काठमाडौं । काभ्रेली समूहका गुण्डा सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटेको प्रहरीले उनलाई सोमबार राति लाजिम्पाटबाट पक्राउ गरेको हो ।
सत्यमान प्रहरीको ‘क’ वर्गको सूचीमा रहेका दावा लामाको आर्थिक कारोबार सम्हाल्ने ‘लेखापाल’ व्यक्तिको रुपमा काम गर्दै आएका छन् । प्रहरीले टार्गेट गरेपछि दावाले काठमाडौं छाडिसकेका छन् ।
सिक्किममा बस्ने दावाले भने बमोजिम सत्यमानले काठमाडौंमा गुण्डागर्दी गर्ने गरेको बताइएको छ । सत्यमानलाई प्रहरीले यसअघि पनि लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न रहेको अभियोगमा पटकपटक पक्रिसकेको थियो ।
काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा समेत संलग्न सत्यमानले गत वर्ष काभ्रे सिपालीका किसानको माला लुटेका थिए । प्रहरीले उनलाई रक्तचन्दन तस्करीमा पनि पक्राउ गरेर काराबाही गरेको थियो ।
महानगरीय अपराध महाशाखामा उनी विरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धम्क्याएर लुटेको उजुरी परेको छ ।






