एक करोड लिएर डेरराज गुरुङ युएईबाट फरार ! कसरी गर्थे युएईमा गैरकानुनी मनी लन्ड्रिङ ?

अनिस तामाङ १५ माघ २०७८, शनिबार मुख्य नेटवर्क

काठमाडौं । जनता समाजबादी पार्टीका नेता एवम् नेपाल आदिबासी जनजाति महासंघ युएईका पुर्व अध्यक्ष डेरराज गुरुङले झण्डै एक करोड रुपैयाँ ठगी गरी युएईबाट फरार भएका छन् । प्राप्त सुचनाअनुसार उनी भागेर नेपाल आइपुगेका छन् ।

भारतीय व्यापारी अरुण कुमार अग्रवाल र पवन कुमार अग्रवालद्धारा सञ्चालित एसियाटिक ट्रेडिङ एलएलसी र इन्टर एग्रो ट्रडिङ कम्पनीको  सम्पुर्ण जिम्मा लिएर एजेन्टको काम गरिरहेका गुरुङले लगभग एक करोड हाराहारीको रकम लिएर नेपाल फरार भएका हुन् ।

भारतको कलकत्तामा जुट कारखाना रहेका अग्रवालले अफ्रिकामा सामानहरु सप्लाइ गर्थे । भुक्तानी भने युएईमा रहेका आफ्नो एजेन्ट गुरुङ मार्फत गर्ने गरेका थिए ।

मार्च २०२० देखि कमिसन एजेन्टको रुपमा काम गरिरहेका गुरुङले आफ्ना मालिक अग्रवालको मन जितेर कम्पनीको सम्पुर्ण कारोबार आफैले सम्हाल्दै आइरहेका थिए । तर कोरोना महामारीका कारण अग्रवाल भारतमै फसेपछि त्यही मौकामा कम्पनीको पैसा बोकेर गुरुङ युएईबाट भागेर  नेपाल  आएका थिए ।

युएईबाट कसरी भाग्न सफल भए गुरुङ ?

युएईमा पहिचानवादी नेताको रुपमा चिनिने गुरुङ विभिन्न संघसंस्थाहरुको जिम्मेवार पदमा रहेकोले अग्रवालले पनि विश्वासिलो व्यक्ति ठानेर सबै जिम्मेवारी उनलाई सुम्पेका थिए ।

कोरोना महामारीको कारण अग्रवाल भारत फर्केपछि इन्टर एग्रो ट्रडिङ एफजेटई (Inter agro Trading FZE) कम्पनीले कपासको झोला आपूर्ति गर्ने नाममा २८ सेप्टेम्बर २०२१ मा कमर्शियल इनभ्वाइस नम्बर – (INTF-006/21-22) अन्तरगत ओस्मान सराग ट्रेडिङ इन्टरप्राइजेज (कन्साइनी बाहेक क्रेता Aldr Almason trading llc,Dubai UAE) सँग ४३९,७७६ दिर्हाम (एक करोड बयालिस लाख रुपैयाँ) मा सम्झौता भएको देखिन्छ ।

यसका लागि २१ सेप्टेम्बर २०२१ मा गुरुङले इमिरेट्स इस्लामिक बैंकबाट १५८,९८२ दिर्हाम  (झण्डै बाउन्न लाख रुपैयाँ)  (चेक नम्बर ०००१०५) भुक्तानी संकलन गरी इन्ट्रेगो कम्पनीको बैंक खातामा ईमान्दार पुर्वक जम्मा गरेपछि अग्रवालले गुरुङलाई झन पुर्ण विश्वास गर्न थालेका थिए ।

तर गुरुङले दोस्रो पटकको बाँकी रकम भुक्तानी गर्नको लागि  २६ सेप्टेम्बर २०२१ मा कम्पनीको खाता नम्बर नदिइ ‘पिपुल्स ट्राभल्स एण्ड टुर्स एलएलसी’ को बैंक खाता नम्बर दिएर २८०,७७८ दिर्हाम (९१ लाख ६२ हजार रुपैयाँ) रकम प्राप्त भएपछि उक्त रकम निकालेर उनी फरार भएका हुन् ।

गुरुङ फरार भएको दुई दिनपछि अग्रबाल २८ सेप्टेम्बर २०२१ मा दुबईमा आएर भुक्तानीको लागि एडिएलआर ( Adlr almason trading) कम्पनी संग सम्पर्क गर्दा गुरुङले रकम लिइसकेको थाहा पाए । गुरुङले एडीआइबी बैंकबाट रकम निकालेका थिए । यस विषयमा ट्राभल्स संचालक बाबुराम लोप्चनसंग कुरा गर्दा गुरुङले रकम निकालेको कुरा स्वीकार गरेका छन् ।

