हुमकलाको कार्यशैलीले काभ्रेका सर्वसाधारण हैरान !

उज्यालो प्रतिनिधि १० चैत्र २०७८, बिहीबार मुख्य नेटवर्क

काभ्रे । केही महिनाअघिबाट काभ्रे जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुमकला पाण्डेको कार्यशैलीले काभ्रेका सर्वसाधारण हैरानीमा परेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको जोखिमपूर्ण समयमा सफलतापूर्वक भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरेकी पाण्डे काभ्रेमा भने जिम्मेवारी सम्हालेलगत्तै विवादमा तानिएकी हुन् । प्रजिअ पाण्डेले सर्वसाधारणलाई हैरानी बनाउन ‘हाकिमी शैली’ देखाएको सर्वसाधारणको गुनासो छ ।

अवैध रुपमा प्रशस्त मात्रमा क्रसर उद्योग सञ्चालनमा रहेको काभ्रेमा त्यसतर्फ ध्यान नै नदिई सिडिओ पाण्डे अहिले सर्वसाधारणलाई हैरानमा पार्न व्यस्त बनेकी छिन् । नागरिकता र शैक्षिक प्रमाणपत्रमा नाम/थर नमिलेको जस्ता समस्य हल गर्न सिडिओले सिफारिस नदिने, वडाबाट ल्याएको सिफारिसलाई समेत यो वा त्यो बहानामा फिर्ता पठाएपछि सेवाग्राही सिडिओ पाण्डेसँग रुष्ट बनेकी छन् ।

जिल्लाको महाभारत, तेमाल, खानीखोला, चौरिदेउराली लगायतका ठाउँहरुबाट घण्टौँ लगाएर सेवा लिन आएका सेवाग्राहीहरुलाई वडाले दिएको सिफारिसको व्यहोरा नमिलेको भन्दै सिडिओ पाण्डेले फर्काउने गरेका सर्वसाधारणहरु अहिले कार्यालय गेटअगाडि दैनिकजसो भेटिन थालेका छन् ।

तेमाल वडा नं. ६ का संगिता तामाङ (नाम परिवर्तन) अध्ययनको लागि विदेशमा जाने तयारीमा छिन् । तर उनको नागरिकतामा तामाङ र शैक्षिक प्रमाणपत्रमा लामा हुँदा उनले विदेशमा गएर पढ्न जान पाइरहेको छैन । शैक्षिक प्रमाणपत्रमा पनि नागरिकताअनुसार थर परिवर्तन गर्नको लागि जिल्ला शिक्षा कार्यालय भक्तपुरमा सबै डकुमेन्ट बोकेर पुग्दा सम्बन्धित जिल्लाको सिडिओको सिफारिस माग गरियो ।

सिडिओ पाण्डेलाई आफ्नो सबै परिस्थिति भनेर एउटा सिफारिस लेख्न अनुरोध गर्दा उनले वडाको सिफारिस माग गरिन् । तर, वडाको सिफारिस लिएर आउँदा उनले यो सिफारिस भएन भन्दै फर्काइदिइन् ।

‘वडाले नागरिकताको संगिता तामाङ (नाम परिवर्तन) र शैक्षिक प्रमाणपत्रको (संगिता लामा) एउटै हो भनेर सिफारिस दिएर पठाएको थियो, विद्यालयले पनि सबै सिफारिस दिएर पठाएको थियो, तर, सिडिओले सबै डकुमेन्ट हेरेर पनि अहिले यो काम हुँदैन भनेर उल्टै थर्काएर पठाउनुभयो ।’ ती सेवाग्राहीले उज्यालो नेटवर्कसँगको कुराकानीमा भने ।

उनले थपिन्, ‘काभ्रेले एउटी महिला सिडिओ पाउनुमा हामी नारीहरुले गर्व गर्नुपर्ने हो तर समस्यामाथि समस्या थप्ने, सेवाग्राहीलाई दुख दिने नियत भएका महिला सिडिओसँग हामीले के अपेक्षा गर्ने ? महिला सिडिओ पायौँ भनेर कसरी गर्व गर्ने ?’

यस विषयमा सिडिओ कार्यालय धुलिखेलमा गएर हामीले बुझ्दा सिडिओ पाण्डेले शैक्षिक प्रमाणपत्रको नाम र थर सच्याउनको लागि ६ महिना नाघेपछि आफुले सिफारिस दिन नमिल्ने बताइन् । ‘कानुनले मिल्दैन भनेपछि मिल्दैन, मैले कानुनअनुसार सिफारिस गर्ने हो ।’ उनले भनिन् ।

अर्का एकजना सेवाग्राही रिजन थापाले (नाम परिवर्तन) भने, ‘यो भन्दा दुई वर्ष अगाडि मेरो साथीको नागरिकताको नाम र शैक्षिक प्रमाणपत्रमा फरक नाम हुँदा पछि सच्याए, तर त्यस्तै समस्या मेरो भाईको पनि भएर आज वडाको सिफारिस लिएर आउदा पनि सिडिओले सिफारिस दिन मान्नुभएन, यो कस्तो दम्भ बोकेको सिडिओ हो, बुझ्नै सकिएन ।’

सेवा लिनका लागि सिडिओ कार्यालयमा आएका अधिकांश सेवाग्राहीले सिडिओ पाण्डेले अनावश्यक दुख दिएको, साधारण सिफारिस दिन पनि नमान्ने, विभिन्न कार्यविधि देखाएर घन्टौ लगाएर आएको सेवाग्राहीलाई केही बोल्नै नदिने जस्ता व्यवहार देखाउने गरेको गुनासो गरेका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार