काभ्रे । नेपालकै दोस्रो बृहत सुख्खा क्षेत्र खानेपानी आयोजनाको रुपमा स्थापित तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ ।
काभ्रे जिल्लास्थित प्रतिनिधिसभा १ नम्बर क्षेत्रबाट निर्वाचित संघीय सांसद माननीय गंगा बहादुर तामाङ (बमध्वज)को नेतृत्वमा भएको अनुगमनको क्रममा निर्माणाधीन आयोजनास्थल पुग्दा उक्त आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएका बसन्त एण्ड चन्द कन्स्ट्रक्सनले अब मात्रै २० प्रतिशत काम मात्रै बाँकी रहेको जानकारी गराएका छन् ।
उक्त टोलीमा अनुगमनका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठ, जलवायु अनकुलित बृहत् खानेपानी आयोजनाका इन्जिनियर रामेश्वर घिमिरे, बसन्त एण्ड चन्द कन्स्ट्रक्सनको टिम, पत्रकार, राजनीतिक दलका नेताहरू पुगेका थिए ।
संघीय सांसद तामाङले तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी आयोजनामा भएको ढिलासुस्तीको विषयमा कम्पनीसँग बुझ्दा उनीहरुले आफ्नो तर्फबाट गर्नुपर्ने काम रात दिन खटेर गरिरहेको तर उक्त आयोजनाको १० प्रतिशत काम उपभोक्ता समितिले गर्नुपर्नेमा ढिलाई हुँदा समयमा पानी वितरण गर्न समस्या हुनसक्ने बताएका छन् ।
पुस २३ गते सांसद तामाङको नेतृत्वमा पुगेको टोलीले चुखाबेशि स्थित सुनकोसी किनारमा रहेको ट्याङ्कीहरुदेखि लिफ्टिङ प्रविधिमार्फत् याङमेल डाँडामा पुर्याएको वितरण केन्द्रको ट्याङ्कीसम्मको अनुगमन गरेका थिए ।
विश्वभर फैलिएको कोभिड–१९ र गत असार १ गते बाढीले आयोजनामा पुर्याएको क्षतिको कारण निर्धारित समयमा सम्पन्न गर्न नसके पनि अबको ३ देखि ४ महिना भित्रमा तेमालको जनताको घरदैलोमा खानेपानी पुर्याइ छाड्ने प्रतिबद्धताकासाथ उक्त आयोजनाको काम धमाधम भइरहेको छ ।
आयोजनाको विषयमा नेताहरू के के भने ?
अनुगमनको क्रममा आयोजना स्थल पुगेका माओवादी केन्द्रका नेता एवम् संघीय सांसद गंगा बहादुर तामाङले पत्रकारहरुसँग भने, ‘अब तेमालको जनताले सुनकोसीको पानी पिउने सपना पुरा हुने भएको छ, कुनै बेला हामीले सुनकोसीको पानी २१ सय मिटर अग्लो याङमेल डाँडामा तानेर त्यहाँका जनतालाई खुवाउने भनेर भन्दै गर्दा हामीलाई पागल भनेर भन्नेहरु कहाँ छन्, मलाई आजको दिनमा यो प्रश्न सोध्न मन लागेको छ ।’
अनुगमनकै लागि पुगेका युवा नेता डिल बहादुर थोकर (डिएम)ले यो आयोजना पूरा भएपछि छिमेकी जिल्ला तथा पालिकाले तेमाललाई हेर्ने दृष्टिकोण समेत फरक हुने बताए । उनले भने, ‘विगतमा तेमाल भन्ने बित्तिकै पानी नपाउने ठाउँ भनेर चिनिन्थे, अरु ठाउँको मान्छेले आफ्नो घरको छोरीचेली तेमालमा बिहे गरेर पठाउन संकोच मान्थ्यो, यहाँको वास्तविकता पनि उस्तै थियो । मान्छेले पिउन समेत पानी नभएपछि खेती किसान र गाईवस्तु पाल्ने स्थिति थिएन तर अब केही महिनामै सुनकोसीको आउने भएपछि यहाँका जनता निक्कै खुशि छन् ।’
त्यसैगरी उनले यो आयोजनाको परिकल्पनाकार एवम् सुरुवातकर्ता पुर्व राज्यमन्त्रि सुर्यमान दोङ (लालध्वज) दुर्गालाल तामाङ (प्रभात), हस्तबहादुर तामाङ लगायतलाई विशेष धन्यवाद समेत दिए ।
उक्त आयोजनाको सुरुवाती दिनमा माओवादीले ल्याएको आयोजना भनेर एमाले नेता गोकुल बाँस्कोटाको टोलीले पटक–पटक यो आयोजनाको नाम काट्न लगाएका थिए । पछि एमालेलाई नै उपभोक्त समितिको अध्यक्ष दिएपछि काम अगाडि बढ्न दिएका थिए ।
नेकपा माओवादी केन्द्र तेमाल गाउँपालिका अध्यक्ष समीर दोङले यो आयोजना तेमाली जनताको भाग्य र भविष्यसँग जोडिएको विषय भएकोले यसमा कसैले कुनै पनि किसिमको राजनीतिक पुर्वाग्रहपूर्ण चिन्तन बोकेर आयोजनामा ढिलाई गर्ने काम गरे जनताले नछाड्ने बताए ।
