भैरहवा (रुपन्देही) : तराईका मध्यवर्ती बस्तीमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व कम गर्न नयाँ प्रविधिको परीक्षण थालिएको छ। बाघ र चितुवा जस्ता वन्यजन्तुलाई बस्तीमा छिर्न नदिन ‘कृत्रिम गन्ध सङ्केत’ प्रयोगमा ल्याइएको हो।
तराई भूपरिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत गत वर्षदेखि सुरु गरिएको यो प्रविधिले वन्यजन्तुको प्राकृतिक बानीलाई आधार मानेर ‘अदृश्य सीमा’ बनाउने लक्ष्य लिएको कार्यक्रमका प्रबन्धक भरत भट्टले जानकारी दिए। उनका अनुसार बाघ र चितुवाले आफ्नो क्षेत्र तोक्न पिसाब गर्ने वा नङले कोतरेर गन्ध छाड्ने गर्छन्। यही प्रक्रियालाई पछ्याउँदै कृत्रिम गन्ध प्रयोग गर्दा जनावरलाई आफ्नो क्षेत्रमा अर्को प्रतिस्पर्धी आएको भान हुन्छ र उनीहरू त्यहाँबाट टाढा सर्छन्।
“मानव बस्तीमा वन्यजन्तु नपसून भन्ने उद्देश्यले ३० ठाउँमा क्यामेरा र विशेष प्रकारका ‘डिस्पेन्सर’ जडान गरिएको छ”, भट्टले भने, “यी उपकरणले निश्चित गन्ध फैलाएर जनावरलाई फर्कन बाध्य बनाउँछन्।”
भट्टका अनुसार प्रयोग गरिएका गन्ध कुनै पनि हिसाबले हानिकारक छैनन्। यसले मानिस र वन्यजन्तु दुवैलाई असर नगर्ने बताइएको छ। सुरुवाती अध्ययनमा केही गन्धले चितुवा र बाघलाई प्रभावकारी रूपमा रोक्न सफल भएको देखिएको छ। गत वर्षको परीक्षणमा दुई प्रकारका गन्धले चितुवालाई, दुईले बाघलाई र एउटाले दुवैलाई रोकेको भट्टले जानकारी दिए। अहिले थप चार–पाँच प्रकारका गन्धमा परीक्षण भइरहेको छ।
कार्यक्रम अधिकृत प्रतीक शाहका अनुसार यो अनुसन्धानमूलक योजना पाँच वर्षका लागि चलाइएको हो। “चितुवा र बाघलाई बस्तीबाट सुरक्षित दूरीमा राख्नु नै यसको मुख्य लक्ष्य हो”, उनले भने, “यो प्रविधि सफल भयो भने भविष्यमा मानव र वन्यजन्तुबीच स्थायी ‘अदृश्य सीमा’ बनाउन सकिन्छ।”
उनका अनुसार खाता करिडोर क्षेत्रका ३० स्थानमा जडान गरिएका स्वचालित क्यामेरामार्फत वन्यजन्तुको गतिविधि र उनीहरूको प्रतिक्रिया निरन्तर हेरिन्छ। यसबाट प्राप्त जानकारीले प्रविधिको प्रभावकारिता जाँच्न सहयोग पुग्ने आशा गरिएको छ।
‘टी’ आकारको पाइपमा एकपटक केमिकल राख्दा एक महिनासम्म गन्ध रहिरहन्छ। शाहका अनुसार यो परीक्षण सफल भयो भने वन्यजन्तुबाट बस्तीमा हुने क्षति घट्छ र तारबार जस्ता संरचनामा भइरहेको खर्च पनि कम हुन्छ।
खाता सामुदायिक वन समन्वय समितिका प्राविधिक खगेन्द्र थापाले स्थानीयस्तरमा यो प्रविधिले राम्रो सन्देश दिएको बताए। “सन् २०१४ देखि क्यामेरा ट्रयापिङमा संलग्न रहँदै आएका छौँ”, उनले भने, “अहिलेका क्यामेराहरू एकदमै संवेदनशील छन्, जसले ३० सेकेन्डसम्मको भिडियो र सानो आवाज पनि कैद गर्न सक्छन्।”
उनका अनुसार द्वन्द्व बढी हुने क्षेत्रमा यस्ता प्रविधिले स्थानीयलाई सुरक्षाको महसुस गराउनुका साथै दीर्घकालीन समाधानतर्फ लैजान सक्छ। यदि यहाँ सफल भयो भने देशका अरू प्रभावित ठाउँमा पनि यो मोडल विस्तार गर्न सकिन्छ।
तराईका जिल्लाहरूमा पछिल्लो समय बाघ र चितुवा बस्ती पस्ने घटना बढ्दा मानवीय क्षति र डर पनि बढेको छ। यस्तोमा वैज्ञानिक आधारमा विकसित प्रविधिको प्रयोगले द्वन्द्व घटाउन मद्दत गर्नेछ। कोहलपुरका कार्यक्रम सहप्रबन्धक राजन रिजालका अनुसार निकुञ्जहरूको सुरक्षा र व्यवस्थापनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन भइरहेका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको बासस्थान सुधार्न सिमसार र घाँसेमैदान व्यवस्थापन, पानीको अभाव हुने ठाउँमा सौर्य ऊर्जाबाट चल्ने पम्प जडान र अवैध गतिविधि रोक्न ‘स्पाइक क्यामेरा’ जडान गरिएको उनले बताए। संरक्षणका कार्यक्रममा डब्लुडब्लुएफ नेपालले सहयोगी भूमिका खेलिरहेको रिजालले जानकारी दिए।






