दाङ । वर्षाशुरु भएदेखि दाङको लमही नगरपालिका अन्र्तगतका ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे बनेको छ । नगरपालिका क्षेत्रका विभिन्न गाउँ जाने सडकको अवस्था अहिले बिजोग छ । ग्रामीण क्षेत्रका कच्ची सडक, त्यसमाथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण बनेको छ । वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै खाल्टाखुल्टीले हिलाम्मे भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ । भत्किएका र हिलाम्मे सडकमा जोखिम मोलेर भए पनि यातायातका साधन सञ्चालन गर्नुपर्ने र यात्रुहरुलाई पैदल नै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
सडकको अवस्था हेर्दा खेतमा रोपाई गर्न गएको जस्तो देखिन्छ । यात्राको करीब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरु । यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई धकेलेरै भएपनि गन्तव्यसम्म पु¥याउँछन् । जोखिम मौल्दै भएपनि गन्तव्यतर्फ पुग्नुपर्ने अवस्था रहेको सवारी चालकहरु बताउँछन् । गन्तव्यमा पुग्नलाई कहिले बिग्रिएको बाटो सम्याउँदै, कहिले गाडी धकाल्दै पुग्नुपर्ने बाध्यता रहेको यात्रुहरुको भनाइ छ । पानी परेपछि न सवारी साधन चल्छ न मान्छे नै हिड्न सकिन्छ । अरु समयमा तीन–चार घण्टामा पुग्न सकिने बाटोमा दिनभरीको कष्टकर यात्रा गर्नुपरेको यात्रुहरुको भनाइ छ ।
भत्केका कारण यहाँको सवारी यात्रा जोखिमपूर्ण हुने गरेको छ । हिलाम्मे सडकमा स्थानीयहरुले ठुलै जोखिम मोलेर यात्रा गर्नु परिरहेको लमही नगरपालिका वडा नम्बर ९ राजेश केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यात्रा गर्दा निकै जोखिम मोल्नु परेको छ, ठुल्ठुला दुर्घटना निम्तीने सम्भावना छ्, भगवानको नाम लिदै यात्रा गर्न बाध्य छौ ।’ हिलाम्मे तथा बिग्रेकै सडकको स्तरोन्नती नभएको भन्दै लमही नगरपालिका वडा नम्बर ९, तेलिया, कोल्तरा, वनकट्टी, लैबरुवा, तरुलिया, सिक्टा, राताकास लगायतका स्थानियवासी आक्रोशित हुन थालेका छन् ।
वर्षातका कारण हिलाम्मे भएपछि अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडकमा पर्याप्त यातायातका साधन सञ्चालन नहुँदा यहाँ उत्पादन हुने फलफूल तथा तरकारी र अन्य कृषिजन्य वस्तु पनि बजारसम्म ल्याउन नसक्दा किसान मार्कामा छन् । बजारसम्म लैजाने साधन नहुँदा किसानले फलाएका साग तरकारी बारीमै कुहिन थालेका छन् । रिहार देखि तरुलिया जोड्ने सडक हिलाम्मे हुदा स्थानीयहरुले निकै सास्ती खेप्नु परेको बताएका छन् ।।






