काठमाडौं । पुरातात्त्विक तथा धार्मिक सम्पदा रानीपोखरीको पुनःनिर्माण सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका क्रममा बन्दाबन्दी लागू गरिएसँंगै पुनःनिर्माण कार्य रोकिएको थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार आइतबारदेखि नै केही कामदारबाट पुनःनिर्माणको काम सुरु गरिएको हो । कोरोना भाइरसबाट जोगिन सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले थोरैको सङ्ख्याबाट काम सुरु गरिएको प्राधिकरणका स्थलगत संयोजक धु्रव पौडेलले जानकारी दिनुभयो ।
पाँच वर्षअघि २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण भत्किएको रानीपोखरीको पुनःनिर्माण कार्य २०७७ साल वैशाख १२ गतेसम्म सम्पन्न गरिसक्ने लक्ष्य भए पनि बन्दाबन्दीले पूरा हुन सकेको थिएन । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।






