काठमाडौं । ‘सरकारी, निजी मिडिया हाउसमा पुग्ने’ प्रेस सेन्टर नेपालको अभियानअन्तर्गत २०८२ भदौ १६ गते सार्वजनिक सेवा प्रसारण नेपाल (जसअन्तर्गत नेपाल टेलिभिजन र रेडियो नेपाल सञ्चालित छ)मा पुगेर छलफल गर्नुभएको छ ।
त्यसक्रममा सार्वजनिक प्रसारण नेपालका अध्यक्ष डा.महेन्द्र बिष्टसँग प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीसहितको टिमले भेट गर्नुुभएको छ । भेटमा प्रेस सेन्टर नेपालको तर्फबाट अध्यक्ष कमल गिरीले पिएसविअन्तर्गत सञ्चालन भइसकेपछि नेपाल टेलिभिजन र रेडियो नेपालको सम्पादकीय नीति, मिडिया कन्टेन्ट, कार्यरत पत्रकार, कर्मचारीको आर्थिक सुरक्षा, सामाजिक सुरक्षा र जनउत्तरदायित्वबारे विस्तृतमा विषय उठाउन गर्दै संगठनको आधिकारिक धारणा प्रस्तुत गर्नुभएको छ ।
अध्यक्ष गिरीले नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण मोडेलमा सञ्चालन भए पनि न्यूजरुममा अपेक्षित परिवर्तनको महसुस नभएको, राज्यको मिडिया हाउस हो भन्ने गरी आम मानिसले अनुभूत गर्न नसकेको, जो सत्तामा छ, उसका नेता र पार्टीका समाचारलाई मात्र प्राथमिकता दिएको, सत्तापक्षभन्दा बाहेकका समाचारलाई खासै प्राथमिकता नदिएको आम जनगुनासो रहेको बताउनुभयो ।
सरकारी मिडिया कुनै सरकारको नभएको, राज्यको भएकाले काम गरिरहेका कर्मचारी र सक्रिय पत्रकारलाई सत्तापक्षीय आँखाले नेहर्न र विभेद नगर्न सुझाव दिनुभयो ।
नेपाल सरकारले निजी माध्यमबाट सञ्चालित मिडिया हाउसलाई सामाजिक सुरक्षा कोषमा जानका लागि आव्हान गरिरहेको बेला सरकारद्वारा सञ्चालित मिडियामा कार्यरत पत्रकार, कर्मचारीलाई अहिलेसम्म सामाजिक सुरक्षामा आबद्ध नगराइएकाले छिटोभन्दा छिटो त्यतातिर पहल गर्न आग्रह गर्नुृभयो ।
त्यस क्रममा संगठनका उपाध्यक्ष लक्ष्मण खडका र महासचिव मनोज घर्तिमगरले रेडियो नेपाल र नेपाल टेलिभिजनले सरकारको मुखपत्र होइन, जनउत्तरदायी सम्पादकीय नीति अङ्गाल्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष गिरीको सुझावलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष डा. बिष्टले समाचारसामग्रीमा कुनै किसिमको विभेद नगरिएको स्पष्ट पार्दै कतै कमजोरी देखिएको भए सच्याउने आश्वासन दिनुभयो। उहाँले जिल्लास्तरका संवाददातालाई राजनीतिक पूर्वाग्रहका आधारमा नहटाइएको र समाचार लेख्ने पत्रकारको सामग्रीलाई प्राथमिकता दिइएको बताउनुभयो । यति हुँदाहुँदै पनि कहीं, कतै कमजोरी छ भने त्यसलाई आगामी दिनमा सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सामाजिक सुरक्षालगायतका विषयमा आफू पनि त्यसका लागि लागिरहेको र केही समयमै कार्यान्वयनमा लैजाने बताउनुभयो । डा. विष्टले प्रेस सेन्टर नेपालले प्रस्तुत गरेका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा पनि यस्ता भेटघाट र सुझावको अपेक्षा गरिएको बताउनुभयो ।
संगठनका अध्यक्ष कमल गिरीको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष लक्ष्मण खड्का, महासचिव मनोज घर्तिमगर, उपमहासचिव बुद्ध लोप्चन, सचिव सुरेन्द्र चालिसे, नवराज दाहाल, अञ्जली थापा, उपत्यका प्रदेश अध्यक्ष लोकेश लिम्बु, मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे र पिएसपि शाखा अध्यक्ष अर्जुन श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।