गुरुङ फरार भएको जानकारी पाएपछि बाबुराम लोप्चन आँफैले अल राफा प्रहरी चौकीमा गुरुङ विरुद्ध उजुरी गरेका थिए । मुद्दा नम्बर २२१००४२९०५६५ अन्तरगत गुरुङलाई केश दर्ता गरी युएई छाडेर भाग्न नदिन अध्यागमनको राहदानी रोकिदिएका थिए । लोप्चनले मेरो पैसा लिएर गुरुङ फरार भयो भनेर प्रहरीमा उजुरी समेत गरेका थिए ।

यही बिचमा अती जरुरी काम परेर अग्रवाल ३ अक्टोबर भारतमा फर्किनु परेको थियो । आफ्नो मुद्दा जारी राख्न अग्रवाल १७ अक्टोबर २०२१ मा दुबई फर्केर प्रहरी चौकीमा बुझ्न जाँदा ट्राभल्स संचालक बाबुराम लोप्चनले ‘गुरुङले मेरो सबै रकम फिर्ता दिइसक्यो’ भनी उजुरी फिर्ता गरेको थाहा पाए । त्यसपश्चात भने डेरराज गुरुङ उक्त रकम लिएर नेपाल आउन सफल भएका थिए ।

अग्रवाल आफैले किन गर्न सकेन प्रहरीमा उजुरी ?

भारतीय व्यापारी पवन कुमार अग्रवाल र अरुण कुमार अग्रवाल मिलेर युएईमा हुण्डी तथा मणी लन्ड्रिङको काम गरिरहेका थिए । अग्रवालको गैरकानुनी धन्दामा डेरराज गुरुङले कमिसनमा काम गरिरहेको देखिन्छ  ।

उनीहरुको कारोबार भारतबाट अफ्रिकी मुलुकमा भए पनि युएईमा रकम भुक्तानी लिनुको मुख्य उदेश्य नै हुन्डी तथा मनि लन्ड्रिङ गर्नको लागि हो । अफ्रिकाबाट युएई आएको पैसाले उनिहरुले भारतमा अबैध ढंगले सुन लैजाने काम गरेको स्रोतको दाबी छ ।

प्रहरीमा उनिहरुको नामबाट उजुरी गर्दा उनिहरुको रकमको स्रोत देखाउनु पर्ने तथा गैरकानुनी गतिविधि बाहिर आउने डरले ट्राभल्स संचालक बाबुराम लोप्चन मार्फत आफ्नो रकम असुल्ने दाउ अग्रवालको थियो तर लोप्चनले पटकपटक उनिहरुलाई प्रहरीमा उजुरी गर्नु भन्दा नगरेपछि गैरकानुनी धन्दाको पैसा रहेको चाल पाएका थिए ।

गुरुङले भारतीय ब्यापारी अग्रवालको काम गरे पनि लोप्चनकै कम्पनीको भिसामा रहेर काम गरिरहेका थिए ।

लोप्चनलाई प्रयोग गरेर अग्रवालले गुरुङबाट रकम असुल्न लागेको थाहा पाएपछि लोप्चनले प्रहरीबाट आफ्नो पैसा पाएको भनेर उजुरी फिर्ता लिए । लोप्चनकै कारण गुरुङ युएईबाट उम्किएपछि भारतिय व्यापारी अग्रवाल लोप्चनसँग रिसले चुर भए । त्यसपछि उनिहरुले दुईजनाकै मिलिमतोमा पैसा ठगेको भन्दै सामाजिक संजालमा गुरुङ र लोप्चनको फोटो राखेका थिए ।

के हो मनि लन्ड्रिङ ?

मनी लन्ड्रिङ भनेको कुनै गैरकानुनी गतिविधिबाट कमाइ हुने ठूलो मात्राको धनलाई बैध बनाउने अवैध प्रक्रिया हो । यो प्रकृयाबाट जस्तै लागूपदार्थको तस्करी वा आतंकवाद, हतियार किनबेच, भ्रस्टाचार आदि अबैध स्रोतबाट भएको कमाइलाई बैध बनाउने गरेको देखिन्छ। आपराधिक गतिविधिबाट प्राप्त पैसालाई फोहोर मानिन्छ र यसलाई सफा देखाउनको लागि नक्कली कागजपत्र बनाएर यसलाई बैध बनाइन्छ ।

मनी लान्ड्रिङ एक गम्भीर वित्तीय अपराध हो । धेरैजसो वित्तीय कम्पनीहरूले यस गतिविधि पत्ता लगाउन र रोक्नको लागि एन्टि-मनी-लान्ड्रिङ (AML) नीतिहरू बनाएका छन् ।

यसरी मनी लन्ड्रिङ भनेको अवैध रूपमा कमाइएका आम्दानीहरू कानुनी रूपमा देखा पर्ने प्रक्रिया हो । सामान्यतय यसले तीन चरणहरू समावेश गर्दछ: प्लेसमेन्ट, लेयरिङ र एकीकरण । र अवैधानिक कोषलाई वैध वित्तीय प्रणालीमा चुस्त रूपमा प्रस्तुत गरिन्छ।

