दाङ, देउखुरी । नेकपा एमालेका केन्द्रिय सदस्य प्रतिनिधिसभा सांसद मेटमणि चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागि हुने बताएका छन् ।
नेकपा एमाले माधव समुहले दाङको लमहीमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै साँसद चौधरीले आफुहरुकै कारण प्रतिनिधिसभा बचाउन सफल भएको भन्दै वर्तमान सरकारलाई विश्वासको मत दिएर पुरै अवधि चल्न दिने बताएका हुन् ।
उनले भने, ‘हाम्रो चट्टानी अडानकै कारण संसद बाँचेको छ, संविधानको रक्षा भएको छ, हाम्रो वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत रहन्छ ।’
नेकपा एमाले माधव समुहका प्रभावसाली नेता समेत रहेका चौधरीले एमालेको तर्फबाट सरकारलाई विश्वासको मत दिने साँसदको संख्या ५० जनाको हाराहारीमा पुग्ने विश्वास व्यक्त गरे । साँसद चौधरीले एमालेभित्र वर्तमान सरकारलाई विश्वासको मत विषयमा छलफल चलाइरहेको र आफुहरुको पक्षमा साँसदहरु बढ्दै गइरहेको दाबी समेत गरे ।
आफुहरु पार्टी विभाजनको पक्षमा नरहे पनि अहिलेकै अवस्थामा अब पार्टी एकता सम्भव नरहेको तर्क गरे । माधव नेपाललाई संसदीय दलको नेता र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बाहेकलाई अध्यक्ष मानेर जाँदा मात्रै पार्टी एकता कायम रहने विश्वास समेत उनले व्यक्त गरे । उनले भने, ‘पहिलो शर्त भनेकै माधव कमरेडलाई संसदस्य दलको नेता र सुवास नेम्बाङ कामरेडडलाई अध्यक्ष मानेर जाने कुरा हो, त्यो मान्न तयार नभए हामी बृहत कम्युनिष्ट एकता गरेर जाने विषयमा पनि छलफल चलेको छ ।’