सन्तोष काफ्ले,,रौतहट । जिल्लाको उत्तरीभेगको चन्द्रपुर नगरपालिका वडा नम्वर एकस्थित पौराईमा खानेपानीको समस्या भएपछि स्थानीयको जनजीवन कष्टकर बन्न पुगेको छ ।
गत एक दशकयता सुक्खा मौसम लागेसँगै चुरे आसपासका क्षेत्रका गाउँहरुमा सवैका घर घरमा गाडिएको ट्यूवबेल धारामा पानी सुक्न थालेका छन् । तर,बिगत चार बर्षदेखि पौराईका स्थानीय सन्देश श्रेष्ठले आफ्नो निजी लगानीमा सन्चालित बोरिङ्ग मेशिनबाट टोलबासीहरुलाई खानेपानीको सेवा प्रदान गर्दै आउनुभएको छ । त्यसरी घरघरमा पानी पुर्याउने कार्यमा पाइप लाईन विछ्याउने र रिजर्भ ट्याँकी जडान गर्ने समेतका कार्य उहाँले आफ्नै लगानीमा गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
गत चार वर्षअघि गाउँमा खानेपानीको समस्याले बिकराल रुप लिने स्थिति रहेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार,चुरे फेदी नजिकको गाउँ रहेको र गर्मी मौसम लाग्नासाथ यस क्षेत्रमा पानीका मुहान सुक्ने गरेको छ । पानी खान नपाइने स्थितिबाट जोगिन र टोलछिमेकीको आग्रहमा उहाँले आफ्नो गैरीखेतमा सिचाँई प्रयोगका निम्ति गाडीएको मोटरबाट पानी तानेर पाईपलाइन मार्फत एकसय १० घरधुरीलाई सामाजिक उत्तरदायित्व ठानेर पानी खुवाउने काम गरिरहेका हुन ।
तर, पछिल्लो समयमा बिद्युत प्राधिकरण चन्द्रनिगाहपुरले सिचाँईको मोटरबाट पानी तानेर टोलमा खानेपानी बितरण गर्नु नियम बिपरित भएको जनाउँदै बिद्युत लाईन नै काटेपछि अहिले पौराईका ब्रम्हस्थान लगाएतका गाउँमा खानेपानीको समस्या उत्पन्न भएको हो । पौराई खानेपानी उपभोक्ता समितिमार्फत निर्माण गरीएको ओभरहेड पानी टंकी पनि सँचालनमा आउन नसकेको र जारी लकडाउनका कारण टंकीको बाँकी निर्माण कार्य रोकिएसँगै झन् समस्या खेप्नुपरेको चन्द्रपुर वडा नम्बर एकस्थित पौराईका स्थानीय सुकेन्द्र गोलेले बताउनुभयो ।
गोले भन्नुहुन्छ,‘यस्तो संकटको घडीमा अनेक बहानाबाजीमा बिगत चार बर्षदेखि सँचालित पौराईबासीको खानेपानीको स्रोत बन्द गराएर जनतालाई झन सास्ती भोग्नुपरेको छ । नियम बिपरीत भनिएपनि यस्ता संबेदनशील कुरामा गाउँलेका ब्यबहारीक पक्षलाई ध्यान दिनुपर्ने हो । तर,यहाँ त्यस्तो ब्यवहार गरिएको छ । गाउँलेलाई खानेपानीको ठुलो समस्या भएको छ ।
चार बर्षअघि बैदेशिक रोजगारबाट फर्किएका श्रेष्ठले टोलमा पानीको समस्या उत्पन्न भएको अबस्थामा आफ्नै खर्चमा ब्यक्तिको घरघरमा पानीको धारा पुर्याएका र दिनको तीन पटक सम्म पानी बितरण गर्ने गरेको बताउनुभयो । पानीको सेवा प्रवाह गरेबापत बिजुली महशुल र कामदारको पारिश्रमिक दिनका लागि त्यसबापत प्रतिघर मासिक दुईसय रुपियाँ लिने गरेको उहाँको भनाई छ ।