अनुसन्धानले के देखाउछ भने भारतिय व्यापारीहरुले सेटिङमा विभिन्न कारोबारको नाउँमा अफ्रिकी देशहरुबाट पैसा युएई पठाउँथे । त्यो पैसाले पुनः युएईबाट अवैध रुपमा सुन भारत लैजाने काम गर्थे । यसको सबै सेटिङ गर्न युएईमा  कमिसन एजेन्टको रुपमा गुरुङले काम गरिरहेका थिए ।

गुरुङसँगै लोप्चन पनि शँकाको घेरामा !

बाबुराम लोप्चन अन्तराष्ट्रिय नेपाली समाज युएईका अध्यक्ष हुन । युएईमा बसेर लामो समयदेखि पिपुल्स टुर एण्ड ट्राभल्स सञ्चालन गरिरहेका उनी युएईमा समाजसेवीको रुपमा परिचित व्यक्ति हुन ।

त्यहाँका नियम कानुन देखि सबै कुरामा जानकार व्यक्तिले स्टाफको रुपमा काम गरिरहेका डेरराज गुरुङको लागि आफ्नो ट्राभल्सको बैंक खातामा अफ्रिकाबाट झण्डै नेपाली एक करोड पैसा ट्रान्स्फर गर्नु र त्यसको खोजिनिती नगर्नु आफैमा शंकाको विषय हो ।

करोडौं रुपैयाँ रकम किन हाम्रो खातामा हाल्ने ? के को आधारमा हाल्ने भनेर नसोध्नु, चेक डिपोजिट गरेर पैसा रिलिज गरिदिनु अनि लोप्चनको नाममाबाट प्रहरीमा भएको उजुरी पनि फिर्ता लिनु झन शंकास्पद देखिन्छ ।

गुरुङले बरदुबईको अल राफा प्रहरी चौकीमा गुरुङ विरुद्ध उजुरी गर्दै युएई छाडेर भाग्न नदिन अध्यागमनमा यात्रा प्रतिबन्ध गरिदिएका थिए । यदि लोप्चनले उक्त उजुरी फिर्ता नगरेको भए गुरुङ युएईबाट भाग्ने सम्भावना नै थिएन । गुरुङलाई भुक्तानी दिएको भिडियो हुदाहुदै पनि प्रहरीमा उक्त प्रमाण पेस नगर्नुमा मुख्य योजनाकार लोप्चन हुनसक्ने सरोकारवालाहरु बताउँछन् ।

यस विषयमा के भन्छन् लोप्चन ?

हामीले यस विषयमा ट्राभल्स संचालक लोप्चनसंग कुरा गर्दा डेरराज गुरुङ लामो समयदेखि आफ्नो स्टाफको रुपमा काम गरिरहेको स्वीकार गरेका छन् । U and Me General Trading llC कम्पनीमा काम गरिरहेको भए पनि उक्त कम्पनीबाट कारोबार गर्न केही प्राविधिक समस्य भएपछि गुरुङले पिपुल्स ट्राभल्सको खातामा केही पैसा आउने भनेपछि आफुले विश्वासमा ट्राभल्सको बैंक खाता प्रयोग गर्न दिएको बताए ।

भारतीय व्यापारीहरुको हुण्डी तथा तथा मनी लन्ड्रिङ जस्ता गैर कानुनी धन्दामा कमिसन एजेन्टको रुपमा काम गरिरहेको गुरुङलाई किन तपाईंले पनि स्टाफको रुपमा राख्नु भयो भन्ने प्रश्नमा उनले  यो सबै धन्दामा  गुरुङको संलग्नता छ भन्ने कुरामा  आफु  जानकार नभएको बताएका छन् ।

राजनीतिक आस्थाको हिसाबले एउटै पार्टीमा रहेको र लामो समयदेखि विभिन्न संघसंस्थामा सँगै काम गर्दै आएकोले मैले उहाँ माथि भरोसा गरेको हो । तर आज उनैको कारण विवादित हुने खतरा बढेको लोप्चनले बताए । साथै डेरराज गुरुङको यो बेइमानीमा आफ्नो कुनै संलग्नता नभएको उनले दाबी गरे । यो सबै कुरा थाहा पाएपछि केही दिन अघी गुरुङसँग बुझ्दा ‘आफु अग्रवालको कारोबारमा कमिसन एजेन्टको रुपमा काम गरिरहेको तर दुइचार महिना देखि आफनो कमिसन रोकेपछि आफुले पनि अग्रवाललाई ‘धोका दिएको’ बताए । त्यस पछि भने उनी हाम्रो सम्पर्कमा आउन चाहेनन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार