काभ्रे । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. १ स्थित ह्रेन्जेन दोर्जे क्रसर उद्योगले दादागिरी तरिकाले सार्वजनिक वन मासेर ढुङ्गा उत्खनन गर्दैगर्दा तेमाल गाउँपालिकाको मौन समर्थन देखिएको छ ।
पुर्णरुपमा मापदण्ड विपरीत सञ्चालन भइरहेको उक्त क्रसर उद्योगले सडक र बस्ती नै जोखिममा पर्ने गरि अवैध ढंगले सार्वजनिक वन मासेर ढुङ्गा उत्खनन गरिरहेको समाचार केही हप्ता अगाडि विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशन भएको थियो ।
उक्त समाचारको विषयलाई लिएर जिल्ला समन्वय समितिको प्रमुख, डिभिजन वन कार्यलय, तेमाल गाउँपालिका प्रमुख, वडाध्यक्ष, स्थानीय राजनीतिक दलका नेताहरूले क्रसरले गरेका अवैध उत्खनन रोकेर मापदण्ड अनुसार सञ्चालन गर्न लगाउने, अटेर गरे उद्योग नै बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
समाचार प्रकाशन भएको हप्तौं बित्तिसक्दा समेत सम्बन्धित निकायको कुनै ध्यान नगएको बरु सार्वजनिक वन मासेर ढुङ्गा उत्खनन क्रम झन बढेको स्थानीयले उज्यालो नेटवर्कसँग गुनासो गरेका छन् ।
हामीले पुनः उक्त क्रसरको विषयमा तेमाल गाउँपालिका प्रमुख सलाम सिङ तामाङसँग बुझ्दा ‘उक्त क्रसरको विषयमा अनुगमन गरेर छिट्टै कानुन अनुसार अगाडि बढ्ने’ बताए । यसअघि पनि हाम्रो यस विषयको सवालमा उस्तै रेडिमेड जुवाफ दिएका थिए । गाउँपालिका प्रमुख तामाङ र उक्त क्रसर उद्योगको सञ्चालक ज्ञानध्वज तामाङ भनिने उज्वल तामाङ नजिकको सम्बन्ध रहेकोले गाउँपालिका प्रमुखले बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् ।
अवैध ढंगले सञ्चालन भएकै कारण पटकपटक बन्द हुँदै सञ्चालन हुँदै आइरहेको उक्त क्रसर उद्योगको कारण वडा नं. १ आधाबाटो गाउँलाई दीर्घकालीन रुपमा ठुलो जोखिम हुने भएपछि स्थानीय संग्राम तामाङको अध्यक्षतामा १८५ जनाको संघर्ष समिति समेत गठन गरेका थिए ।
यस विषयमा हामीले वडा नं. १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठ संग बुझ्दा उनले विभिन्न सञ्चारमाध्यमहरुबाट आफ्नो वडाको समाचार आएपछि गाउँपालिका प्रमुखको ध्यानाकर्षन गराइसकेको तर पालिका प्रमुखको व्यस्तताले हो वा के ले हो आजको दिनसम्म पालिकाबाट केही निर्देशन नआएको बताए ।
वडाध्यक्ष श्रेष्ठकै जग्गामा उक्त क्रसर सञ्चालन भइरहेको कारण वडाध्यक्ष र क्रसर उद्योगको आन्तरिक केही सम्झौता भएको कारणले पनि वडाध्यक्ष यस विषयमा बोल्न र एक्सन लिन तयार नभएको स्थानीयको आरोप छ नि भन्ने प्रश्नमा वडाध्यक्ष श्रेष्ठले उक्त आफ्नो जग्गा समेत आफुहरुलाई डरधम्कि देखाएर लिएकोले त्यस्ता व्यक्तिहरु संग आफ्नो कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन् ।
