डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै
जलेश्वर (महोत्तरी) । जिल्लास्थित डिभिजन वन कार्यालय जलेश्वरले करिब नौ लाख ४० बिरुवा वितरण गर्ने भएको छ । कार्यालयका प्रमुख अजयकुमार मिश्रका अनुसार जिल्लामा ‘हरियाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नौ लाख ४० हजार बिरुवा वितरण गर्न लागिएको हो ।
उहाँले जिल्लाका १५ वटा पालिकाका किसान र इच्छुक सङ्घसंस्था, स्कुल, कलेज, प्रहरी, आर्मी तथा कृषि वन र निजी वनका लागि बिरुवा वितरण गर्न लागिएको जानकारी दिए । उनका अनुसार यसका लागि कार्यालयले इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई पायक पर्नेगरी विभिन्न २० स्थानमा बिरुवा उत्पादन गरिरहेको छ ।
कार्यालयले जिल्लाको सदरमुकाम जलेश्वरस्थित डिभिजन वन कार्यालय र वडा नं १ स्थित जलेश्वर बजार, गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ, वडा नं ८ खाल्टे बजार, भङ्गाहा नगरपालिका–४ थारुटोल बनरा, बलवा नगरपालिका–४ बलवा बजार, लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा बजार, पिपरा गाउँपालिका–३ पिपरा बजार, मटिहानी नगरपालिका–९ सिमरदही गाउँ, एकडाँरा गाउँपालिका–६ बगेया, महोत्तरी गाउँपालिका–४ रानी रतवारा, मनराशिस्वा नगरपालिका–५ कटैया, औरही नगरपालिका–१ औरही बजार, सोनमा गाउँपालिका–१ सोनमा र बर्दिवास नगरपालिका–५ माईस्थानमा नर्सरी लगाएको कार्यालय प्रमुख मिश्रले जानकारी दिेए।
विभिन्न नर्सरीहरूमा गुलमोहर, बोत्तलग्रस, इमली, अमला, तेजपात, बाँस, करेना, अर्जुना, बकाइनो, खयर, राजवृक्ष, बेल, मसला, मोहबनी, अम्बा, सिसौ, सतिसाल, पारिजात, टिक, अनार, मेवासहित २० भन्दाबढी प्रकारका बोटबिरुवा उत्पादन गरिएको उहाँको भनाइ छ ।
कार्यालय प्रमुख मिश्रका अनुसार जिल्लाको सबै नर्सरीमा बिरुवा तयारी अवस्थामा छन् । “जिल्लामा लामो समयदेखि पानी नपर्दा बिरुवा वितरणको काम अगाडि बढेको छैन । पानी पर्नासाथ बिरुवा धमाधम वितरण गरिनेछ”, उनले भने।
उनले जिल्लाको विभिन्न २० वटा नर्सरीबाट इच्छुक, सङ्घसंस्था, पार्क, उद्यान, कृषि तथा निजी वन, स्कुल, कलेज, प्रहरी, आर्मीलगायत आवश्यक पर्ने सबैलाई केहीदिनभित्र निःशुल्क नौ लाख ४० हजार बिरुवा वितरण गरिने तयारी भइरहेको जनाउँदै अन्य जिल्लाले पनि यसबाट लाभ लिनसक्ने बताए।
निःशुल्क बिरुवा वितरण कार्यक्रमबाट महोत्तरी तथा छिमेकी जिल्लामा ‘हरियाली प्रवर्द्धन’हुने तथा यसबाट यहाँका नागरिक प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा लाभान्वित हुने मिश्रले विश्वास व्यक्त गरे।
Facebook Comments Box