कम्पनी ८० प्रतिशत काम सकाउदा समितिको १० प्रतिशत काम लथालिङ्ग
उक्त आयोजनाको ८० प्रतिशत काम कम्पनीले सम्पन्न गर्दा समेत एमाले नेता संग्राम जित तामाङ अध्यक्ष भएको उपभोक्ता समितिले १० प्रतिशत काम सम्पन्न नगरेपछि यतिबेला स्थानीय स्तरमा समितिको आलोचना हुन थालेको छ ।
खानेपानी तथा ढल निकास व्यवस्थापन विभागका प्रमुख राजेन्द्र श्रेष्ठले पत्रकारहरुसँग भने, ‘यदि उपभोक्त समितिले गर्नुपर्ने १० प्रतिशत काम अर्थात ५० किलोमिटर पाइपलाइनको खाल्डो खन्ने काम समयमै सम्पन्न गरे अबको ३ महिना भित्र तेमालको घरघरमा पानी पुग्नेछ तर पटकपटक समितिलाई हामीले जानकारी गर्दा समितिले वास्ता गरिरहेको छैन ।’
उक्त आयोजना सम्पन्न हुँदा लगभग ८ हजार २ सय ७६ घरधुरीले लाभ लिनेछन् । कम्पनीले समितिलाई मेच्छेपौवो, डाँडागाउँ र धराडाँडामा वितरणको काम जिम्मा लगाइसकेका छन् ।
कम्पनीका अनुसार १० प्रतिशत काम सम्पन्न गर्नको लागि ५० किलो मिटर पाइपलाइन खन्नु पर्ने हुन्छ । जसका लागि लगभग २ करोड ११ हजार २ सय ६७ रुपैयाँ लागत लाग्नेछ । उपभोक्त समितिले गर्नुपर्ने काम कहिले र कसरी गर्ने भन्ने कुरा टुङ्गो लगाउन नसक्दा तेमालको जनताले पानी उपभोग गर्न नपाउने खतरा आइपरेको छ ।


समितिको लापरबाहीको कारण बस्ती र खेतियोग्य जमिन जोखिममा
तेमाल बृहत सुख्खाग्रस्त क्षेत्र तथा खानेपानी परियोजना निर्माणमा भएको लापरबाहीका कारण चुखाबेशीको बस्ती र खेतियोग्य जमिनमा जोखिम बढेको स्थानीयले आरोप लगाएका छन् ।
आयोजना अवलोकन तथा निरीक्षणका लागि पुगेका संघीय संसद सहितको टोलीलाई त्यहाँका स्थानीय बासिन्दाले ट्याङ्की निर्माणको क्रममा तल किनारको ढुङ्गा उत्खनन गरेको कारण नदि पसेर खेतहरु बगाएको र बस्ती समेत जोखिम भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
उक्त प्रभावित क्षेत्रका एक स्थानीयले उज्यालो नेटवर्कसँगको कुराकानीमा भने ‘हामीले समितिको अध्यक्ष संग्रामजित तामाङलाई त्यसरी खोलाको किनारको ढुङ्गा निकाल्दा हाम्रो बस्ती र खेत जोखिममा पर्छ यो काम रोक्नु भनेर अनुरोध गर्यौ, तर अध्यक्ष ज्युले उल्टो थर्काउनु भयो, हाम्रो कुरा सुन्नुभएन ।’
अर्का १०२ वर्षका वृद्ध स्थानीयले आफु मर्नुभन्दा अगाडि यो आयोजना सफल होस् भनेर आर्शिवाद दिँदै उनले भने ‘आयोजना सफल होस्, त्यस सँगसँगै आफु जन्मे हुर्केको थाकथलोको पनि संरक्षण होस्, यहाँ धेरै नेताहरू आएर नदिलाई रोक्न पक्की पर्खाल लगाइदिने वाचा गर्नु भएको छ, यत्ति काम गर्नु भए हामी स्थानीय खुशि हुनेछौं ।’
हामीले यस विषयमा उक्त आयोजनाका ठेकेदार बसन्त चन्दसँग बुझ्दा उनले तलबाट ढुङ्गा निकालेर माथि ट्याङ्की बनाएको स्वीकार गरेका छन् । उनले भने ‘हामीले तल किनारकै ढुङ्गा निकालेर माथि ट्याङ्की निर्माण गर्यौं तर हामीले उपभोक्ता समितिको अध्यक्ष संग्राम जित तामाङकै अनुमतिमा निकालेका हौँ, ढुङ्गा निकाल्ने क्रममा स्थानीयको विरोध आउँदा पनि समितिले केही नभनेपछि हामीले निरन्तर ढुङ्गा निकाल्यौ तर ढुङ्गा निकालेकै कारण यो क्षति भएको भने भन्न सकिन्न, किनभने यहाँ बाढी आउदा माथि इन्द्रवातीदेखि सबै ठाउँमा क्षति पुगेको छ ।’
यस विषयमा संघीय सांसद गंगाबहादुर तामाङसँग कुरा गर्दा त्यसरी तलबाट किनारको ढुङ्गा निकाल्न दिने काम समितिको गलत भएको र त्यहाँको खेतियोग्य जमिन तथा बस्ती संरक्षणको लागि विशेष पहल गर्ने बताएका छन् ।


उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।






