झापा, २१ वैशाख : मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व उठाउन र सीमापार व्यापार सजिलो बनाउन सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेका अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छन् ।
मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा, मेचीनगर–२ मा गाडागल्ली, मेचीनगर–४ मा बाहुनडाँगी, मेचीनगर–५ मा नकलबन्दा, मेचीनगर–७ मा सतिघट्टा र गौरीगन्ज–१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए ।
हाल आठमौजाबाहेक अरु छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले बताए । “आठमौजा छोटी भन्सारचाहिँ सञ्चालनमा छ, तर खासै भन्सार कारोबार हुन सकेको छैन”, उनले भने, “अरु नाकाबाट खासै व्यापार नभएका कारण छोटी भन्सार नचलेका हुन् ।”
आयात र निर्यात हुनका लागि भन्सार कार्यालय मात्र भएर पुग्दैन । क्वारेन्टाइन लगायतका कार्यालय पनि चाहिन्छ । छोटी भन्सारमा अन्य कुनै पनि सुविधा र सेवा छैन । पूर्वी नाका काँकरभिट्टामा मेची भन्सार कार्यालय छ, जहाँ सुक्खा बन्दरगाह, अध्यागमन, क्वारेन्टाइन र प्रविधियुक्त जाँच कक्षहरू रहेका छन् ।
मेचीनगर–४ मा रहेको बाहुनडाँगी छोटी भन्सार विगत आठ वर्षदेखि बन्द रहेको स्थानीय वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए । “के–कस्तो सहयोग चाहिन्छ, हामी जनस्तरबाट दिन तयार छौँ”, छोटी भन्सार चलाउन आग्रह गर्दै वडाध्यक्ष कार्कीले भने, “विसं १९९० देखि चल्दै आएको नेपालकै पुरानोमध्येको सीमाबजार हो बाहुनडाँगी । ऐतिहासिक पृष्ठभूमि बोकेको यो भन्सार बन्द गरिँदा हामीलाई दुःख लागेको छ ।”
राणाकाल र पञ्चायतकालमा समेत सीमानाकाका रूपमा बाहुनडाँगीलाई मान्यता दिइएको सम्झँदै उनले इलाम र झापाका मानिसहरू भारतको नक्सलबारी र कोलकातासम्म आउजाउ गर्ने यो पुरानो भन्सार भएको बताए । उक्त छोटी भन्सारको आफ्नै १३ धुर जग्गामा पुरानो भवनसमेत छ । हाल भवनको रेखदेख र रङरोगन वडा कार्यालयले गरिरहेको उनले जानकारी दिए ।
सञ्चालनमा रहेको आठमौजा छोटी भन्सार काँकरभिट्टाको मूल भन्सारबाट ७५ किलोमिटर टाढा छ । यहाँको भारततिर फत्तेपुर बजार छ । नकलबन्दा, सतिघट्टा, महाभारा र गाडागल्ली छोटी भन्सारका आफ्नै पुराना भवन छन् । तर, सीमापारि भारतीय क्षेत्रमा ठूलो बजार छैन । सशस्त्र प्रहरीले यी सीमानाकामा सुरक्षा दिँदै आएको छ ।






