आमाको मृत्यु भएसँगै तीन बालबालिकाको बिचल्ली

उज्यालो प्रतिनिधि २३ बैशाख २०७७, मंगलवार समाचार

डोटी । आफूलाई लालनपालन गर्दै आएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्षीया जानकी थापालाई आमा इशारा थापाले पालनपोषण गर्दै आएकी छन् । आमा इशाराको दुई सातापहिले मृत्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको स्थानीय तेज डुम्रेलले बताए । उनले भने, “इशाराले दुःखकष्ट गरेर नानीबाबु पाल्दै आउनुभएको थियो, उहाँको पनि मृत्यु भएपछि अहिले खाने, बस्नेदेखि अन्य कुरामा बालबालिकालाई समस्या भएको छ ।”

कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लकडाउन गरेपछि खाद्यान्न मागेर तथा किनेर ल्याउन नसकेका कारण पनि ती बालबालिकालाई दैनिक छाक टार्नसमेत हम्मेहम्मे हुन थालेको स्थानीयवासी बताउँछन् । सरकारी क्षेत्रबाट पाउने राहतसमेत निजहरुले पाउन सकेका छैनन् । घरमा भएको खाद्यान्नसमेत समयमै पकाएर दिने मान्छे नभएका कारण उनीहरुलाई दिनहुँ समस्या हुँदै आएको अर्का स्थानीय तेजबहादुर सिंहले बताए । उनले भने, “गाउँमा खेतीपातीको ‘सिजन’ शुरु छ, सबै मान्छे आफ्नै काममा व्यस्त छन्, ती नानीबाबुलाई खाना दिने मान्छेसमेत छैनन् ।”

गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले आमाको मृत्यु भएपछि बिचल्लीमा परेका ती बालबालिकालाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताए । उनले भने, “आमाबुबा नभएर समस्यामा परेका नानीबाबुलाई के–कस्तो सहयोग गर्न सकिन्छ गाउँपालिका गर्न तयार छ र गर्नेछौँ ।”

भारतमा बेपत्ता भएका शेरबहादुरको खोजीका लागि पटक–पटक प्रयास भए पनि उहाँको अझै कहीँकतै पत्तो नलागेको अध्यक्ष डुम्रेलले जानकारी दिए । घरमा ७५ वर्षीया हजुरआमा भए पनि राम्रोसँग हिँडडुल गर्न सक्ने नभएका कारण झनै समस्या भएको पीडित बालक कर्ण थापाले बताए । उनले भने, “भाइबहिनी साना छन्, हजुरआमा हिँड्न सक्नुहुन्न, के–कसरी बाँच्ने निकै समस्यामा छौँ ।”

उनीहरुको आर्थिक अवस्था पनि निकै कमजोर रहेको बताइएको छ । खेती गर्ने जमीन नहुँदा उनीहरुले सामाजिक सुरक्षाभत्ता र अर्काले दिएको भरमा आफ्नो जीवन निर्वाह गर्दै आएका थिए । हजुरआमाले सामाजिक सुरक्षाभत्ता पाउने भएकाले घर खर्च चल्दै आएको र पछिल्लो समय लकडाउनका कारण सामाजिक सुरक्षाभत्ता समयमै वितरण हुन नसकेका कारण झनै समस्या हुँदै आएको पीडित बालबालिकाको गुनासो छ । आमाको मृत्युसँगै आफूहरुको पढाइमा समेत बाधा पुग्ने उनले दुःखेसो पोखे । श्रीमान् बेपत्ता भएसँगै इशाराको समेत मानसिक सन्तुलन गुमेका कारण मृत्यु भएको स्थानीयवासी बताउँछन् । आमाको मृत्यु तथा बाबु बेपत्ता भएर बिचल्लीमा परेका निज बालबालिकालाई सबै नागरिकले सहयोग गर्न स्थानीयवासीले आग्रह गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार