धादिङ । मैत्री महिला समूहको पहलमा धादिङको गल्छी गाउँपालिकाको पश्चिमी ग्रामीण भेग सागिनेमा हिजो गलैँचा कारखाना स्थापना भएको छ । आफ्नो पहिलो वार्षिक साधारण सभाको सु-अवसर पारेर गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले नेपाली उनि गलैँचा बुनाई तालिमको उद्घाटन गर्नुभएको हो ।
भक्तपुरको बि.बि.पि.ए. कार्पेट उद्योगको लगानीमा सन्चालन गरिने उक्त तालिमले सय जनाभन्दा बढीलाई रोजगारी दिने अपेक्षा गरिएको छ । ग्रामीण समुदायका महिलाहरु र यहाँको जीवनस्तरलाई उकास्ने उद्देश्यले आफूहरुले आफ्नो निजी श्रोत साधन मार्फत यस्तो कार्यक्रम ल्याएको उद्योगका सन्चालक प्रमुख नवराज के.सी.ले बताउनुभयो ।”यस समुदायमा बेरोजगारीहरुलाई नि:शुल्क तालिम दिई केही सीप आर्जन गरि गाउँमै रोजगार प्रदान गरेर महिला पुरुष सबैलाई स्ववालम्भी बनाउने हाम्रो उदेश्य रहेको छ”, उहाँले बताउनुभयो । अहिलेसम्म उहाँले धादिङसहित अन्य ९ जिल्लामा गलैँचा तालिमका लागि लगानी गरिएको जानकारी दिनुभयो । त्यस्तै विभिन्न जेलमा रहेका कैदीबन्दीहरुलाई पनि जेलभित्रै गलैँचाबाट रोजगारी दिँदै आइरहेको बताउनुभयो ।
यसैगरी कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले पनि गाउँपालिकाको तर्फबाट आफुले जतिसक्दो जुनसुकै बेला यस्ता कार्यहरुलाई सहयोग गर्ने बताउनुभयो । मैत्री महिला समूहले गर्दै आईरहेका जुनसुकै कार्यक्रमहरु निकै सराहनीय रहेको बताए ।”हामी हाम्रो गाउँपालिकाको तर्फबाट यस गलैँचा तालिमलाई अझ मजबुत बनाउन अभ्यास गर्नेछौँ,यहाँका जनसमुदायलाई यहीँ रोजगार दिई बेरोजगारी मेट्ने हाम्रो प्रतिबद्धता छ,यहीँ गलैँचाबाट अझ धेरैलाई रोजगार दिनेछौंँ”,उहाँले भन्नुभयो । यस्तै यस गलैँचा बुनाई तालिमका पूर्व तेक्वान्दो खेलाडी प्रशिक्षक जगत तामाङलाई विशेष धन्यवाद व्यक्त गर्दै आफूले व्यक्तिगत वा गाउँपालिकाले सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।यसैगरी मैत्री महिला समूहकी अध्यक्ष आइतीमाया तामाङले पनि महिला र पुरुष दुबै मिलेर समुदायलाई बेरोजगारी मुक्त बनाउने र महिलाहरु सबैलाई सशक्त बनाउनेमा महिला पुरुष दुबै अगाडि बढ्नुपर्ने आवस्यक रहेको बताउनुभयो ।