जोहानेसबर्ग । दक्षिण अफ्रिकामा लागू हुँदै आएको आपतकालको औपचारिक अन्त्य भएको छ । कोरोना भाइरसको महामारीका कारण लागू गरिएको आपतकाल अहिले महामारी कम हुँदै गएकाले अन्त्य गरिएको सरकारले जनाएको छ ।
राष्ट्रपति सिरिल रामाफोसाले सोमबार मध्यरातदेखि आपतकाल अन्त्य भएको घोषणा गरेको हो ।
“अहिले महामारी बढी रहेको छैन, भाइरस फैलिने क्रम पनि निकै कम भएको छ, यसको डर त्रास पनि देखिएको छैन, त्यसैले अहिलेलाई आपतकालीन अवस्थाको अन्त्य गरिएको छ,” उनले भने ।
राष्ट्रिय स्वास्थ्य ऐन मार्फत नै अहिलेको स्वास्थ्य अवस्थाको व्यवस्थापन हुने भएकाले आपतकालको आवश्यकता नरहेको उनको भनाई छ ।
टेलिभिजन मार्फत देशका नाममा सम्बोधन गर्दै उनले आपतकाल लागू गरिएको ७५० दिन पछि आपतकालको अन्त्य गरिएको जानकारी दिए ।
दक्षिण अफ्रिकामा सन् २०२० को मार्च देखि आपतकाल लागू गरिएको थियो । आपतकाल लागू गरिएका बेला सरकारलाई धेरै काममा थप अधिकार दिएको थियो भने कतिपय निर्णय तथा काम गर्न छोटो प्रक्रिया बनाइएको थियो ।
कोरोना भाइरसको महामारीबाट अत्यन्त धेरै प्रभावित दक्षिण अफ्रिकी मुलुकहरू मध्ये अग्रस्थानमा रहेको दक्षिण अफ्रिकामा अहिलेसम्म कोरोनाका कारण एक लाख ५२ जनाको मृत्यु भएको छ । त्यसैगरी ३६ लाख ६७ हजार ५६० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।






