कोरोना महामारीमा के गर्दैछन्, सामाजिक अभियन्ताहरु ?

अनिस तामाङ २ जेष्ठ २०७८, आईतवार मुख्य नेटवर्क

मुलुकमा यतिबेला कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर चलिरहेको छ । दैनिक मृत्यु हुनेको संख्या सय नाघिरहेको छ ।

महामारीलाई परास्त गर्नका लागि सबैले आआफ्ना ठाउँबाट पहल गरिरहेको छ । राज्यको तर्फबाट भने सुस्त तयारी देखिएको छ । अहिले दैनिक हजारौं कोभिड संक्रमित थपिरहेका छन् । उपचारको लागि अस्पतालमा कुनै बेड खाली छैन । अक्सिजनको अभाव पनि उस्तै छ । मृतकलाई जलाउने चिहान खालि छैन । यस्तो संकटपुर्ण घडीमा पुनः नियुक्ति भएका प्रधानमन्त्री बधाई खाँदै मक्ख छन् । सपथ कार्यक्रममै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री ओलीको मस्कामस्की चलेर राज्यको बेइज्जत गराउँदै बसेका छन् ।

डाक्टरहरुले अब अक्सिजन छैन भनिरहेको छ, धेरै निजि अस्पतालहरुले त उपचार गर्न सकिन्न भनेर वक्तव्य निकालि सकेका छन् । तर देशको कार्यकारी प्रमुखले भने बेड जति पनि छ, अक्सिजन पर्याप्त छ भनिरहेका छन् ।

सरकार गैरजिम्मेवार भए पनि यो संकटको घडीमा सामाजिक अभियन्ताहरु भने अग्रपंक्तिमा देखिएका छन् । नेपालमा राम्रो गर्नेलाई राम्रो भन्ने हिम्मत सबैको भइदिएको भए देश कहाँ गलत व्यक्तिको हातमा पुग्दैनथ्यो भन्ने एकथरी विश्लेषकहरुको भनाई पनि नभएको होइन ।

भुकम्पले देश अस्तव्यस्त भएको समयमा होस् , नाकाबन्दीको संकटपुर्ण परिस्थितिमा होस् वा मानव जीवनलाई समाप्त पार्ने कोरोना महामारीको बेला होस् केही सामाजिक अभियन्ताहरुको सक्रियतालाई सलाम गर्नुपर्छ । महामारीको समय सक्रिय सामाजिक अभियन्ताहरुको बारेमा चर्चा गरौँ ।

महावीर पुन
नेपालका वैज्ञानिक एवं राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुन यतिबेला कोरोना महामारीले अक्सिजनको चरम अभाव भइरहेको समय अक्सिनजको सिलिन्डरको लागि चाहिने आवश्यक सामाग्री निर्माणदेखि विभिन्न अस्पतालमा अक्सिजन पठाउन समन्वयकारी भुमिका खेलिरहेका छन् ।

कोरोना महामारीका कारण सिंगो देश एक भएर लड्ने समय भएकोले पनि यतिबेला राष्ट्रिय अविस्कार केन्द्र कोरोना भाइरसविरुद्धको लडाइँमा सशक्त रुपमा अग्रपंक्तिमा देखिएको ।

सामाजिक संजालमा समेत सक्रिय रहेका पुनले सामाजिक संजाल मार्फत देशव्यापी कुन ठाउँमा के समस्या छ, जानकारी गराउनेदेखि आवश्यक सामाग्री पठाउनको लागि भुमिका खेलेर कोरोना विरुद्धको लडाइँमा सरिक भइरहेका छन् ।

धुर्मुस–सुन्तली
नेपालमा क्रिकेट रंगशाला निर्माणको लागि रातदिन खटिरहेका धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमेरि(सुन्तली) यतिबेला रंगशाला निर्माणमै व्यस्त छन् ।

रंगशाला निर्माण अभियान संगसंगै कोरोना भाइरसको महामारीको उनिहरुले धुर्मुस सुन्तली फाउन्डेसन मार्फत भरतपुर हस्पिटललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको भएपनि कोरोना महामारी विरुद्ध उनिहरु कतै भौतिक रुपमा खटेको देखिँदैन ।

