कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउने अभियानमा चाँगुनारायण

उज्यालो प्रतिनिधि १० फाल्गुन २०७८, मंगलवार कोरोना [Covid-19] विशेष

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ । यस नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो खोप पूरा गराएर कोरोनाविरुद्धको पूर्णखोपयुक्त पालिका घोषणा गर्न अभियान सुरु गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने उद्देश्यले नगरपालिकाले घरधुरी सर्वेक्षणसमेत सुरु गरेको छ । नगरपालिकामा रहेका ७२ स्वयंसेवक र ७२ स्वयंसेविका गरी १४४ जनालाई नौवटै वडामा खटाएर नगरपालिकाले खोप लगाउन कोही छुट भएका छन् कि छैनन्, सबैले पहिलो र दोस्रो मात्रा खोप लिएकी लिएनन्, नलिएका छन् भने तत्कालै खोप लगाउने व्यवस्था नगरपालिकाले गरेको छ ।

“चाँगुनारायण नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ सबै वडामा खोप अभियान चलाएको छ, अहिलेसम्मको तथ्याङ्कानुसार यस पालिकामा १०४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको पूर्ण खोप पाइसकेका छन्”, नगरप्रमुख मिश्रले भने, “खोप लगाउन अझै कोही छुटेका छन् भने उनीहरूलाई पनि खोप लगाएर यहीँ फागुन २७ गते नगरपालिकाको स्थापना दिवसका दिनमा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नेछौँ ।”

नगरपालिकाले खोप लगाउन छुटेका अपाङ्ग, असाहय, ज्येष्ठ नागरिक, स्वास्थ्य केन्द्रसम्म जान नसक्नेलाई घरघरमै स्वास्थ्यकर्मी पठाएर खोप लगाउने र स्वास्थ्य संस्थासम्म आउन सक्नेलाई त्यहीँ ल्याएर खोप लगाउने व्यवस्था गरेको उनको भनाइ छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले नगरपालिकामा स्थायी, अस्थायी र बसाइँसराइ गरी आएका नागरिकलाई समेत खोपको व्यवस्था गरिएको जानकारी दिए । पर्यटकीय क्षेत्र भएकाले यहाँ आएका विदेशी नागरिकलाई समेत खोपको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

नगरपालिकाले अस्थायीरूपमा बसेका इँटाभट्टाका कामदार, १२ वर्षमाथिका बालबालिका एवं कामदारलाई समेत भट्टामै गएर खोप लगाउने व्यवस्था गरिएको जानकारी दिँदै उनले कोही पनि नागरिक खोपबाट बञ्चित हुन नपरोस् भनेर अभियान सञ्चालन गरिएको उनले बताए । चिकित्सकले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन भनेर भनेकाबाहेक सबै नागरिकलाई खोपको व्यवस्था गरिएको भन्दै उहाँले दोस्रो मात्राको खोप पूरा गरेकाहरूलाई तेस्रो मात्रा अर्थात् बुस्टर खोपसमेत लगाउन थालिएको बताए ।

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सत्यराम दुवालले यसअघि ७७ हजार जनसङ्ख्या रहेको यस नगरपालिकामा हालै सार्वजनिक गरिएको जनगणनाअनुसार ८८ हजार जनसङ्ख्या पुगे पनि अहिलेसम्म नगरपालिकाभित्र बसोबास गर्ने एक लाख पाँच हजार जनालाई पूर्ण खोप दिलाएको बताए । अबको चार दिनभित्र टोलटोलमा खटिएका स्वयंसेवकबाट खोपका बारेमा थप तथ्याङ्क आउने उनको भनाइ छ ।

नगरपालिकाले आगामी फागुन २७ गते नगरपालिकाको स्थापना दिवसमा एकैपटक कोरोनाविरुद्धको पूर्ण खोपयुक्त र बालमैत्री स्थानीय शासन लागू गर्दै बालमैत्री नगरपालिका घोषणा गर्ने नगरप्रमुख मिश्रले जानकारी दिए । बालमैत्री स्थानीय शासन लागू गर्नका लागि चालु आव २०७८/८९ का लागि नगरपालिकाले करिब एक करोड २० लाख बजेट खर्चिएर नौवटै वडामा बाल क्लब गठन, बाल सञ्जाल गठन, घरधुरी सर्वेक्षण, बालमैत्री विद्यालयलगायत सरकारले निर्धारण गरेको ५१ वटा सूचकहरु प्राप्तिका लागि प्रत्येक वडाका काम तीव्र पारेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार