काठमाडौँ, काठमाडौँ महानगरपालिका७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन् । सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने भएका छन् ।
गत शुक्रबार सुस्मिना काफ्ले भित्तामा चित्र कोरिरहनुभएको थियो । एक हातले रङको डब्बा र अर्को हातले ब्रस चलाउँदै स्वयम्भूलाई आफ्नै स्कुलको भित्तामा उतारिरहनुभएकी काफ्लेले भने, “मलाई भित्तामा चित्र बनाउँदा आनन्द आइरहेको छ, सुरुमा प्राविधिक कुरा सिक्यौँ, अहिले फिल्डमै भित्तामा चित्र बनाइरहेकी छु, यसले कला सिक्ने मेरो चाहना पूरा गरिदिएको छ ।”
यहाँका विद्यार्थीले समूह बनाएर फोहर भित्ता सजाएका छन् । समूहमै सहभागी भएर चित्र कोरिरहेका भानु साउद भन्छन, “भित्तामा चित्र कसरी बनाउने, आउटलाइन कसरी तान्ने, रङ कसरी भर्ने ? सबै सिकेपछि चित्र कोर्न थालेका हौँ ।”
केही विद्यार्थीले छेउमै बालबालिका खेल्दै गरेका चित्र बनाए । उनीहरुले बनाएको अर्काे भित्तेचित्रमा फूलमा मौरी घुमिरहेको थियो । अर्काे चित्रमा नेवारी महिला र धिमे बाजा देखिन्थ्यो । मुख्यगरी जनजीवन, संस्कृति र सम्पदालाई उनीहरुले भित्तामा सजाएका थिए । सिकाइरहेका कलाकार रोजन खड्काले ४ देखि ८ कक्षाका विद्यार्थीलाई शिक्षामा सीप कार्यक्रमअन्तर्गत कला शिक्षा दिइरहेको बताए । हरेक शुक्रबार यसरी नै सिकाइने गरिएको उनि बताउछन् ।
शिक्षिका विन्देश्वरी महर्जन उक्त स्कुलमा पहिलोपटक यो कार्यक्रम चलाएको र यसलाई निरन्तरता दिन सके राम्रो हुने बताउनुहुन्छ । “विद्यार्थीले सिक्न चासो दिएका छन्, यसलाई विद्यालयको पाठ्यक्रममै राख्नसके राम्रो हुन्थ्यो,” उनले भने ।
काठमडौँ महानगरपालिकासँग मिलेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले उक्त शिक्षामा सीप कार्यक्रम चलाउँदै आएको छ । गत वर्ष चलाएको कार्यक्रम प्रभावकारी देखिएपछि यसवर्ष पनि यसलाई निरन्तरता दिइएको हो । विगतमा त्यसरी बनाएका कला प्रतिष्ठानमा प्रदर्शनीसमेत गरिएको थियो । उनीहरुका चित्र व्यावसायिक चित्रकारका जस्तै देखिन्छन् ।
काठमाडौँ–६ महाङ्कालस्थित जनकल्याण माविका विद्यार्थी पनि कला सिर्जनामा रमाउँदै आएका छन् । उनीहरु कक्षा कोठामै बसेर आर्ट पेपरमा थरीथरीका चित्र कोर्दै गरेका भेट्टिए । कक्षा ९ र १० का ३० विद्यार्थी उक्त कार्यक्रममा सहभागी छन् । महेन्द्र तामाङ र दीपक आउजीले यहाँ विद्यार्थीलाई कला सिकाइरहनुभएको छ । उक्त विद्यालयको कला फोकल शिक्षक दीपक घिमिरे यस्ता कार्यक्रमबाट विद्यार्थीले सिर्जना तिखार्ने अवसर पाउने बताउछन् ।
यस्तै, महेन्द्र बौद्ध मावि, बौद्धका विद्यार्थीहरु चन्द्र मगर, अर्पण लामा, दावा शेर्पा र जीवन लामा माटोबाट बौद्ध स्तुपा बनाइरहेका थिए । उनीहरुसहित २४ विद्यार्थीले माटोमा आकार दिइरहेका थिए । पन्ध्र दिनको सिकाइमा उनीहरु विभिन्न चित्राकृति र मूर्ति बनाउन सक्ने भएका छन् । स्कुलका शिक्षक खेमनाथ सापकोटा यो कार्यक्रमले विद्यार्थीको सिर्जनात्मक क्षमताको विकास भएको बताउछन् ।
“रङमा खेल्दा विद्यार्थीले रमाउँदै सिक्ने अवसर पाएका छन्, यस्ता कार्यक्रम आवश्यक छन्, पढाउँदा जबर्जस्ती गर्नुपर्ने जस्तो लाग्ने, तर यो काम भने उनीहरु आफै सिक्न खोज्ने देखिए, यस्ता कर्याक्रमबाट सिकाइ प्रभावकारी हुन्छ,” शिक्षक सापकोटाले भन्ुनभयो ।
यसैगरी, विद्यार्थीले टङ्गला स्कुलमा पनि भित्ते चित्र बनाएका छन् । पीपलको रूखमुनि गौतमबुद्ध बसिरहेका सुन्दर भित्ते चित्रसहित प्रकृति र जनजीवनका चित्र उनीहरुले बनाएका छन् । विद्यार्थीहरु कला सिर्जना गर्न पाएकामा खुसी र उत्साहित देखिएका छन् । यसले भविष्यमा उनीहरुलाई बाटो देखाउन सहज हुने विश्वास गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौरगङ्गा दर्शनधारी महानगरको शिक्षा र सीप कार्यक्रमअन्तर्गतको विद्यार्थीहरुले कला सिकिरहेको बताउनुहुन्छ । विद्यालयतहबाटै कला सिकाउनु पर्छ भन्ने प्रतिष्ठानको उद्देश्य रहेको सुनाउँदै उनले यसलाई एउटा छुट्टै कोर्सका रुपमा विकास गर्न जरुरी रहेको बताए ।
काठमाडौँ महानगर र ललितकला प्रज्ञा–प्रतिष्ठानबीच सम्झौता भएर यो कार्यक्रम सुरु भएको हो । यो कार्यक्रमले आर्टलाई तल्लो तहबाटै जानकारी दिनुपर्छ भन्ने उद्देश्य महानगरले पूरा गरिदिएको प्रतिष्ठानले जनाएको छ । अहिले २६ स्कुलका विद्यार्थी भित्तेचित्र कोर्न सिकिरहेका छन् भने १७ विद्यालयका विद्यार्थी चित्रकला र मूर्तिकला सिकिरहेका छन् । हरेक विद्यालयमा २० देखि ३० विद्यार्थी कार्यक्रममा सहभागी भएका छन् ।






