सिरहा भरिका यातायात चालकहरूलाई एकजुट गर्ने उद्देश्यले यातायात चालक एकता अभियान को सुरुवात गरिएको छ। आज सिरहास्थित मारुती सिमेन्ट उद्योग र शौर्य सिमेन्ट उद्योग नजिक चालकहरू भेला भई ११ बुँदे मागपत्र सार्वजनिक गर्दै अभियानको औपचारिक सुरुवात गरेका छन्। चालकहरूले आफ्नो पेशासँग सम्बन्धित विभिन्न समस्या समाधानका लागि सरकारसमक्ष माग राखेका छन्।
अभियानका प्रमुख मागहरूमा इन्धनमा राहत, सडकको सुधार तथा मर्मत, कर तथा जरिवानालाई व्यवहारिक बनाउने, चालकहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्ने, स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने, चालक कल्याण कोष स्थापना गर्ने तथा कानुनी प्रक्रियालाई सहज बनाउने लगायतका विषय समावेश छन्।
चालकहरूले सरकारबाट आफूहरूमाथि हुँदै आएको दमन, शोषण र ज्यादती अन्त्य हुनुपर्ने बताएका छन्। साथै, चालकसम्बन्धी कडा सजाय व्यवस्थाको पुनरावलोकन गर्न, ट्राफिक कारबाहीलाई व्यावहारिक र न्यायपूर्ण बनाउन तथा यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
अभियानका आयोजकहरूले आगामी असार ६ गते शनिबार दिउँसो १२ बजे, मारुती सिमेन्ट उद्योग नजिक रहेको शिवम् पेट्रोल पम्प परिसरमा हुने भेलामा सम्पूर्ण चालकहरूलाई सहभागी हुन आग्रह गरेका छन्। चालकहरूको हक, हित र सम्मानका लागि सुरु गरिएको यस अभियानले आगामी दिनमा थप सशक्त रूपमा आफ्ना मागहरू उठाउने जनाएको छ।
यो अभियान सिरहामा मात्र सीमित नरही मेचीदेखि महाकालीसम्म देशभरका चालकहरूको साझा आवाजका रूपमा विस्तार गरिनेछ। उनीहरूले प्रत्येक जिल्लाका चालकहरूलाई एकजुट भई आफ्नो हक, अधिकार, सुरक्षा र सम्मानका लागि आवाज उठाउन आह्वान गरेका छन्।
“एकता, अधिकार र सम्मानका लागि चालकहरू एकजुट बनौँ।”






