काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा मिटरब्याजपीडित (अनुचित लेनदेन)को माग सम्बोधनका लागि सरकार गम्भीर हुनुपर्ने आवाज उठाइएको छ ।
केही समययता बढेका आत्महत्याका घटनाप्रति गम्भीर हुन, किसानलाई समयमा मलको व्यवस्था गर्न र सुकुमबासीको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
बैठकको शून्य समयमा सांसद लीमा अधिकारी आचार्यले मिटरब्याज पीडितको समस्या समाधानका लागि गम्भीर भएर सरकार लाग्नुपर्ने बताए ।
सांसद विपिनकुमार आचार्यले कुनै पनि सरकारले राज्यसत्ता सम्हालेको १०० दिनपछि सरकारको समीक्षा हुने अभ्यास रहेको बताउँदै संसदबाट पनि हालसम्म भएका कामको समीक्षा गरिनुपर्नेमा जोड दिए ।
सांसद सन्तोष राजवंशीले राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्न र समृद्धिका निम्ति योगदान गर्न प्रतिबद्ध रहेको बताए ।
सांसद सन्दीप रानाले उहाँले अस्थायी र करार कर्मचारीको रोजगारीको सुनिश्चितता हुनुपर्ने बताए ।
सांसद समीक्षा बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजनीतिक गतिविधि नगर्ने र स्वतन्त्र प्रेसप्रति पूर्ण प्रतिबद्ध रहने स्पष्ट गरे ।
सांसद बोधनारायण श्रेष्ठले काठमाडौँ उपत्यकामा सञ्चालन हुने सवारी साधनको नवीकरण हचुवाका भरमा नगर्न आग्रह गरे ।
सांसद विक्रम खनालले खेल पूर्वाधारका लागि नवलपरासीमा जग्गा रहेकाकाले लगानी गर्न आग्रह गरे ।
सांसद शम्भुकुमार यादवले लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई पालना गर्दै प्रेस स्वतन्त्रतामा कतैबाट हस्तक्षेप हुन नहुने बताए ।
सांसद क्षितिज थेवेले ताप्लेजुङ जिल्ला विपद्को उच्च जोखिममा रहेकाले पूर्वसचेतना अपनाउन आग्रह गरे ।
सांसद ज्ञानु पौडेलले पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ध्यान दिन माग गरे ।
सांसदहरु लक्ष्मीप्रसाद पोखरेल, शम्भुप्रसाद ढकाल, शोभा खनाल, लालविक्रम थापा, श्रीराम न्यौपाने, सन्तोष सुब्बा, समिना मियाँ, सरस्वती लामा, सागर भुसाल, सीताराम साह, सृजना श्रेष्ठ, सुनील केसी, सुरेशकुमार चौधरी, सीता थपलिया, सुशीलकुमार कानु, सुशील खड्का, सुशीला ढकाल, सुषमा स्वर्णकार, सृष्टि भट्टराई, हरिनादेवी कामी, हरिमोहन भण्डारी, हरिप्रसाद भुसाल र ज्ञानेन्द्रसिंह महताले समसायिक विषयमा सरकार र सदनको ध्यनाकर्षण गराए ।