बरु उनिहरु चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माणको लागि रातदिन खटिरहेका छन् । १०१ जना जनशक्ति स्वास्थ्य निति सहित उनीहरु खटिरहेको कुरा सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । मानव जीवन नै संकटमा हुनेगरी महामारी फैलिरहेको समय मान्छेको जीवन बचाउन भन्दा रंगशाला बचाउन लागेको आरोप लागे पनि उनीहरु धुर्मुस सुन्तली फाउन्डेसनमार्फत कोरोना संक्रमितहरुलाई सहयोग गरिरहेको बताउँछन् ।

रवि लामिछाने

नेपाली पत्रकारितालाई परोपकारी पत्रकारिताको रुपमा सुरुवात गरेका सञ्चारकर्मी हुन्, रबि लामिछाने । पत्रकारितासँगै उनी सामाजिक अभियन्ताको रुपमा पनि परिचित छन् ।

कोरोना महामारीको समयमा सत्तारुढ दल र प्रतिपक्षी राजनीतिक दलका नेताहरु सत्ताको लुछाचुडीमा व्यस्त रहेको समय लामिछाने एउटा अभियान लिएर निस्किए । मान्छे अक्सिजन नपाएर ज्यान गइरहेको बेला लामिछानेले जनमैत्री हस्पिटलमा कोरोनाको उपचार गर्नको लागि अनवरत खटिरहे । यस्तो संकटको घडीमा अक्सिजनको ग्याँसहरु लुकाएर दुश्कर्म गरिरहेको समय उनले सयौं अक्सिजनहरु झिकाएर कोरोना संक्रमितहरुको उपचार गरिरहेका छन् । पैसा नभएर उपचार गर्न नसकेको बिरामीहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेका छन् । देशकै सबैभन्दा सस्तोमा उपचार हुने दाबी समेत गरिसकेका छन् ।

रबिको यो अभियानको लागि देशविदेशबाट सयौं नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन् । साथै उनले ग्यालेक्सी फोरके टेलिभिजन मार्फत ‘कामका कुरा’ नामक कार्यक्रममा ‘को भन्छ करोडपति’ जस्तैः खेल खेलाउने समेत जानकारी गराएका छन् । एकैपटक हजारौंले खेल्न सक्ने यो खेल हप्तामा तिनदिन खेल्न सकिन्छ । प्रत्येक दिन एक लाख सम्म जित्ने अवसर मिल्ने उनको भनाई छ ।

कोरोना महामारीको समय आफ्नो जीवनको समेत कुनै प्रवाह नगरि रातदिन कोभिड संक्रमितहरुको सेवामा खट्ने कार्य प्रति जति शब्दले बयान गरे पनि कम हुन्छ ।

हेमराज थापा
हेमराज थापा पनि कोरोनाविरुद्धको लडाईमा जनताको घर आँगनमै पुगिरहेका छन् । विशेषगरी देशव्यापी रुपमा अक्सिजनको अभावलाई मध्यनजर गर्दै उनले विभिन्न जिल्लाहरु समन्वय गरि अक्सिजन उपलब्ध गराउन भूमिका निभाइरहेका छन् । जनता समाजबादी पार्टीको विद्यार्थी नेताको रुपमा राजनीतिक दलमा आबद्ध थापालाई राजनीतिक दलको नेता भन्दा पनि सामाजिक अभियन्ताको रुपमा चिन्छन् । उनी भारतले सिमा मिचेको बेला होस् वा सरकारले गरेको गलत कदमको बेला होस् माइतीघर मण्डलामा युवाहरूसँगै विरोधको अगंपंक्तिमा देखिन्छन् ।

यतिबेला उनले सामाजिक संजालमा अक्सिजनको सिलिन्डरहरु बोकेर कोरोना संक्रमित व्यक्तिहरुको सेवामा समर्पित भएको तस्बिरहरु पोस्ट गरेको देख्न सकिन्छ । विशेषगरी कोरोनाको कारण समस्यमा परेको विद्यार्थीहरुलाई राहत समेत हस्तान्तरण गरिरहेका छन् ।

ज्ञानेन्द्र शाही
हुन त, आलोचकहरुले ज्ञानेन्द्र शाहीमाथि सामाजिक अभियन्ताको नाममा लुटधन्दा मच्चाएको आरोप पनि लगाएका छन् । आलोचकहरु उनलाई कुनैबेला कोठाभाडा तिर्न नसक्ने ज्ञानेन्द्र शाहीले आफ्नै कार, बस्ने महंगो फ्लायट, बैंक ब्यालेन्सको व्यवस्था कसरी गरे भन्ने प्रश्न पनि उठाएका छन् ।