त्यसैगरी जोखिम क्षेत्रका स्थानीय तथा नेकपा एमालेका नेता इन्द्र बहादुर तामाङसंग उक्त अवैध ढंगले सञ्चालन भइरहेको क्रसरको विषयमा बुझ्दा उनले क्रसर मापदण्ड विपरीत सञ्चालन भइरहेको तथा राष्ट्रिय वन मासेर ढुङ्गा उत्खनन भइरहेको आफुलाई जानकार भएर पनि सम्बन्धित निकायमा ध्यानाकर्षन गराएको बताए ।


उक्त जोखिम क्षेत्रको सामुदायिक वनको अध्यक्ष समेत रहेको तामाङले क्रसर उद्योग सञ्चालन गर्न वनबाट सिफारिस समेत दिएको पत्र प्राप्त भएपछि हामीले यस विषयमा बुझ्दा आफु सामुदायिक वनको अध्यक्ष रहेको तर उक्त उत्खनन भइरहेको वन राष्ट्रिय वन अन्तरगत भएकोले सिफारिस दिन बाध्य भएको बताए ।
जिल्ला स्तरीय अनुगमन समितिले ह्रेन्जेन दोर्जे क्रसर उद्योगको विषयमा ८ ओटा बुदामा मापदण्ड नपुगेको र उक्त मापदण्ड पुर्याएर मात्रै क्रसर सञ्चालन गर्न पत्र पठाए पनि तेमाल गाउँपालिकाले उक्त विषयमा कुनै चासो नलिएको, बरु सार्वजनिक वन नै मासेर ढुङ्गा निकाल्दा मौन समर्थन गरेको देखिन्छ ।
क्रसरले तलबाट ढुङ्गा निकाल्दा माथिबाट सुख्खा पहिरो खसेर बोहोरेदोमान-ठुलो पर्सेल सडकखण्डा समेत अबरुद्ध भएर सयौं स्थानीय बिच बाटोमा अलपत्र हुने, पहिरोको जोखिमले वैकल्पिक बाटो हिड्न बाध्य छन् । यस विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदा समेत ध्यानाकर्षण नभएको स्थानीय आरोप छ ।
स्रोतका अनुसार उक्त क्रसर सञ्चालन मिति भन्दा अगाडिको नक्सा हेर्ने हो भने जहाँ ह्रेन्जेन दोर्जे क्रसर उद्योग राखिएको छ त्यहाँ पहिला खानी खोला बगेको देखिन्छ तर पछि सेटिङमा खोला नै गायब बनाएर उद्योग स्थापना राखिएको देखिन्छ । उद्योगको दर्ता एकातिर सञ्चालन एकातिर हुदा समेत चासो नदेखाउनु तेमाल गाउँपालिकाको भुमिका शंकास्पद देखिन्छ ।
ह्रेन्जेन दोर्जे क्रसर उद्योग के के कारण मापदण्ड विपरीत छ ?
१. वृक्षरोपण नगरिएको
२. राष्ट्रिय वन मासेर उद्योगको लागि कच्चापदार्थ उत्खनन गरेको
३. सिमाना छुट्याउनको लागि तार वार नलगाएको
४. क्रसर उद्योगको सम्पुर्ण विवरण राखि होर्डिङ वोर्ड नराखेको,
५. वइस्ट पदार्थ निजि जग्गामा राखेको तथा व्यवस्थापन नगरेको,
६. डस्ट खोलामा मिसाएको
७. क्रसरबाट निस्केको धुलो थिग्राउन पोखरी निर्माण नगरेको,
८. पेश गरेको कागजात अनुसार संलग्न लालपुर्जाको प्रतिलिपी साविक सस्यूखर्क गाविस वडा नं. १ को कित्ता नम्बर ७० को २१ रोपनी जग्गा हाल क्रसर तथा खानी संचालन भएको क्षेत्र संग सम्बन्धित नभएको
९. उद्योगले घना बस्ती,वन,खोला नदि, सडक पुल तथा झोलुङ्गे पुलको मापदण्ड पूरा नगरेको
१०. वाइस्ट पदार्थ तथा कच्चा पदार्थ सडकमा राखेर बोहोरेदोमान-ठुलोपर्सेल सडक खण्डामा अवातजवात गर्न जोखिम बनाएको
११. उद्योग दर्ता स्थल एकतिर स्थापना अर्को तिर गरेको
१२.खानी खोला विस्थापित गरि उद्योग स्थापना गरेको






