तामाङ चलचित्र क्षेत्रमा नयाँ आशा र उत्साह बोकेको चलचित्र ‘म्हारमेन’ को विशेष प्रदर्शन आगामी जेठ १५ गते हुने भएको छ। मोम्स इन्टरनेसनल नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको विशेष शो भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा दिउँसो ठीक १२ बजे आयोजना गरिने निर्माण टिमले जनाएको छ।
निर्माण पक्षले चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै सम्पूर्ण दर्शक, सञ्चारकर्मी, कलाकार तथा चलचित्रप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई चलचित्रलाई साथ र हौसला प्रदान गर्न हार्दिक निमन्त्रणा समेत गरेको छ।
तामाङ समुदायको भाषा, संस्कृति, भोगाइ र भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रलाई निर्देशक अजय स्याङ्तानले निर्देशन गरेका हुन्। चलचित्रमार्फत तामाङ समुदायको मौलिक जीवनशैली, सामाजिक यथार्थ, पीडा र संघर्षलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षको दाबी छ।
चलचित्रको कथावस्तु विशेषगरी तामाङ समुदायले भोग्दै आएको सामाजिक, आर्थिक तथा मानवीय पीडामा केन्द्रित रहेको बताइएको छ। मौलिक तामाङ सांस्कृतिक परिवेशबाट उठाइएको कथामा विनाशकारी भूकम्पपछि गाउँलेहरूले भोग्नुपरेको पीडा, घरबारविहीन बनेर खुला आकाशमुनि बस्नुपरेको अवस्था तथा प्राकृतिक विपद्ले निम्त्याएको मानवीय संकटलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।
त्यसमाथि राहत वितरणका नाममा गाउँ पुगेको एक दलका नेताले भर्खरै विवाह गरेकी तामाङ चेलीलाई भारत पुर्याएर यौनधन्दामा बेच्ने जस्तो संवेदनशील विषयलाई चलचित्रले उठाएको छ। यस घटनाले पारिवारिक विछोड, पीडा र असहाय अवस्थाको दर्दनाक कथा बोकेको देखिन्छ। चलचित्रले समाजभित्र लुकेका मानव बेचबिखनजस्ता जघन्य अपराधलाई उजागर गर्दै सचेतनाको सन्देश दिन खोजेको निर्माण पक्षको भनाइ छ।
चलचित्रले मुख्यतः अशिक्षा र चेतनाको अभावका कारण निमुखा तामाङ समुदायमाथि अरूले हालीमुहाली गर्ने गरेको यथार्थ चित्रण गरेको छ। सामाजिक परिवर्तन तथा आर्थिक समृद्धिको पक्ष कमजोर हुँदा तामाङ समुदायले पटक–पटक विभेद, शोषण र पीडा सहनुपरेको अवस्थालाई चलचित्रमा देखाइएको बताइएको छ। प्राकृतिक विपद्का समयमा समेत यिनै कमजोरीको फाइदा उठाएर केही व्यक्तिहरूले सोझा जनतालाई शिकार बनाउने प्रवृत्तिलाई चलचित्रले गम्भीर रूपमा उठाएको छ।
चलचित्रमा अमीर दोङ, रन्जिता ब्लोन तामाङ, सुष्मा मोक्तान, कुइसाङ रुम्बा, अनिता नेगी, पदम दोङ, अश्मान वाइबा, राहुल मोक्तान तथा बद्री थिङ लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। कलाकारहरूको अभिनयसँगै चलचित्रमा संगीत, द्वन्द्व तथा छायांकन पक्षलाई पनि विशेष प्राथमिकता दिइएको निर्माण टिमले जनाएको छ।
चलचित्रका कार्यकारी निर्माता सुनि लामा र विनोद लामा रहेका छन् भने लेखन कार्य दोर्जे तामाङ र ऋतु राज पाख्रिनले गरेका हुन्। चलचित्रमा बिशाल काल्तानको संगीत रहेको छ भने स्वरमा बिशाल काल्तान र शशी कला मोक्तान रहेका छन्। त्यस्तै, द्वन्द्व निर्देशन राजु तामाङले गरेका छन् भने छायांकन, सम्पादन तथा रङ्ग संयोजनको जिम्मेवारी बिक्रम मोक्तानले सम्हालेका छन्। उत्पादन व्यवस्थापकको भूमिकामा कुइसाङ रुम्बा रहेका छन् भने सहायक निर्देशकमा बद्री थिङ रहेका छन्।
तामाङ चलचित्रप्रेमीहरूको बीचमा चलचित्र ‘म्हारमेन’ प्रति अहिले नै चासो र उत्साह बढ्दै गएको छ। सामाजिक यथार्थ, मौलिक कथा र समुदायको पीडालाई सशक्त रूपमा प्रस्तुत गरिएको दाबी गरिएकाले विशेष प्रदर्शनपछि चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा निर्माण टिमले गरेको छ।