राजवादीसँगको साँठगाँठमा अहिलेको व्यवस्थाविरोध रहेको आरोप पनि छ, शाहीसँग ।

भ्रष्टचारविरोधी अभियन्ताको रुपमा शाहीले कर्मचारीदेखि सामान्य नागरिकलाई थर्काउँदै गरेको भिडियोहरु पनि सामाजिक सञ्जालमा नभेटिने होइन ।

जेहोस्, उनै शाही कोरोनाविरुद्धको लडाइमा अग्रपंक्तिमा देखिएका छन् । उनले यो संकटलाई अवसरको रुपमा बदल्न लागिरहेका छन् । विभिन्न ठाउँमा लुकाएर राखेको अक्सिजनको सिलिन्डरहरु निकालेर उनले वितरण गर्न भूमिका खेलिरहेका छन् । यद्यपि उनलेसमय घरघरमा लुकाएर राखेको अक्सिजनको सिलिन्डरहरु बाहिर ल्याएर महंगो मुल्यमा बिक्री गरेको आरोप पनि आलोचकहरुले लगाउन थालेका छन् ।

भिम उपाध्याय
पुर्वसचिव भिम उपाध्याय सामाजिक सञ्जालमा सक्रिय व्यक्ति हुन् । समसमायिक विषयमाथि खरो टिप्पणीको कारण सधैं चर्चाको शिखरमा रहन्छन्, उनी । कहिलेकाही हतारको टिप्पणीले समेत बेलबखत आलोचनाको शिकार समेत हुने गरेका उनी यतिबेला कोरोना विरुद्धको लडाइँमा सक्रिय छन् ।

सामाजिक संजाल मार्फत अक्सिजनको चरम अभाव रहेका हस्पिटलहरुको पहिचान गर्दै उक्त हस्पिटलमा अक्सिजन सहयोगको लागि ठुलो भुमिका खेलिरहेका छन् उपाध्यायले । संकटपुर्ण घडीमा सामाजिक संजालमार्फत् अक्सिजनको कालोबजारी गर्नेहरु भण्डाफोर गर्नेदेखि राष्ट्रिय अविस्कार केन्द्र, हाम्रो टिम नेपाल लगायतका संस्थाहरुको लागि आर्थिक संकलन अभियानमा सक्रिय रहेको कारण उपाध्याय कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमै देखिएका छन् ।

ज्वाला संग्रौला
वैदेशिक रोजगार तथा अध्ययनको शिलशिलामा लामो समय जापानमा रहेर सामाजिक विकृति विसंगतिविरुद्ध खरो कलम चलाएका पात्र हुन्, ज्वाला संग्रौला । उनी लामो समय विदेशमै बसेर विभिन्न सामाजिक अभियान चलाएका थिए ।

विशेषगरी वैदेशिक रोजगारमा जाने क्रममा ठगिएका व्यक्तिहरुको उद्धारदेखि म्यानपावर व्यवसायीहरुको गलत कदमको पर्दाफास गर्ने संग्रौला एक साहसी नारीको रुपमा परिचित छिन् ।

हाल उनी नेपाल फर्किसकेकी छिन् । नेपाल फर्केर पनि वैदेशिक रोजगारीमा ठगिएका व्यक्तिहरुको लागि म्यानपावरमै गएर उद्धार गरेको भिडियोहरु समाजिक सञ्जालमा भेटिन्छन् । विशेषगरी सञ्चारकर्मी रवि लामिछानेको अभियानमा जोड्ने संग्रौला यो पटक पनि रवि लामिछानेले सुरु गरेको कोरोना संक्रमितको लागि उपचार गर्ने जनमैत्री हस्पिटलमा जोडिएकी छन् ।

हाल कोरोनाको महामारीको समय अक्सिजन नपाएको स्थितिमा देशविदेशबाट लाखौं रकम जम्मा गरेर जनमैत्री हस्पिटलमा अक्सिजन जम्मा गर्ने अभियानमा लागिपरेकि छिन । कोरोना विरुद्धको यो अभियानमा उनी अग्रपक्तिमा खटिरहेकि छिन् ।

