देउखुरी। प्रहरीले अमिलियाबाट राजस्व नतिरेको अवैध यार्सागुम्बासहित एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ निवासी ४८ वर्षिय शिवचन्द्र बुढा रहेका छन् ।
प्रहरीका अनुसार साेमबार दिउँसो २ बजे लु ५४ प ७८२७ नम्बरको माेटरसाइकलबाट शिवचन्द्र बुढाले लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी ४५ वर्षिय आशा कुमाललाई ठक्कर दिई घाइते बनाएका थिए । उक्त सुचना पाएपछि इलाका प्रहरी कार्यालय अमिलियाबाट प्रहरीको टाेलि घटनास्थलमा पुगेको थियो ।
माेटरसाइकल चालकले लुकाइराखेको झाेला खानतलासी गर्दा आधा किलाे यर्सागुम्बा, कस्तुरीकाे विना जस्तो देखिने (प्लास्टिकको डिब्बामा ९८ वटा स-साना दानाहरू अत्तरकाे सुगन्ध आउने) र माेटरसाइकल बरामद गरि डिभिजन वन कार्यालय दाङ, देउखुरीलाई बुझाइएको छ ।
डिभिजन वन कार्यालय दाङ, देउखुरीका सिनियर डिभिजन वन अधिकृत महेन्द्र राज वाग्नेले अनुसन्धान गरि वन ऐन २०७६ बमाेजिम आवश्यक कार्वाही गरिने बताउनुभयो ।
यता डिभिजन वन कार्यालय दाङ, देउखुरीका वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालले पक्राउ परेका शिवचन्द्र बुढालाई आवश्यक अनुसन्धान सुरु गरिएको बताउनुभयो ।।






