काठमाडौं । तीन साताको दबाबपछि सरकारले चीनको हुपई प्रान्तबाट नेपालीको उद्धार गरेको छ ।
कोरोना भाइरस (कोभिड-१९) को उद्गमस्थल हुपईको वुहानसहित ६ सहरमा रहेका १७५ नेपाली शनिबार राति सवा १० बजे नेपाल वायुसेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं उडेका छन्।
यसअघि १८५ नेपालीले स्वदेश फर्कन बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएका थिए। तीमध्ये १० जना उतै छन् । चार जनामा ज्वरो देखिएपछि उनीहरूलाई फर्कन दिइएन ।
वुहानबाट फर्कन लागेका एक परिवारका तीनमध्ये एकजनालाई ज्वरो देखिएपछि उनका पत्नी र बच्चा पनि उतै बसेका हुन् ।
अन्य तीन जना वुहानबाहिरका हुन्। आवेदन दिएका चार भने नेपाल नफर्कने भनेर उतै बसेका छन्।
वुहानको विमानस्थलबाट १७५ जना (दुई बालबालिकासहित १३४ पुरुष र ४१ महिला) निगमको जहाजमा काठमाडौंतर्फ उडेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले टेलिफोनमा बताए।
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हपई प्रान्तको वुहानसहित चिङचौ, चिङमन, अनसी, संयान र यिछाङ सहरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, भ्रमणका लागि पुगेका दुई र एक कामदारले स्वदेश फर्कन आवेदन दिएका थिए ।