इशा गुरुङ
वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा बसेर पनि नेपालको सुख दुःखमा समार्पित पात्र हुन्, इशा गुरुङ । उनी विशेषगरी नेपालमा सक्रिय सामाजिक अभियन्ताहरुलाई आर्थिक सहयोग गर्दै आइरहेकी छिन ।

हाम्रो टिम नेपाल नामक् संस्थाको माध्यमले कोरोनामा महामारीको कारण समस्य परेको नेपालीहरुलाई खाना वितरण गरेर देशको संकटको घडीमा साथ दिइरहेकी छिन ।

भुकम्पको समयमा पीडितहरुलाई राहत सामाग्री वितरण, बाढीपीडित, अग्निपिडितहरुलाई आर्थिक सहयोग लगायत आर्थिक कारण उपचार गर्न नसकेका गरिबहरुको लागि आर्थिक अभियान सञ्चालन गरेर सयौंको जिन्दगी बचाएका गुरुङ यतिबेला कोरोना महामारीको समय पनि विभिन्न माध्यमले सहयोग गरिरहेकी छिन् ।

हरि ढकाल
युवा नेता एवम् सामाजिक अभियान्त हरि ढकाल पनि यतिबेला कोरोना विरुद्धको लडाइँमा एक शसक्त योद्धा बनेर लडिरहेका छन् । विशेषगरी राजनीतिक दलका युवा नेताको रुपमा परिचित ढकाल यतिबेला अरु अभियन्ताभन्दा विशेष ढंगले खटिरहेका छन् ।

फ्रेस ब्लड डोनर नामक ग्रुपको माध्यमले उनले देश ब्यापी रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छन् । कोरोनाको महामारीको कारण रगतको चरम अभाव भएको र मानिसहरू रगत दिन समेत डराइरहेको हुनले जतिबेला पनि रगतको संकट आइपर्ने समस्यलाई मध्यनजर गर्दै रेडक्रस संग समन्वय गरि यो अभियान चलाइरहेका छन् ।

काठमाडौंको सामाखुसी, टोखा, जोरपाटी ,सातदोबाटो लगायत दर्जनौं ठाउहरुमा महामारीको बिचपनि रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छन् । यो अभियानमा राष्ट्रिय कलाकारहरु विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, सञ्चारकर्मीहरु सबैलाई जोडिएको छ । साथै ढकालले विभिन्न हस्पिटलहरुमा अक्सिजन उपलब्धको लागि सहजकर्ताको भुमिका समेत खेलिरहेका छन् ।

विनयजंग बस्नेत
पशुपतिमा बेवारिसे शवहरु जलाउने तथा व्यवस्थापन गरेर चर्चाको शिखरमा रहेका पात्र हुन्, विनयजंग बस्नेत । आफन्त नभएका मानिसहरूको शव व्यवस्थापन गर्दै आएका बस्नेत केही समय सपना रोका मगरसँगको विवादमा केही दिन हिरासत समेत बसे ।

पछिल्लो केही दिनयता उनी कोरोनाको महामारीका कारण संकटमा परेका संक्रमितहरुलाई अक्सिजन व्यवस्थापन गर्नेदेखि भोको भएकाहरुलाई राहत वितरण गर्दै आएका छन् । उनीसँगै सञ्चारकर्मी पवित्रा लामा, शर्मिला वाईबा, पूजा विश्वकर्मा लगायतका अभियन्ताहरु पनि सक्रिय रुपमा दैनिक सयौंजनालाई निरन्तर खाना बाँड्दै आइरहेका छन् ।

पुण्य गौतम
विभिन्न सञ्चारमाध्यमहरुबाट विभिन्न विषयमा टिक्कटिप्पणि गरेर सधैं चर्चामा रहेक व्यक्ति हुन पुण्य गौतम ।

गौतम नेपालको हरेक विषयमा खरो विश्लेषण गर्ने विश्लेषक हुन । उनी यतिबेला बाल कलाकार सचिन परियार लगायतका विभिन्न सामाजिक अभियन्ताहरुदेखि केही युट्युबरहरु बोकेर लकडाउनको कारण संकटमा रहेका व्यक्तिहरुलाई सडकमा खाना बाँड्दै गरेको तस्बिर÷भिडियोहरु सामाजिक संजालमा हालिरहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार