विनय यादव,बर्दिवास । बर्दिवास नगरपालिका वडा नम्बर १० स्थित श्री नौलो सिर्जना युवा क्लबले देउसी भैलो कार्यक्रममार्फत संकलन गरिएको रकम एम्बुलेन्स खरिद तथा सञ्चालनका लागि औपचारिक रूपमा हस्तान्तरण गरेको छ । विगत छ वर्षसम्म विभिन्न चाडपर्व र विशेष अवसरहरूमा देउसी भैलो खेली संकलन गरिएको १ लाख ५० हजार रुपैयाँ आज आयोजित विशेष समारोहबीच एम्बुलेन्स सञ्चालन समितिका अध्यक्ष लक्ष्मण रुनियारलाई हस्तान्तरण गरिएको हो ।
समारोहमा बर्दिवास नगरपालिका वडा नम्बर १० र ११ का वडाध्यक्षहरू, स्थानीय प्रशासनका प्रतिनिधिहरू, बुद्धिजीवी वर्ग, समाजसेवीहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ११ का वडाध्यक्ष पूर्ण बहादुर बलले श्री नौलो सिर्जना युवा क्लबको सामाजिक उत्तरदायित्वप्रति उच्च सम्मान प्रकट गर्दै भने, “श्री नौलो सिर्जना युवा क्लबले जस्तै सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरू हाम्रो समाजका लागि प्रेरणाको स्रोत हुन् । क्लबले एम्बुलेन्स सेवा सञ्चालनका लागि गरेको योगदान साँच्चिकै सराहनीय छ । स्थानीयस्तरमै यस्ता पहल हुनु बर्दिवास नगरका लागि ठूलो उपलब्धि हो । नगरपालिकाको तर्फबाट पनि हामीले आवश्यक सहयोग र साथ निरन्तर गर्दै जानेछौं ।”
वडाध्यक्ष बलले यस्ता सामाजिक अभियानहरूले समुदायमा सकारात्मक ऊर्जा पैदा गर्ने भन्दै आगामी दिनमा पनि क्लबसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै क्लबका अध्यक्षले भावी दिनमा सामाजिक सेवामा अझ बढी सक्रिय रहने प्रतिबद्धता जनाउँदै एम्बुलेन्स सेवा सञ्चालनका लागि आर्थिक सहयोग गर्ने सम्पूर्ण दातृ निकाय र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् ।
हस्तान्तरण गरिएको रकम एम्बुलेन्समा अत्यावश्यक सामग्री जस्तै एसी, अक्सिजन सिलिण्डर जडानका साथै बिरामीलाई थप सहज र सुरक्षित सेवा दिन खर्च गरिने एम्बुलेन्स सेवा समितिले जनाएको छ । समितिका अध्यक्ष लक्ष्मण रौनियारले पारदर्शी रूपमा कोषको सदुपयोग गर्दै सेवा प्रभावकारी बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमको आयोजना श्री नौलो सिर्जना युवा क्लबले गरेको हो भने नेपाल जागरुक युवा समाज बर्दिबासले सहकार्य गरेको थियो ।








