देउखुरी ।
वन क्षेत्रमा पाइने जैविक विविधता तथा वनस्पतिको संरक्षण गर्दै यसको सही सदुपयोग गर्न आवश्यक रहेकोमा जोड दिइएको छ । जैविक विविधताको संरक्षण र सदुपयोग आवश्यक भएकोमा जोड दिइएको छ । जैविक विविधता अन्तर्गत वन क्षेत्रमा पाइने जडीबुटीको संरक्षण साथै सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
वन क्षेत्रमा उपलब्ध वनस्पति अर्थात् जडीबुटीको सही सदुपयोगले स्थानीयको जीविकोपार्जनमा सहजता ल्याउने भएकाले संरक्षण साथै सदुपयोग गर्न आवश्यक रहेको डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्ले बताउनुभयो । उहाँले बहुमूल्य वनस्पति जडीबुटीको अवैध संकलन हुने गरेको साथै सही सदुपयोग नहुँदा स्थानीय उपभोक्ता लाभ लिनबाट वञ्चित रहेको बताउनुहुदैँ उहाँले जैविक विविधताको संरक्षणमा क्रियाशील सामुदायिक वन उपभोक्ता समूह थप जिम्मेवार बन्दै विविधताको दिगो संरक्षण र सदुपयोग गर्ने कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सो कार्यले स्थानीय समुदाय तथा उपभोक्ताको जीविकोपार्जनमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्ले ग्रिनपार्कको अवलोकन गर्नुभएको छ । डिभिजन वन कार्यालय नवलपरासी पश्चिमबाट सरूवा भइ डिभिजन वन कार्यालय दाङ, देउखुरी लमही आउनु भएका सिनियर डिभिजनल वन अधिकृत वाग्ले अजम्मरी सामुदायिक वन उपभोक्ता समुहद्वारा संचालित जैविक विविधता ग्रिनपार्कको बिहीबार स्थलगत अवलोकन तथा निरिक्षण गर्दै जैविक विविधताको संरक्षण र सदुपयोगले उपभोक्ताको जीविकोपार्जनसँगै आत्मनिर्भर बन्नमा टेवा पुग्ने बताउनुभयो । जैविक वनस्पति जडीबुटीको सही सदुपयोग हुन नसक्दा यसबाट हुने लाभ वा फाइदा गुमाइरहनुपरेको बताउनुभयो ।
उहाँले नेपालको वन क्षेत्रअन्तर्गत तराई, पहाड र हिमालमा गरिने क्रियाकलाप तथा नीतिगत व्यवस्था एकै किसिमको रहेकाले सहजगरी काम गर्नमा पनि समस्या रहेको बताउनुभयो । तराई क्षेत्रको वन व्यवस्थापन र सदुपयोग तथा पहाड र हिमाली क्षेत्रको वनको व्यवस्थापन तथा सदुपयोगमा फरक–फरक नीतिगत व्यवस्था हुन आवश्यक रहेको पनि उहाँको भनाइ छ । भूगोल र भू–बनावटका आधारमा फरक–फरक नीतिगत व्यवस्था साथै संरक्षण र सदुपयोग प्रणाली पनि छुट्टै भएमा सम्बन्धित क्षेत्रका उपभोक्ताले बढीभन्दा बढी फाइदा लिनसक्ने पनि उहाँले बताउनुभयो । वन क्षेत्रमा बहुमूल्य वनस्पति जडीबुटी पाइने भए पनि सदुपयोग न्यून हुँदा पाउनुपर्ने लाभ वा आम्दानी गुमिरहेको बताउनुभयो ।
पार्क अवलोकन तथा निरिक्षण कार्यक्रममा अजम्मरी सामुदायिक वन उभापोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाल, देउखुरी लमहीका सहायक वन अधिकृत रामगोपाल चौधरी, सव–डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत विश्वजंग विक, समुहका कोषाध्यक्ष तेजबहादुर, पत्रकार शिवु खनाल, कार्यालय सचिव सुीमा नेपालीलगायत उपभोक्ता समूहहरूका प्रतिनिधि लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।
जैविक विविधताको महत्व
जैविक विविधता मानव जीवन र अस्तित्वको आधार हो । वास्तवमा जैविक विविधताकै कारण हाम्रो पृथ्वी सजीव ग्रह तथा बस्नयोग्य ग्रह बनेको हो। जैविक विविधताको महत्व बहुआयामिक रहेको छ र यो प्रकृतिबाट प्राप्त गर्ने वस्तु तथा सेवाको स्रोत हो । वातावरणीय सन्तुलन, पानीको प्राकृतिक शुद्धीकरण, प्रदूषण नियमन, रासायनिक पदार्थको शोषण, जलचक्रको सन्तुलन, प्राणवायु उत्पादन, कार्बन सञ्चिति, बाढीपहिरो नियन्त्रणजस्ता वातावरणीय प्रणालीका लागि जैविक विविधताको अहम् भूमिका रहन्छ । जैविक विविधता पर्यावरणीय सेवाको एक प्रमुख अङ्ग हो ।
जोखिममा जैविक विविधता
एकातिर जलवायु परिवर्तनका कारण प्राणी तथा वनस्पतिका लागि वातावरण प्रतिकूल बनिरहेको छ भने अर्कोतिर बासस्थानको विनाश र प्राकृतिक साधनको दोहनका कारणले जैविक विविधता संकटमा परिरहेको छ । संयुक्त राष्ट्रसंङ अन्तर्गतको जैविक विविधता तथा पर्यावरणसम्बन्धी अन्तरसरकारी विज्ञान–नीति मञ्चको एक रिपोर्टअनुसार रैथाने प्रकारका स्थलजीवका प्रजातिको सङ्ख्यामा सन् १९०० यता कम्तीमा २० प्रतिशतले गिरावट आएको छ भने ४० प्रतिशत उभयचरका साथै एक तिहाइ सामुद्रिक जीवका प्रजाति खतरामा परेका छन् । पृथ्वीमा पत्ता लागेकामध्ये २४ प्रतिशत स्तनधारी र १२ प्रतिशत चराका प्रजाति लोप हुने खतरामा छन् ।