उपभोक्ता समितिमार्फत बाटो खनेका महिलालाई ऋणको भार

उज्यालो प्रतिनिधि ८ भाद्र २०७९, बुधबार समाचार

टीकापुर । कैलालीको भजनीमा उपभोक्ता समितिमार्फत काम गरेका महिला यतिखेर घरबाट रकम तिर्नुपर्ने भएपछि समस्यामा छन् । भजनी नगरपालिका–२ पल्टुपुरका सडक निर्माण उपभोक्ता समितिका महिला काम गर्दा खर्च भएको भन्दा कम रकम पालिकाबाट पाएपछि समस्यामा परेका हुन् ।

सिमलको रुखदेखि खडक बुढाको घरसम्म बाटो ग्राभेलका लागि नगरपालिकाले रु पाँच लाख ५० हजार विनियोजन गरेको थियो । महिलाले त्यहाँ बाटो ग्राभेल गर्दा पालिकाबाट रु तीन लाख एक हजारमात्रै भुक्तानी पाएका छन् । बाटो बनाउँदा खर्च भएको रु एक लाख १५ हजार तिर्न बाँकी रहेपछि उनीहरु यतिखेर समस्यामा छन् ।

उपभोक्ता समितिमा स्थानीय ११ महिला छन् । महिलाले बाटो बनाउँदा टिपरलाई मात्र रु तीन लाख ९० हजार र जेसिबीलाई रु १२ हजार तिर्न बाँकी छ । अन्य काम गर्दाको खर्चको हिसाब छैन । सुरुआतमा नगरपालिकाका प्राविधिकले सडक नापेर गर्नु भने जति नै आफूहरूले काम गरेको उनीहरुले बताएका छन् । प्राविधिकले बनाएको स्टिमेटअनुसार काम गरे पनि रकम कम भुक्तानी दिँदा समस्या भएको उपभोक्ता समितिकी अध्यक्ष इन्द्रा धामी बताए । “हामीले भनेअनुसार काम ग-यौँ”, उनले भने, “पहिला त्यही नापेको थियो, ठीक छ यति ग्राभेल गर्नु भनियो, पछि रकम भुक्तानी दिँदा कम काम भयोे, रकम घट्छ भनेर थोरै दिए । प्राविधिकले नापेर बनाउन भने जति बाटो बनाएका हौँ ।”

पालिकाका प्राविधिकले दुःख दिएको अध्यक्ष धामीको आरोप छ । पालिकाले भुक्तानी कम दिएपछि ग्राभेल हालेको रकम तिर्न नसक्दा विपन्न बस्तीका महिला तनावमा छन् । महिलालाई रकम तिर्न ताकेता गर्दै टिपर मालिकले कागज गराएर गाई भैँसी उठाउने भनेपछि उनीहरु अब रकम कसरी तिर्ने भन्ने पीरमा रहेको धामी बताए । “टिपरलाई रु ९० हजार तिर्न बाँकी छ । हामीसँग ४५ दिनको कागज गरिएको छ । आज ४५ दिन पुग्दैछ”, उनले पीडा सुनाए, “अब कहाँबाट ल्याएर तिर्नेरु, बाटो बनाउँदा ऋणमा डुब्यौँ ।”

महिलाले टिपर मालिकलगायतलाई गरी अझै रु एक लाख १५ हजार तिर्न बाँकी छ । उपभोक्ता समितिका सचिव तारा बोहरा बुढा अब बाख्रा बेचेर भए पनि ऋण तिनुपर्ने वाध्यता आइलागेको बताए। उनले भने, “निकै समस्यामा छौँ । बाख्रा पाल्नेले त्यही बेचेर तिर्ने सोच बनाएका छौँ ।” महिलाले छ सय २० मिटर ग्राभेल गरेको स्थानीय बताए । पालिकाले हिसाब गरेर चार सय ८५ मिटर बाटोको कामको मात्र भुक्तानी दिएको स्थानीय मनबहादुर बुढाले बताए । सो क्रममा उनीहरुले श्रमदानसमेत गरेका थिए । “माग सम्बोधन नगरे महिला अब विकासका काममा हात हाल्न डराउने छन्”, उनले भने ।

टिपर मालिकले ग्राभेल खसालेको रकम उपभोक्ता समितिबाट असुल गर्न ४५ दिनअघि कागज गरेको थियो । उक्त म्याद आज सकिँदैछ । रु ९० हजार तिर्नुपर्ने भनी बनाइएको कागजमा ऋणीमा उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई राखिएको छ भने स्थानीय भल्मन्सा बलबहादुर बुढालाई साक्षी राखिएको बुढा बताए । “मेरै घरमा कागज गरियो, कागजमा के लेखिएको छ हामीले हेर्न पाएनौँ”, उनले भने, “उपभोक्ता समितिलाई ऋणी बनाइएको छ । मलाई साक्षी राखिएको छ ।”

स्टिमेटअनुसार छ सय २० मिटर सडक ग्राभेल गर्नुपर्ने छ तर चार सय ८५ मिटरमा ग्राभेल गरिएको भजनी नगरपालिकाले जनाएको छ । नगरपालिकाका सबइञ्जीनियर भावना विष्टले कामअनुसारको पालिकाबाट भुक्तानी भएको तर नभएको कामको भुक्तानी दिन नसकिने बताए । “उनीहरुले काम गरेअनुसार भुक्तानी दिइएको छ । रकम नपुगेको बारे मलाई थाहा छैन”, उनले भने, “हामीले नापेर भुक्तानी दिने हो । त्यहीअनुसार दिएका छौँ ।”

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार