काठमाडौँ, प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका छन् ।
त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीअनुसार नै सदनलाई सञ्चालन हुन दिनुपर्ने बताएक थिए ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विपक्षी दलका सांसदहरूले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध जनाएपछि बुर्लाकोटीले सदनको कारबाही नियमित रूपमा सञ्चालन हुनुपर्ने बताए । उनले कुनै पनि बहानामा सदनको कारबाही रोकिन नहुने धारणा राखे ।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति खोज्दै अवरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाही अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गरे । उहाँले प्रधानमन्त्रीको तर्फबाट मन्त्रीलाई जिम्मेवारी तोकेर पठाइसकेको जानकारी गराउँदै आशन ग्रहण गरेर सहयोग गर्न अनुरोध गरे ।
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरे ।
नेकपा(एमाले)का सांसद गुरु बरालले ‘असंसदीय शब्द’को छानबिनका लागि समिति बनाउन माग गरे । यस्तै, सोही दलका सांसद पद्या अर्यालले सदनमा प्रधानमन्त्रीको उपस्थिती हुनुपर्ने धारणा राखे ।






