो नदीको ३९ फिट माथिबाट चल्छ । विजुलीबाट चल्ने यस ट्रेनलाई रोक्नका लागि २० स्टेसन बनाईएको छ ।
किन चलाईयो ह्याङ्गिङ ट्रेन ?
वुप्पर्टल सहर १९औं शताब्दीको अन्त्यसम्मा आफ्नो औद्योगिक विकासको चरममा पुगिसकेको थियो । सडक त थियो, तर पैदलयात्री र लगेजहरु गुड्याउनका लागिमात्रै । पूरै सहर बसिसकेको अवस्थामा जमिनमा ट्रेन चलाउन असम्भवप्राय: थियो । तब इञ्जिनियरहरुले ह्याङ्गिङ ट्रेनको अवधारणा ल्याए । सोही अवधारणामा यो रेल सेवा सुरु भयो ।